काठमाडौं । वागमती प्रदेशमा तीन सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसँगै दुई मन्त्रीले बुधबार राति पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकासमन्त्रीमा कृष्ण खनाललाई शपथग्रहण गराउनुभएको हो ।
शाक्य मुख्यमन्त्री भएपछि प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले कोभिड खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले जानकारी दिनुभयो । बैठकले पाण्डेलाई सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिएको छ ।
वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको हो । उहाँलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उहाँ मुख्यमन्त्री बन्न सफल हुनुभएको हो ।
एमालेका उपाध्यक्ष शाक्य विसं २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो ।
नेकपा (एमाले) का नेता माधवकुमार नेपाल पक्षधर शाक्यलाई नेपालले नयाँ दल दर्ता गरेकै दिन प्रदेश मुख्यमन्त्रीको शपथ गराइएको हो । नेपालले बुधबार नेकपा एमाले (समाजवादी) नामक दल दर्ता गर्नुभएको हो ।
वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य