काठमाडौं । वागगमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बुधबार शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
शाक्यको आजै शपथ ग्रहण कार्यक्रम राखिएको स्रोतले जनाएको छ । त्यसअघि बुधबार विहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो ।
मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार बिहान राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाइएको हो । पौडेलले आज वागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो ।
नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठन गरेपछि नेता नेपाल समूहमै रहेकी शाक्यलाई रोक्न मुख्यमन्त्री बनाइएको चर्चा राजनीतिक वृतमा चलेको छ।
शाक्य पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । सातवटा प्रदेशमध्ये हालसम्म कुनै प्रदेशमा महिला मुख्यमन्त्री बनेका थिएनन्।