नारायण ढुङ्गाना, काठमाडौँ ।
पछिल्ला केही वर्षयता मनसुनजन्यसहित बिपत्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा २०७२ सम्म बिपत्का दुई हजारभन्दा कम घटना भएका थिए । २०७३ पछि बिपत्का घटना क्रमशः दुई हजारबाट उकालो लागेकामा पछिल्ला केही वर्ष (२०७५–२०७७) मा भने चार हजार बढी प्राकृतिक विपत्ति निम्तिए ।
बाढीका कारण हुने मानवीय क्षति घटे पनि पहिराबाट हुने क्षति बढ्दै जाने अर्काे जोखिमको विषय बन्न पुगेको छ । अधिकांश घटना मनसुनका बेला भएकाले उक्त तथ्याङ्कले नेपालमा मनसुनजन्य जोखिम थप चुनौतीपूर्ण रहेको देखिएको छ ।
बिपत् व्यवस्थापन विज्ञ कृष्ण देवकोटा पछिल्ला वर्षमा पहिराबाट हुने बिपत् थप चुनौतीपूर्ण बन्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार बिपत्का दृष्टिले भूकम्पलाई छाडेर हेर्दा पछिल्लो दशक बाढीका कारणले हुने मृत्यु दर घटेको तर पहिराबाट हुने क्षति भने बढेको छ । उहाँले बाढी र पहिराजन्य घटना भने बढेको छ ।
“मुख्यतः पूर्वसूचना प्रणाली तुलनात्मक रूपमा प्रभावकारी देखिएकाले र जनचेतना बढेकाले सावधानी अपनाउने क्रम बढ्दा बाढीबाट हुने क्षति घटेको हो, भलै कुनै कुनै वर्ष बढेको हुन सक्छ” देवकोटाले अगाडि थप्नुभयो– “तुलनात्मक रूपमा पहिराबाट मृत्यु बढेको छ ।”
उहाँ यसरी पहिरो बढ्नुमा पहाडी इलाकामा बाटोको सङ्ख्या वृद्धि हुने तर रोकथामका उपाए नअपनाइनु कारक हो भन्नुहुन्छ । अर्काे कारण भने एकै ठाउँमा धेरै पानी (हाँडीघोप्टे पानी) पर्दा भेल पहिराले जनधनको ठुलो क्षति गराएको छ । गएको दुई वर्षमा सिन्धुपाल्चोक, बागलुङ, मनाङ, कास्की, तनहुँ, लमजुङ, पर्वतलगायत दर्जन जिल्लामा एकै ठाउँमा बढी पानी परेर भेल पहिरो आएको देखिएको छ ।
पछिल्लो एक दशक (२०६८–२०७७) मा बिपत्का २४ हजार ५८६ घटना भयो । उक्त बिपत्बाट चार हजार ५६ को मृत्यु भएकोमा त्यसको आधा मानवीय क्षति बाढी र पहिराले गराएको छ । उक्त अवधिमा सबैभन्दा बाढी पहिराले एक हजार २०५, दोस्रोमा चट्याङ्बाट ९९९, तेस्रोमा बाढीले ७९४ र चौथो नम्बरमा आगलागीले ७१० को ज्यान लियो ।
एक दशकको छ वर्ष बाढीले बढी मानवीय क्षति गराएको छ । प्राप्त विवरणअनुसार पहिराबाट बढी क्षति (२०६८, ७०, ७१, ७२, ७३ र ७७ मा क्रमशः १२६, १३१, १२९, १३५, १४७ र ३०१ को मृत्यु) भएको छ । चट्याङ्ले २०६८, ६९ र ७६ मा बढी मानवीय क्षति गरायो । बाढीले २०७४ सालमा मात्रै बढी क्षति (१६६ मृत्यु) गराएको छ भने आगलागीबाट २०७५ सालमा सबैभन्दा बढी ८९ जनाको मृत्यु भयो । बिपत्बाट एक दशकमा ८१३ वेपत्ता र आठ हजार २२९ जना घाइते भए ।
एक लाख १९ हजार परिवार प्रभावित भएकामा ५२ हजार ८३० घर आंशिक र छ हजार ४५६ घर पूर्ण क्षति भएको छ । यसबाट कुल रु ३८ अर्ब ९५ करोड १४ लाख क्षति भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । आगलागी र चट्याङले नजानिँदो रूपमा मानवीय क्षति गराइरहे पनि घटना न्यूनीकरणको प्राथमिकतामा पर्न सकिरहेको छैन । यद्यपि, यसपालिबाट भने आगलागीका घटना नियन्त्रणमा राष्ट्रिय बिपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चासो दिन थालेको छ ।
यसपटक हेलिकप्टरमार्फत आगलागी नियन्त्रणका प्रयास गरिएको थियो । यो नेपालमै पहिलो अभ्यास भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ । बिपत्का घटना बढ्न थालेपछि सरकारले आगामी १० वर्षभित्रमा नेपाललाई बिपत् उत्थानशील राष्ट्र बनाउने उद्देश्यका साथ बिपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी १० वर्षे महाभियान सुरु गरेको छ ।
सरकारले बिपत्बाट प्रभावितको पुनःस्थापनका लागि अस्थायी आवास पुनःनिर्माण कार्यक्रमलाई समेत गएको वर्षबाट तीव्र रूपमा अघि बढाएको छ । विश्वकै अग्लोदेखि निकै होचो भूभाग रहेको र भिरालो जमिन प्रशस्त रहेकाले मनसुनजन्य बिपत्बाट नेपाल उच्च जोखिममा रहेको छ ।
गृह मन्त्रालयको नेपाल बिपत् प्रतिवेदन २०१९ अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झन्डै एक हजारले ज्यान गुमाउने गरेका छन् । जल प्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एसियामा नै सबैभन्दा उच्च जोखिम भएको मुलुकमा पर्छ । भूकम्प र जलप्रकोपबाट बढी क्षति पुग्ने देशमध्ये नेपाल विश्वमा क्रमशः ११औँ र ३०औँ स्थानमा छ ।
जलवायु परिवर्तनको जोखिमका दृष्टिले नेपाल चौथोमा पर्छ । प्राप्त तथ्याङ्कमा नेपालमा ७० देखि ८० प्रतिशत जनसङ्ख्या कुनै न कुनै बिपत्को जोखिममा छन् । वार्षिक तीन लाख ३५ हजार जनसङ्ख्या प्रत्यक्ष प्रभावित हुने र तीमध्ये ५० प्रतिशत बालबालिका प्रभावित हुने गरेको छन् । मनसुनजन्य बिपत्बाट क्षति रोक्ने पूर्वतयारी प्रमुख उपाय हो । भरपर्दाे सूचना सङ्कलन, सम्भावित जोखिम र क्षतिको आँकलन, समयमै आवश्यक सूचना प्रवाह र त्यसबाट उत्पन्न हुने परिस्थितिको सामनाका लागि गर्नुपर्ने तयारी चुस्त बनाउन सकिएन भने बिपत्बाट ठुलो धनजनको क्षति हुने सम्भावना हुन्छ ।
समय परिस्थिति बुझेर अवश्यक तयारी र सचेतनाका कार्यक्रम नियमित गर्नुपर्ने विज्ञको सुझाव छ । हरेक वर्ष दोहोरिने बाढी, पहिरो, डुबान चट्याङ र आगलागीबाट क्षति रोक्न उच्च तयारी आवश्यक छ ।
प्राधिकरणका प्रमुख पोखरेल जोखिम न्यूनीकरणमा ठुलो लगानी आवश्यकता रहेको औँल्याउनुहुन्छ ।
“जोखिम क्षेत्रका बस्ती सुरक्षित ठाउँमा लैजानुपर्छ, जोखिम आँकलन गरेर बीमा कार्यक्रम पनि चलाउन जरुरी छ”, पोखरेलले भन्नुभयो– “पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हाम्रो उद्दार क्षमता वृद्धि गर्नु अत्यावश्यक भइसकेको छ ।” उहाँका अनुसार २०७२ सालको भूकम्पपश्चात हेर्दा एउटाले अर्काेलाई तानेको देखिन्छ ।
भूकम्पले हल्लाएर पहाड कमजोर बनायो, त्यसले पहिरो निम्त्यायो, त्यही बग्दा बाढी बढ्यो, जलवायु परिवर्तनका कारण पानी पर्ने प्रणालीमा उथलपुथल ल्यायो । अब त्यसबाट पाठ सिकेर कमजोर भूवनोट व्यवस्थापनका लागि विशेष योजना बनाउनु जरुरी रहेको पोखरेलले बताउनुभयो । नेपाल सरकारले ल्याएको बिपत् व्यवस्थापनको महाअभियान त्यसैको एउटा कडी हो ।
बिपत्बाट कुन वर्ष, कति क्षति ?
बाढीपहिराका हिसाबले दशकै सबैभन्दा जोखिम वर्ष २०७७ बन्न पुग्यो । गएको वर्ष मुलुकले अकल्पनीय रूपमा मानवीय क्षति बेहोरेको छ । गत वर्ष औसत पानी पर्ने अनुमानका बिच केही ठाउँमा अतिवृष्टि भएर भेल पहिरो आएको थियो । यस वर्ष औसतभन्दा बढी पानी पर्ने भनिए पनि सिन्धुपाल्चोक र मनाङबाहेक गत वर्षको तुलनामा कम क्षति छ । यद्यपि, वर्षा भने जारी रहेकाले चुनौती कायमै छ ।
२०७८ को हालसम्म
यो वर्षको अहिलेसम्म कुल एक हजार ३०८ बिपत्का घटना भएका छन् । कुल १५१ जनाको मृत्यु भएको छ भने ३७ जना बेपत्ता छन् । यसमा सबैभन्दा बढी चट्याङबाट ३८ जनाले ज्यान गुमाएका छन् ।
पहिराले ३४ र बाढीले २६ जनाको ज्यान लिएको छ । पहिराले सबैभन्दा बढी २९ जना बेपत्ता बनाएको छ भने बाढीले सात र हावाहुरीले एक जना बेपत्ता पारेको छ । आगलागीबाट १२ को मृत्यु भएको छ । रु ६३ करोडको भौतिक क्षति भएको छ । यसपालि मुलुकमा सिन्धुपाल्चोक र मनाङलगायत ४८ जिल्लामा ठुलो जनधनको क्षति भएको छ ।
२०७७ : यस वर्ष कुल चार हजार २०५ प्राकृतिक विपत्तिमा ५९१ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता भए । यो दशककै सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो ।
पहिराले मात्रै ३०१ व्यक्तिको ज्यान लियो भने ६४ बेपत्ता भए । त्यसपछि आगलागीबाट ९७ र चट्याङबाट ७० जनाले ज्यान गुमाएका छन् । बाढीबाट ४२ को मृत्यु र ३७ वेपत्ता भए ।
२०७६ : यस वर्ष वर्ष चार हजार ३४ बिपत्का घटनामा ३८१ को मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता भए । यस वर्ष सबैभन्दा बढी चट्याङका कारण ८८ जनाले ज्यान गुमाए । पहिरोले ८३ र बाढीले ७३ को ज्यान लियो ।
२०७५ : यस वर्ष चार हजार १७२ घटनामा ३६६ को मृत्यु भएको छ । जसमा सबैभन्दा बढी आगलागी र पहिराका कारण क्रमश ८९ र ८८ ले ज्यान गुमाए ।
२०७४ : यस वर्ष दुई हजार ६२९ घटनामा ४४८ को मृत्यु भयो । कुल ५७ जना बेपत्ता भएका छन् । उक्त वर्ष बाढीले १६६ र चट्याङका कारण १०५ को मृत्यु भयो । पहिराले ७५ को ज्यान लियो ।
२०७३ : यस वर्ष दुई हजार ५२९ बिपत्का घटनामा ४२६ ले ज्यान गुमाए । कुल ४५ जना वेपत्ता भएको अभिलेख छ । जसमा सबैभन्दा बढी पहिराले १४७, चट्याङले ११४ र बाढीले १०१ को ज्यान लियो ।
२०७२ : यस वर्ष बिपत्का ९८९ घटनामा ३०० जनाले ज्यान गुमाए भने १६ बेपत्ता भए । जसमा सबैभन्दा बढी पहिराबाट १३५ जनाले ज्यान गुमाएका छन् । चट्याङले ८३ र आगलागीबाट ७३ को मृत्यु भएको छ ।
२०७१ : यस वर्ष बिपत्काका एक हजार २२३ घटनामा ४४९ जनाको मृत्यु भएको छ भने २६२ बेपत्ता भए । उक्त वर्ष बाढीबाट १२९ मृत्यु र १३३ बेपत्ता तथा पहिराबाट ११६ को मृत्यु र १२९ बेपत्ता भए । यो सबैभन्दा बढी मानिस बेपत्ता भएको वर्ष हो । चट्याङबाट १२६ ले ज्यान गुमाएका छन् ।
२०७० : यस वर्ष उक्त वर्ष बिपत्सम्बन्धी एक हजार ४८३ घटना भएकामा ३८८ को मृत्यु र १५५ जना बेपत्ता भए । सबैभन्दा बढी बाढीबाट १३१ जनाले ज्यान गुमाए । चट्याङबाट १११ को मृत्यु भएको थियो । पहिराले ७९ को मृत्यु भएको छ ।
२०६९ : यस वर्ष एक हजार ७३३ बिपत्का घटना भयो । त्यसमा परेर कुल २८२ जनाको मृत्यु भयो भने १५ जना बेपत्ता भए । सबैभन्दा बढी चट्याङबाट १३१ जनाको मृत्यु भयो भने पहिराले ६८ र आगलागीबाट ६३ ले ज्यान गुमाए । बाढीबाट नौ जनाको मृत्यु भयो ।
२०६८ : कुल एक हजार ५७४ घटनामा ४२४ को मृत्यु भयो भने ११९ जना बेपत्ता भए । यसमा बाढीबाट १२६, पहिरोबाट ११३ र चट्याङबाट १०३ को मृत्यु भयो । (रासस)