काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलनको घोषणा गरेका पाँच विद्यार्थी संगठनलाई नेपाल आयाल निगमले वार्तामा बोलाएको छ । आइतबार एक विज्ञप्ति प्रकाशित गरी निगमले मंगलबार (असार २८ गते) विद्यार्थी संगठनहरूलाई वार्तामा बोलाएको हो ।
असार २८ गते दिउँसो १ बजे ‘कोरोना भाइरसको महामारीलाई ख्याल गर्दै थोरै संख्यामा उपस्थित हुन’ निगमले विद्यार्थी संगठनहरूसँग आग्रह गरेको छ । विद्यार्थी संगठनहरूले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै असार २४ गते निगमलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
मूल्य वृद्धि फिर्ता लिन दिएको ७२ घण्टे अल्टिमेटम निगमले वेवा स्ता गरेको भन्दै विद्यार्थी संगठनहरूले आन्दोलन घोषणा गरेका छन्।
आइतबार पत्रकार सम्मेलन गरी नेविसंघ, अखिल (क्रान्तिकारी) अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) ले असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने बताएका छन्।उनीहरूले असार २८ गतेदेखि नेपाल आयल निगमका गाडीहरु चल्न नदिने र असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्यांकर सञ्चालन नगर्न अनुरोध गर्ने जनाएका छन्।

मूल्यवृद्धिविरुद्ध शंख फुकेर विरोध प्रदर्शन
विद्यार्थी संगठनले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा शंख फुकेर विरोध प्रदर्शन गरेका छन् । पाँच विद्यार्थी संगठनले आइतबार प्रतिगमन, पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि, भ्रष्टाचार र कुशासनका विरुद्धमा आइतबार माइतीघरमा भेला भई शंखफुकी विरोध जुलुस निकालेका हुन् ।
विद्यार्थीहरुले शंख फुक्दै विरोध जनाएका थिए भने हाम्रो आन्दोलन जारी छ, मण्डलेहरु होशियार, तानाशाही केपी ओली मुर्दावाद, विद्यार्थी एकता जिन्दावाद लगायतका नारावाजी समेत गरेका थिए ।