दुर्गानाथ खरेल ##
१. काल्पनिक समाजवादका संस्थापक थोमस मोर (सन् १४७८–१५७५) थिए । उनले युटोपिया भन्ने किताबमा त्यस बेलाको इङ्गल्यान्डमा भन्दा बेग्लै राजनीतिक व्यवस्थाको कल्पना र तात्कालिक निरङ्कुश शासकको विरोध गरेका थिए । उन्नाइसौँ शताब्दीको पूर्वाद्र्धका तीन काल्पनिक समाजवादीहरू सेन्ट साइमन (१८६०–१८२५), चाल्र्स फुरिये (१७७२–१८३७) र रबर्ट ओवेन (१७७१–१८५८) ले सामूहिकताका लागि केही प्रयोग पनि गरे । उनीहरूले पुरानो समाजको आलोचना गरे पनि कुन शक्तिमा भरोसा राखेर फेर्नुपर्छ भन्ने यकिन गर्न सकेनन् । सत्ताधारीमाथि भरोसा राखेर जनताको ऐतिहासिक भूमिका ठम्याउन सकेनन् । उनीहरूको भावनाको समाजवाद वस्तुगत विकासक्रममा आधारित नहुनाले र ऐतिहासिक विकासको धारासित नमिल्ने भएको हुनाले नै काल्पनिक भएको थियो ।
२. काल्पनिक समाजवादीले वर्गविशेषलाई भन्दा पनि सम्पूर्ण मानव समाजलाई मुक्त गर्ने कुरा गरेका थिए । डार्बिनले १७५९ मा पहिलो पटक जैविक जगत् करोडौँ वर्षदेखि चल्दै आएको प्रकृयाको उपज भने । १७७०–१८३१ का हेगेलले समस्याको समाधान एक व्यक्तिले गर्न नसक्ने बताउँदै गति, परिवर्तन, रूपान्तरण तथा विकासको अवस्था चित्रण गरे । कुनै पनि ऐतिहासिक युगको वास्तविक आधार आर्थिक ढाँचामाथि त्यस ऐतिहासिक युगको कानुनी र राजनैतिक संस्था तथा धार्मिक, दार्शनिक र अरू विचारको माथिल्लो ढाँचा निर्माण हुन्छ भन्ने निस्कर्षले हेगेलको भाववादसमेत अन्तत्वगत्वा त्यसै बेलादेखि समाजवादलाई ऐतिहासिक रूपले विकसित सर्वहारा र पुँजीवादी वर्गको सङ्घर्षको अनिवार्य परिणाम मान्न थालियो । त्यसकारण समाजवादको कर्तव्य वर्गसङ्घर्षको साधनलाई आर्थिक परिस्थितिबाट खोजेर वर्गसङ्घर्षको अन्त्य गर्नु हुन गयो ।
पहिलेका समाजवादीले व्यवस्थाका दुष्परिणामको आलोचना गरे पनि कारण देखाउन सकेका थिएनन् । माक्र्सले अतिरिक्त मूल्यको उत्पादन मानव इतिहासको भौतिकवादी धारणाका साथै पुँजीवादी उत्पादन र पुँजीको उत्पादन दुवैको श्रोत स्पष्ट पारेपछि समाजवाद विज्ञान बन्यो । आधुनिक समाजवाद पुँजीपति र ज्यालादारी मजदुरको वर्गविरोध तथा उत्पादनमा फैलिएको अराजकताको परिणाम हो । त्यो पनि वस्तुगत विरोधको विचारगत प्रतिबिम्बबाहेक केही पनि होइन । विचारगत प्रतिबिम्ब सबभन्दा पहिले मजदुर वर्गको मस्तिष्कमा अङ्कित हुन्छ । उत्पादनले उत्पादकमाथि शासन गर्न पुँजीपति वर्गलाई बेकार बनाएर सर्वहारा वर्गले राज्यको रूपमा राज्यसत्ता पनि समाप्त पारिदिन्छ ।
३. शोषणमा आधारित व्यवस्थालाई सधैँका लागि उन्मूलन गर्ने प्रयत्नस्वरूप समाजवाद सर्वहारा वर्गको अधिनायकत्वको साकार रूप हो । समाजवाद तीन प्रमुख प्रवृत्तिमा विभाजित छ : एउटा– सुधारवाद या संशोधनवाद, दोस्रो– अराजकतावाद या उग्रवामपन्थी भड्काव र तेस्रो माक्र्सवाद या वैज्ञानिक समाजवाद हुन् ।
वैज्ञानिक समाजवादमा उत्पादन राज्यको र सहकारी स्वामित्वमा सञ्चालन गर्ने र वितरण योग्यतानुसार काम र कामअनुसार दामको आधारमा गर्दा समाजका लागि बढी उपयोगी काम गर्नेको जीवनस्तर माथि हुन्छ । उत्पादन, वितरण वा सेवा जुनसुकै क्षेत्रमा काम गरे पनि समाजवादी समाजका सबै व्यक्ति श्रमिक हुन्छन् । बौद्धिक श्रम सबैले गर्छन् र आवश्यक परेको बेलामा शारीरिक श्रम गर्न कोही पछि पर्दैनन् ।
पुँजीवादी व्यवस्था आफै सामन्ती व्यवस्थाको गर्भबाट जन्मेको र समाजवादी व्यवस्था पनि पुँजीवादी व्यवस्थाको गर्भबाट जन्मने हुनाले पुँजीवादी बाटो हिँड्ने अथवा समाजवादी बाटो हिँड्नेका बिच जीवनमरणको सङ्घर्ष चलिरहेको हुन्छ ।
समाजवादी व्यवस्था सिङ्गै सहकारी व्यवस्था होे । यो पुँजीवादको विनास र साम्यवादको आगमनबिचको सङ्क्रमण कालीन अवस्था हो । पुँजीवादको गर्भबाट जन्मेर हुर्केको भए पनि पुँजीवादलाई निषेध नगरेसम्म समाजवादको स्थापना र विकास हुन सक्दैन । त्यसैले वर्गसङ्घर्ष र अधिनायकत्वको आवश्यकता पर्दछ ।
राज्यसत्ता परिवर्तन गर्न सैनिकबल प्रयोग गरे पनि समाज परिवर्तन बलप्रयोगबाट नभई चेतनाको स्तर माथि बनाएर मात्र सम्भव हुन्छ । जनसमर्थनभन्दा पनि मुख्य कुरा विचारधाराको सारतत्त्व हुन्छ । सर्वहारा वर्गले पुँजीपति वर्गको सम्पत्ति खोसेर सामूहिक बनाउने साधनको रूपमा राजनैतिक सत्ता प्राप्त गर्नुपर्छ । मान्छे आफ्नो पद्धतिको स्वामी प्रकृतिको शासक र स्वयम आफ्नो स्वामी बन्ने श्रम जीवनयापनको प्रथम आवश्यकता बन्ने गर्दै राज्यसत्ता लोप भएपछि साम्यवाद आउँछ ।
४. कार्ल माक्र्सले इतिहासको भौतिकवादी धारणा वर्गसङ्घर्षको सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त, राज्यसत्तामा बलप्रयोगको सिद्धान्त र क्रान्तिकारी शक्तिको रूपमा सर्वहारा वर्गसहित वैज्ञानिक समाजवादी विचार अगाडि ल्याए । समाजवादले प्रस्तुत गरेका विकल्प पुँजीपति वर्गको सत्ताको स्थानमा उत्पादक वर्गको सत्ता, निजी स्वामित्वको स्थानमा सामूहिक स्वामित्व, राजनीतिक समानता र स्वतन्त्रताको स्थानमा आर्थिक स्वतन्त्रता र समानता हुन्छ । दासव्यवस्थाको प्रतिनिधि वर्ग दासमालिक, सामन्ती व्यवस्थाको प्रतिनिधि वर्ग सामन्त र पुँजीवादी व्यवस्थाको मालिक पुँजीपति वर्ग भएजस्तै समाजवादी व्यवस्थाको प्रतिनिधि वर्ग सर्वहारा वर्ग हो ।
५. मानव समाजले साढे नौ लाख वर्षको आदिम साम्यवादी समाज, चार हजार वर्षको दास समाज, एक हजार पाँच सय वर्षको सामन्ती समाज पार गरेर आएको वर्तमान पुँजीवादी समाज साढे तीन सय वर्ष बिनाविकल्प भएर र १७४ वर्ष समाजवादसँग सङ्घर्ष गरेर विजयी भई अस्तित्व बचाएको छ । पुँजीवादी समाजमा पनि व्यापारिक पुँजीवाद र प्रतिस्पर्धात्मक औद्योगिक पुँजीवादका चरण पार भइसकेर एकाधिकारी पुँजीवाद या साम्राज्यवादको रूपमा अन्तिम र मरणासन्न अवस्थामा आफ्नो अस्तित्व बचाइराखेको छ । अहिलेसम्मका वर्गीय समाज सम्पन्नवर्गको शोषणमा आधारित भएर रहेका हुन् । समाजवादी समाज शोषितवर्गको नेतृत्वमा र सर्वहारा वर्गको अधिनायकत्वमा अगाडि बढ्ने समाज हो ।
६. शोषितवर्गले आफूलाई शोषितवर्गको रूपमा बुझ्न नसकेको र शोषणलाई वैध बनाउँदै आफ्ना विरोधी वर्गलाई सहयोग र समर्थन गर्ने गरेको हुनाले शोषकवर्गको आयु लामो भएको हो । सम्पन्नवर्गले राज्यसत्ताको प्रयोग गर्दै आफ्ना प्रचार सामग्रीमार्फत जनतामा भ्रम छर्न सफल भएकाले शोषित जनता वर्गीय रूपमा सचेत, सङ्गठित र अनुशासित हुन नसकी आफ्नो मुक्ति आफै गर्ने काममा ढिलो भएको छ । वर्तमान राजनैतिक सत्तामा आमूल परिवर्तन गरी श्रमजीवी वर्गले राज्यसत्ता कब्जा गर्ने र सञ्चालन गर्न राजनैतिक सङ्घर्षबाट नै विजयी बन्नुपर्छ । यो काम शोषितवर्गलाई सचेत, सङ्गठित र अनुशासित बनाएर मात्रै पूरा गर्न सकिन्छ ।
पुँजी सामूहिक उत्पादन हो । व्यक्तिगत बनाएर मान्छेले मान्छेमाथि शोषण गर्दा विरोधी वर्ग भई विकासमा अवरोध हुनुका साथै प्रकृति विरुद्ध सङ्घर्ष गर्न हुने अवरोध हटाएर मान्छे मान्छेबिच समानता ल्याउनु समाजवादको उद्देश्य हो । समाजमा आइपर्ने काम नागरिक आफैले समाधान गर्न लागेपछि राज्यसत्ता ओइलाउनु स्वाभाविक हुन्छ ।
७. १८४८ फेबु्रअरीमा पहिलो पटक समाजवादी व्यवस्थाका संस्थापक नेता कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा समाजवादी व्यवस्थाको दस्तावेज कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको थियो । २३ वर्षको खुल्ला अध्ययन, छलफल र सङ्गठनपछि १८७१ मार्चमा विद्रोह सफल भई पहिलो समाजवादी सत्ता पेरिस कम्युन ७२ दिनसम्म टिकेको थियो । लेनिनले खुल्ला राजनीति र भूमिगत सङ्गठनको स्वरूपसहित कम क्षतिमा सत्ता कब्जा गर्न १९०३ मा सदस्यताका तीन सर्त अनिवार्य बनाउँदै बोल्सेभिक पार्टी विस्तार गरेर १९१८ मा अक्टोबर २५ का दिन सत्ताकब्जा गरेर आफ्नो नीतिअनुसार ४० वर्षसम्म समाजवादी सत्ता सञ्चालन गर्न सफल भए ।
१९५६ मा लेनिन–स्टालिनको समाजवादी सत्ता ढले पनि १९२१ मा गठन भएको चिनियाँ कम्युनिस्ट पार्टीले विभिन्न उतारचढाव र विभिन्न कठिनाइ ब्यहोरेर १९४९ मा नयाँ तरिकाले समाजवादको एकाइस्वरूप नयाँ जनवादी व्यवस्थाको नाममा कम्युनिस्ट पार्टीको नेतृत्वमा सत्ताकब्जा गरेर २७ वर्षसम्म सत्ता सञ्चालन गरेर प्रतिक्रान्ति भए पनि समाजवादी व्यवस्थाको इतिहास साक्षी छ र भविष्य उज्ज्वल छ ।
८. हामी बस्ने मानव समाजको प्रकृति विरुद्ध सङ्घर्षको हिसाबले साढे नौ लाख वर्ष, जैविक रूपले एक लाख वर्ष र वर्गका हिसाबले करिब दश हजार वर्ष बितिसकेको अनुमान छ । व्यक्तिगत सम्पत्ति प्रथा सुरु भएपछिका वर्गीय समाजले दुई वटा व्यवस्था सामन्ती व्यवस्था र दासव्यवस्था पार गरेर पुँजीवादी व्यवस्थाको समेत अन्तिम अवस्थामा प्रवेश गरेको छ । वर्तमान व्यवस्था बिनाविकल्प करिब ४०० वर्ष र समाजवादको विरोध खपेर १७४ वर्ष पार गर्दै अन्तिम र मरणासन्न साम्राज्यवादी अवस्थाबाट अस्तित्वमा छ । राज्यसत्ता ठुलो सङ्गठित रूप हो । त्यसले सम्पन्नवर्गलाई ससम्मान सुविधा उपयोग गरेर समाजमा बस्ने र श्रम गर्ने मजदुरलाई अपमान र असुविधासहित उत्पादनका काममा लागिरहनुपर्ने बाध्यता सृजना गरेको छ । संसारलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने काम दर्शनको हो । त्यो काम वर्गीयहितको आधारमा परस्पर विरोधी छ ।
९. सबै सामाजिक परिवर्तन र राजनीतिक क्रान्तिका कारण उत्पादन तथा विनिमय प्रणालीमा हुने परिवर्तनमा निहित छन् । उत्पादनका साधनमाथि श्रमिकको स्वामित्व र सानो मात्राको उत्पादन तथा छितरिएको उत्पादनलाई केन्द्रीकृत गरेर ठुलो स्केलमा उत्पादन बढी गराउनुका साथै उत्पादन सामाजिक बनाउने र स्वामित्व व्यक्तिगत बनाउने काम पुँजीवादमा भयो । सानो स्केलमा मालिक उत्पादक सर्वहारा उत्पादक बन्नुपरेकाले सर्वहाराको सङ्ख्या बढ्दै गयो । पहिलो पुँजीवादी उत्पादनले मजदुरलाई बेकार बनाउने र पछि पुँजीपतिलाई फाल्तु आवादीको श्रेणीमा पुर्यायो । सचेत, सङ्गठित र अनुशासित भई क्रान्ति सम्पन्न गर्ने विकल्प मात्र बाँकी रह्यो । क्रान्तिपछि मात्र समाजका सबै सदस्य दिन–प्रतिदिन सम्पन्न हुँदै जाने र बाह्य वस्तुगत शक्ति मान्छेको नियन्त्रणमा आएर बाध्यताको संसारबाट स्वतन्त्रताको संसार छलाङ मारेको हुन्छ ।
१०. सामाजिक श्रम विभाजनमा विभिन्न श्रमप्रकृया एकर्काबाट स्वतन्त्र भएर उत्पादन नै निर्णायक तत्त्व हुन्छ । एक पटक धर्मको स्थापना भएपछि परम्परागत सामग्री रहिरहन्छन् । ती सामग्री परिवर्तन सम्पन्न गर्ने मानिसको आर्थिक सम्बन्धबाट अघि बढ्छन् । जनतालाई कुनै पराइशक्तिले शासन गरिरहेकोजस्तो लागे पनि उनीहरूलाई आफैले पैदा गरेका आर्थिक परिस्थितिले शासन गर्दछन् । मान्छे आफैले उत्पादन गरेको साधनले आफैलाई शासन गर्छ, जब मान्छेले इच्छाबाहेक फलको पनि निश्चित गर्न लाग्छ, तब मात्रै त्यो अन्तिम पराइशक्तिको लोप हुन्छ । धार्मिक प्रतिबिम्बको पनि लोप हुने छ ।
सामाजिक जीवन नै साहित्य र कलाको एक मात्र श्रोत हो । लेखक र कलाकारले जनता जागृत पार्ने जनतामा उत्साह भरिदिने, एकताबद्ध बनाउने र आपसको वातावरणलाई रूपान्तरण गर्ने सङ्घर्षका लागि उत्साह भर्न प्रेरित गर्दछन् ।
सत्ताधारी वर्गका विचार उनीहरूका युगको सत्ताधारी विचार हुन्छ । जुन वर्ग समाजको सत्ताधारी भौतिक शक्ति हुन्छ, त्यो सत्ताधारी भौतिक शक्ति पनि हुन्छ । वर्गका विचार उनीहरूका युगका सत्ताधारी विचार हुन्छन् । क्रान्ति गर्ने वर्ग सुरुदेखि नै एउटा वर्गको रूपमा नभएर पूरै समाजको प्रतिनिधिको रूपमा प्रकट हुन्छ । उसको हित सम्पूर्ण गैरसत्ताधारी वर्गको हितसँगै र समाजको हितसँगै जोडिएको हुन्छ । क्रान्तिकारी वर्गले अहिलेसम्मका अवस्थाको दबाबअन्तर्गत विशेषवर्गको विशेष हितको रूपमा विकसित हुन पाएको हुन्न । हरेक नयाँ वर्गले पहिले शासक गर्ने वर्गको तुलनामा व्यापक स्तरमा आफ्नो अधिनायकत्व हासिल गर्छ । नयाँले पुरानो सत्ताधारी वर्गको विरोध अझै बढी तीक्ष्णता तथा गहनतापूर्वक विकास गर्छ ।
११. १८७० मा जन्मेको लेनिनले अगस्त १८९३ मा पिटर्सबर्गमा भूमिगत रूपका माक्र्सवादी अध्ययन मण्डलीमध्ये एउटामा प्रवेश गरेर छिट्टै तिनीहरूका वरिष्ठ नेता भए । क्रान्तिकारी दृष्टिकोणबाहेकका व्याख्या विरुद्ध सङ्घर्ष गरे । उनले नरोदनिकको विरोध गर्दै राजनीतिक गतिविधि अगाडि बढाए । लेनिनको ध्यान माक्र्सवादी सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्ने र निरङ्कुश शासनको विरुद्ध सङ्घर्ष गर्नुका साथै जारका जासुुसलाई छक्काएर बाँच्नुमा थियो । मजदुर वर्गका वरिष्ठ प्रतिनिधिलाई साथ लिएर सङ्गठनकर्ता र क्रान्तिकारी मजदुर कार्यकर्ता तयार पार्दै गए । उत्साहित भएर सभाको आयोजना गर्ने मजदुरसँग कुरा गर्ने र जारका जासुसलाई छक्काएर बच्नुमा मुख्य ध्यान थियो ।
१८९५ मा पिटर्सबर्गका सबै अध्ययन मण्डलीलाई मिलाएर मजदुर वर्ग मुक्ति सङ्घर्ष सङ्घ गठन गरेर क्रान्तिकारी गतिविधि अगाडि बढाउँदै क्रान्तिकारी माक्र्सवाद पार्टीको बिजारोपण गरे । उनले मजदुर वर्गको मुक्ति सङ्घर्ष सङ्घको नेतृत्व गर्दै आफ्नो प्रयत्नमा भएको मजदुर आन्दोलनले वैज्ञानिक समाजवादको प्रयोग गर्न थाल्यो ।
१८९६ मा पिटर्सबर्गका कपडा कारखानामा काम गर्ने ३० हजार मजदुरको हडतालले सम्पूर्ण रुसमा मजदुर वर्गको माक्र्सवादी पार्टी स्थापनाका लागि आधार तयार भयो । १४ महिना जेल, तीन वर्ष कालापानीमा निर्वासन र पाँच वर्षको विदेश बसाइमा समेत क्रान्तिकारी योजना र कार्यान्वयनमा जोड दिनुभयो । क्रान्तिकारी सिद्धान्तबिना क्रान्तिकारी आन्दोलनको अस्तित्व हुन सक्दैन भन्ने लेनिनको भनाइ थियो ।
१८९९ मा लेनिनले लेखेको “रुसमा पुँजीवादको विकास” भन्ने किताब प्रकाशित भई माक्र्सवादी कार्यकर्ताको वैज्ञानिक र सैद्धान्तिक ज्ञानको महत्त्वपूर्ण पुस्तकको रूपमा प्रचार भयो । पत्रिकाको नाम इस्क्रा राख्ने, अफिस जर्मनको म्युनिखमा राख्ने, रुसमा गोप्यताका साथ लेखापढी गर्ने योजनाका साथ १९०० को डिसेम्बरमा पत्रिका प्रकाशित भयो । त्यसले निस्वार्थ पार्टी कार्यकर्ता उत्पादन गरेर आन्दोलनको नेतृत्व गर्ने काम गर्यो ।
१९०३ को दोस्रो महाधिवेशनमा कम्युनिस्ट पार्टीको सदस्यताका लागि लेनिनले तीन वटा अनिवार्य सर्त राखेर त्यसैमा बहुमत भई बोल्सेभिक नाम भएको हो । १९०३ मा नै “गाउँका गरिबलाई” भन्ने लेख लेखेर लेनिनले मजदुर–किसानको एकता गर्दै समाजवादी व्यवस्था ल्याउनुपर्ने कारण बताउनुभएको थियो ।
सदस्यतासम्बन्धी विवादमा पार्टी विभाजन भए पनि लेनिनले पार्टीको राजनीति स्वीकार गर्ने, नियमित लेबी तिर्ने र कुनै न कुनै समितिमा बसेर जिम्मा पूरा गर्नुपर्ने तीन सर्त अनिवार्य बताउनुभयो । १९०५–०७ को असफल क्रान्तिलाई रिहर्सल भन्दै जनवादी क्रान्तिमा सर्वहाराको नेतृत्वदायी भूमिका मुख्य उपलब्धि भएको औल्याउनुभयो । पार्टीको सुरु अवस्थादेखि नै राजनीति खुल्ला गर्ने र सङ्गठन भूमिगत बनाउने नीतिअनुसार इस्क्रा पत्रिकाले राजनीति खुल्ला गराएको र सङ्गठन भूमिगत रूपमा सञ्चालित भएको थियो ।
फेबु्रअरी १९१७ को बुर्जुवा क्रान्तिपछि सोभियतसँग मिलेर समानान्तर सरकार बनाएका बोल्सेभिकले अक्टोबरमा लेनिनको नेतृत्वमा समाजवादी सत्ता स्थापना र सञ्चालन भयो । सत्ता प्राप्त गरेपछि १९१८ मा अमेरिकी, बेलायती, फ्रान्सेली, जापानीलगायत १४ देशका सेनाले आक्रमण गरेर नयाँ समाजवादी राष्ट्रको हत्या गर्ने प्रयासलाई लेनिनले असफल बनाइदिनुभयो । पुँजीले शोषण गरेर सडकमा फ्याँकिएका हजारौँ प्रतिभालाई समाजवाद निर्माण र स्थायित्वका लागि काममा लगाइयो । पार्टी र सरकारको नेतृत्वका लागि सामूहिकता नै आधारभूत सिद्धान्त हो भन्ने लेनिनको धारणा थियो । सत्ता कब्जा भएलगत्तै उद्योग सरकारको र जग्गाजमिन किसानको बनाएर मजदुर–किसानको पहुँच भएको राज्यसत्ता बनाउनुभयो ।
विजयी सोभियत राष्ट्रको १९२४ को तेह्रौँ महाधिवेशनले स्टालिनलाई महसचिव बनाएर लेनिनको मृत्युपछि समाजवादी निर्माणलाई अगाडि बढाइएको थियो ।
१२. माओत्सेतुङले १९२० को जाडो यामदेखि राजनीतिक रूपले मजदुरलाई सङ्गठित गर्न सुरु गर्नुभएको र माक्र्सवादी सिद्धान्तको प्रभाव र रुसी क्रान्तिको इतिहासले आफूलाई मार्गदर्शन गरेको बताउनुभएको छ । मे १९२१ मा साङ्घाईमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना सम्मेलनमा आफू पनि सहभागी भएको र जुलाईमा हुनान क्षेत्रीय कमिटीको सदस्य भएर कामको जिम्मेवारी लिएको इतिहास हो । मे १९२७ को पाँचौँ महाधिवेशनपछि माओको अध्यक्षतामा अखिल चिनियाँ किसान सङ्घ गठन भई हुनानमा किसान आन्दोलनले सशक्त रूप लिए पनि तत्कालीन नेतृत्व छनतुस्युले फिर्ता बोलाएर आन्दोलनमा प्रतिकूल स्थिति बनाएका थिए ।
१९३० को अगस्तमा माओको नेतृत्वमा लालसेनाको पहिलो मोर्चा गठन भएको थियो । १९३३ मा राजनैतिक ब्युरोमा र १९३५ को चुनाई सम्मेलनबाट कम्युनिस्ट पार्टीको सर्वोच्च नेतृत्वको जिम्मा पाएका थिए ।
१६ अक्टोबर १९३४ मा सुरु गरेको लामो अभियानको चीनको समाजवादी इतिहासमा साह्रै ठुलो महत्त्व रहेको छ । त्यसले चीनको कम्युनिस्ट पार्टीले आÇनो क्रान्तिकारी इतिहासमा गरेका सङ्घर्ष आरोह–अवरोध पार गर्दै आफ्नो लक्ष्य सफल पार्न गरेको सफल कार्यक्रमको स्मरण गराउँछ । १६ अक्टोबर १९३४ मा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको निर्णयानुसार पहिलो मोर्चा सेनाको मुख्य सैन्यशक्ति, जसमा कुल ५० हजार सिपाही र पछिल्तिर रहने विभागका स्टाफलाई साथ लिएर लगभग एक लाखको दलबलसहित विशाल रणनीतिक स्थानान्तरण सुरु गरेका थिए । जनवरी १९३५ मा चुनई पुग्दासम्म पहिलो मोर्चा सेनाले आफ्नो ६० प्रतिशत सैनिक गुमाइसकेको थियो । १२,५०० किमि लामो बाटो पार गरेका यो अभियानले एघार प्रान्तका २० करोड चिनियाँ जनतासँग भेट गरेर आफ्नो सम्बन्ध सुधार गर्दै ३७० दिनको यात्रामा जम्मा ३० हजार सेना बाँकी रहेको भए पनि जनताले साथ दिँदा राज्यसत्ता कब्जा गर्न सफल भएका थिए । यो लामो अभियानलाई विजयमा पु¥याउने र सत्रुको पराजय गराउने पहिलो माओत्सेतुङको सफल नेतृत्वको परिणाम थियो ।
१९४० मा नयाँ जनवादबारे रचना तयार पार्दै पार्टीनिर्माण संयुक्त मोर्चा र जनसेनाको स्पष्ट नीति तयार पारेर व्यवहारमा लागु गराएका थिए ।
मार्च १९४३ मा राजनैतिक ब्युरोको अध्यक्ष चुनिएपछि सिद्धान्तलाई व्यवहारसँग जोड्ने, जनतासँग घनिष्ट सम्बन्ध राख्ने र आत्मालोचना तथा आलोचना नियमित बनाउने कार्यशैलीअनुसार काम अगाडि बढाएका थिए । १९४७ पछि मात्र पार्टीको कामको केन्द्रविन्दु ग्रामीण इलाकाबाट सहरी इलाकामा लगिएको थियो ।
उच्चस्तरमा आर्थिक र सांस्कृतिक निर्माणसम्बन्धी कार्यक्रम चलाउने, गरिबी र अज्ञानता हटाउने, जनताका भौतिक र सांस्कृतिक जीवनको प्रत्येक क्षेत्रमा सुधार गर्ने आदि काममा जनताको नेतृत्व गर्ने बाचासहित १९४९ अक्टोबरमा चिनियाँ गणराज्यको घोषणा भएको थियो ।
डिसेम्बर १९४९ मा सहयोगीसहित रुस गई स्टालिनसँग चीन–सोभियत सङ्घको चालिसौँ वार्षिकोत्सवमा ६४ वटा कम्युनिस्ट र मजदुर पार्टीबिच छलफल भई दुई वटा स्वीकृत दस्तावेजमा माओले हस्ताक्षर गर्नुभएको थियो ।
कम्युनिस्टको सत्तालाई प्रतिगमन हुनबाट रोक्न १९६६ देखि महान् सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व र निर्देशन गर्नुभयो । आÇनो जीवनकाल १९७६ सम्म सञ्चालन भएको त्यो क्रान्ति सत्ताप्राप्त गर्ने क्रान्तिभन्दा कत्ति कम थिएन । सत्ता प्राप्त गर्ने क्रान्ति त सम्पन्न भयो । तर प्रतिक्रान्ति रोक्ने क्रान्ति सफल हुन सकेन, प्रतिक्रान्ति भयो । त्यसकारण यी दुवै चिनियाँ समाजमा आमूल परिवर्तन गर्ने क्रान्तिको नेतृत्वका लागि माओको उच्च योगदान र महान् नेतृत्व मानिन्छ ।

