काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावका दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरमा आइतबार अविश्वासको प्रस्ताव दर्ता गरिएको राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले युगदर्शनलाई बताउनुभयो ।
हाल लुम्बिनी प्रदेशमा ७९ जना सांसद बहाल छन् । जसपाका ६ जना सांसदमध्ये महन्थ–राजेन्द्र पक्षका ४ जनाले मुख्यमन्त्री पोखरेललाई समर्थन गरेका थिए भने दुई जना सांसदले अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् ।
संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएपछि चारवटै दलका प्रतिनिधि दिउँसो २ बजे प्रदेश प्रमुखलाई भेटेर संसद बैठक आव्हान गर्न आग्रह गर्ने सांसद जिसीले बताउनुभयो ।
यसअघि बहुमत सांसदहरुले अविस्वासको प्रस्ताव दर्ता गरेपछि वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको थियो । सोही दिन विपक्षी सांसदहरुको विरोधका बीच उहाँलाई पुनः मुख्यमन्त्रीको सपथ ग्रहण गराइएको थियो ।
यो पनि : शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त