काठमाडौं । आइतबार राजीनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुनः सोही पदमा नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश सभा प्रमुख धर्मनाथ यादवले आइतबार अपरान्ह पुनः मुख्यमन्त्रीको पदमा नियुक्त गरिएको हो ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव आएपछि त्यसलाई छल्न उहाँले आजै राजीनामा दिनुभएको थियो । एमालेकै माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गरी अविश्वासको पक्षमा मतदान दिने अवस्था आएपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको थियो ।
प्रदेश सभामा मुख्यमन्त्रीविरुद्धको अविस्वासको प्रस्तावबारे आज छलफल गर्ने कार्यक्रम थियो । तर, प्रदेश सभा अधिवेशनको आजै अन्त्य गरिएको छ ।

तीन सांसदले दिए राजीनामा, वली माओवादी प्रवेश
यसैबीच लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्।
कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन्।
यस्तै, लुम्बिनी प्रदेश सभा सदस्य विमला वली नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । वली दाङ ३ (ख) मा भएको उपचुनावमा तत्कालीन नेकपाबाट निर्वाचित भएको हुन् ।