काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष रुकबहादुर केसीको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले गहिरो दुःख प्रकट गरेको छ । नेकपा (मसाल) को भारत शाखा सदस्यसमेत रहेका केसी (क. शितल) को निधनबाट पार्टी संगठन र नेपालको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पुगेका मसालले जनाएको छ ।
महामन्त्री मोहनविक्रम सिंहले बुधबार शोक वक्तव्य प्रकाशित गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । ५६ वर्षीय केसीको कोरोना संक्रमणका कारण भारतको उत्तरप्रदेश बलरामपुरमा मंगलबार (वैशाख ७ गते) निधन भएको हो ।
वक्तव्यमा भनिएको छ, ‘कामरेड रूकबहादुर केसी (क शितल) को २०७८ वैशाख ०७ गते भारतको उत्तरप्रदेश बलरामपुर शहरमा ५६ वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति हाम्रो पार्टीले गम्भीर दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ । का. केसी २७ वर्षदेखि नेपाल कम्युनिस्ट पार्टी (मसाल) को सदस्य रहँदै आउनुभएको थियो । हाल उहाँ नेपाल कम्युनिस्ट पार्टी (मसाल) भारत शाखा सदस्य र मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँ अनुशासित, सिद्धान्तनिष्ठ तथा जुझारू पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको सङ्गठन तथा नेपालको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति भएको छ । अन्तमा क. रूकबहादुर केसीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’
यो पनि : मूल प्रवाहका कोषाध्यक्ष रुकबहादुर केसीको कोरोना संक्रमणबाट निधन
प्युठानको स्वर्गद्वारी नगरपालिका–४ कोठिबाङमा २०२३ सालमा बुवा शिवलाल खत्री र आमा डुमादेवीबाट जन्मिएका केसी हाल भारतको उत्तरप्रदेशस्थित बलरामपुरमा बसोबास गर्दै आउनुभएको थियो । उहाँका श्रीमती केशरीदेवी, दुई छोरी हरिकला र आशा तथा छोरा विनोद हुनुहुन्छ । पाँच भाइ र एक बहिनी मध्ये उहाँ जेठो सन्तान हुनुहुन्थ्यो ।
केसीले लामो समयदेखि भारत प्रवासमा रहेर संगठनको जिम्मेवारी पुरा गर्दै आउनुभएको थियो । हाल उहाँ भारतको एक बैंकमा कार्यरत रहनुभएको थियो । तर, संगठनलाई आवश्यक परेको बेला जहाँ र जहिले पनि दौडधुप गर्ने केसी प्रवासमा नेपाली समुदायमाझ लोकप्रिय नेता हुनुहुन्थ्यो ।
नेपाली समुदायलाई आइपर्ने समस्याको समाधानका लागि खटिरहने केसी पार्टी संगठनको अत्यन्त जुझारु र भरपर्दो नेता रहेको लामो समयसम्म प्रवासमा कार्यरत राष्ट्रिय जनमोर्चाका पूर्वमहासचिव हरि आचार्यले स्मरण गर्नुभएको छ । आचार्यका अनुसार पार्टीको विचार र सिद्धान्तप्रति दृढ अडान लिने नेता केसी विरोधी शक्तिसँग डटेर मुकाबिला गर्नुहुन्थ्यो ।
उहाँको निधनले सिंगो कम्युनिष्ट आन्दोलन र प्रवासी नेपालीहरुलाई अपुरणीय क्षति पुगेको पूर्वमहासचिव आचार्यले बताउनुभयो ।