नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष रुकबहादुर केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । ५६ वर्षीय केसीको भारतको उत्तरप्रदेश बलरामपुरमा मंगलबार (वैशाख ७ गते) निधन भएको हो ।
समाजले नेता केसीको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । मूल प्रवाहका अध्यक्ष दुर्गाबहादुर केसीले बुधबार शोक वक्तव्य प्रकाशित गरी केसीको दुःखद निधनले संगठनलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
यस्तो छ वक्तव्य
‘हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष रुकबहादुर केसीको दुःखद निधन भएको छ । उहाँ हाल उत्तर प्रदेशस्थित बलरामपुरमा परिवारसहित रहँदै आउनु भएको थियो । उहाँ उत्तर प्रदेशस्थित सिद्धार्थ नगरअवस्थित इण्डियन बैंकमा कार्यरत हुनुहुन्थ्यो । सन् १९८९ तिर चेन्नईदेखि एकता समाजमा संगठित हुनुभएको थियो । जागिरको क्रममा दिल्ली र दिल्लीबाट युपी पुग्नुभएको थियो ।
तात्कालिन अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको केन्द्रीय कोषाध्यक्ष समेत रहनुभएका केसी छैठौं अखिल भारत सम्मेलनमा युवक मोर्चा लगायत अन्य मोर्चाहरु मूल प्रवाहमा समाहित भएपछि केन्द्रीय सदस्यको रुपमा र हाल मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कोषाध्यक्ष हुनुहुन्थ्यो । मिलनसार, प्रष्ट वक्ता, जुझारू र कर्मठ तथा संगठनप्रति अत्यन्तै इमान्दार हुनुहुन्थ्यो ।
केही दिनदेखि अस्वस्थ्य भई घरमै स्वास्थ्यलाभ लिइरहनु भएको थियो । उहाँको स्वास्थ्य स्थिति अचानक बिग्रिएको कारणले २० अप्रेल २०२१ का दिन दिउँसो ४ बजे स्थानीय ‘संयुक्त जिल्ला चिकिल्सालय बलरामपुर’ मा भर्ना हुनुभएको थियो । उहाँको राती करिब ८ः३० बजे दुःखद निधन भएको छ । रुकबहादुर केसीको दुःखद निधनले हाम्रो संगठनलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति भावपूर्ण हार्दिक श्रद्धान्जली साथै शोकाकुल परिवारजन एवं शोकाकुल संगठनका सदस्यहरुप्रति समवेदना प्रकट गर्दछौं ।’