काठमाडौँ । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करिब रु पाँच अर्ब ९४५ मिलियन अमेरिकी डलर रकम पाउने भएको छ ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली र विश्व बैङ्कका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबिच बुधबार भएको उत्सर्जन कटौती खरिद सम्झौतानुसार नेपालले सो रकम प्राप्त गर्ने छ ।
सो सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । यसरी वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ ।
साथै समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवद्र्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि गरिने छ ।
बैङ्कसँग यस्तो सम्झौता गर्ने नेपाल एसिया–प्रसान्तमा पाँचौँ र विश्वव्यापी रूपमा बाह्रौँ देश हुन पुगेको छ ।