काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई) ले वेबसाइटका सुरक्षा कमजोरी पत्ता लगाउँदा नेपालसहित विश्वका कैयौँ देशका वेबसाइट अस्थायी रूपमा बन्द भएका छन् ।
एआईले इन्टरनेटका अधिकांश वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला पारेपछि यो स्थिति देखा परेको हो ।
साइबर सुरक्षा निकायले सम्बन्धित संस्थालाई PHPको सुरक्षा अपडेट तत्काल लागु गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइट अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए । बुधबार दिउँसो ती कमजोरी समाधान गर्ने सुरक्षा अपडेट जारी गरिएको थियो तर समयमै अपडेट गर्न नसक्ने संस्थालाई आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गर्न सुझाव दिइएको थियो ।
बिहीबार बिहानसम्म नेपालका डट जिओभी डट एनपी वेबसाइट खुलेका छैनन् । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय, विभाग र पालिकाका वेबसाइट खुलेका छैनन् ।
सुरक्षा जोखिमकै कारण फिनल्यान्ड सरकारले पनि आफ्ना सार्वजनिक वेबसेवा अस्थायी रूपमा बन्द गरेको छ । बेलायतको एडिनबरा काउन्सिल र बिबिसीले पनि आफ्ना केही वेबपृष्ठ अफलाइन गरेका छन् । नेदरल्यान्ड्सको साइबर सुरक्षा निकायले जोखिमका कारण आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गर्ने जनाएको छ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले पनि सामाजिक सञ्जाल एक्समार्फत सुरक्षा अपडेट गर्न नसक्ने संस्थालाई आफ्ना प्रणाली अफलाइन राख्न सुझाव दिएको छ । एनएसएका अनुसार यी कमजोरीले आक्रमणकारीलाई सर्भरको फाइल प्रणाली वा डेटाबेससम्म सिधा पहुँच प्राप्त गर्ने बाटो दिन सक्छन् । त्यसबाट संवेदनशील सूचना चोरी हुने वा प्रणालीमा अनधिकृत पहुँच स्थापित हुने जोखिम रहन्छ ।
यी सुरक्षा कमजोरी एआईको सहयोगमा पत्ता लागेका हुन् । साइबर सुरक्षा कम्पनी विज (Wiz) ले यी कमजोरीलाई एआई प्रविधिबाट पत्ता लागेका अहिलेसम्मकै सबैभन्दा गम्भीर कमजोरीमध्येका रूपमा व्याख्या गरेको छ ।
एआई प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षाको क्षेत्रमा पनि ठुलो परिवर्तन भइरहेको छ । यसले सफ्टवेयरमा लुकेका कमजोरी पहिचान गर्न सहयोग पुर्याइरहेको छ तर यस्ता कमजोरीको दुरुपयोग हुन नदिन समयमै सुरक्षा उपाय अपनाउन आवश्यक देखिएको छ ।





