शङ्करप्रसाद पोख्रेल\खलङ्गा ।।
केपी ओली नेतृत्वको सरकारले पौष ५ गते गरेको असंवैधानिक संसद विघटनका विरुद्ध प्युठानको बिजुवारमा विरोध र्याली एवम राँके जुलुस सम्पन्न भएको छ ।
विरोध प्रदर्शनका क्रममा अखिल (छैठौं) का वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सल्लाहकार सरोज न्यौपाने प्रहरी धरपकडका क्रममा घाइते हुनुभएको छ ।
अखिल नेपाल युवक सङ्घले केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावादी एवम् स्वेच्छाचारी कदमका विरुद्ध देशव्यापी रूपमा आयोजना गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत प्युठानमा पनि जुलुस एवम् कोणसभा सम्पन्न भएको हो ।
नयाँबजार (जुम्री), पुण्यखोला, खेलमैदानबाट आएका तीन वटै जुलुस एवम् र्याली मित्रमणिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्नेहरूमा युवक सङ्घका जिल्ला सचिव बरुणध्वज मल्ल, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्यहरू ध्रुव थापा, दुर्गा भुसाल, अखिल (छैठौं) का वैकल्पिक केन्द्रीय सदस्य सरोज न्यौपाने रहनुभएको थियो ।
कोणसभाको सञ्चालन युवक सङ्घका जिल्ला उपाध्यक्ष कमल पौडेलले गर्नुभएको थियो ।
अखिल नेपाल युवक सङ्घ प्युठानले आयोजना गरेको जुलुसमा व्यापक सहभागिता थियो ।