काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ६३८ जनामा कोरोना पुष्टि भएको बताउनुभयो ।
उहाँका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ पीसीआर परीक्षण भएसँग अहिलेसम्मको परीक्षणको संख्या १२ लाख २१ हजार ३८ पुगेको छ ।
त्यस्तै आज थप २ हजार १७४ जना संक्रमित निको भएसँगै अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ ।
यस्तै, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रवक्ता गौतमका अनुसार आज उपत्यकाका काठमाडौँमा ९९६ , भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा कोरोना पुष्टि भएको हो । मंगलबार उपत्यकामा २ हजार १२९ जनामा कोरोना पुष्टि भएको थियो ।
नेपालमा कोरोना भाइरस कोभिड १९ बाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ६ सय ७५ पुगेको छ ।

