अर्घाखाँची । अर्घाखाँचीमा नेपाली सेनाका गुल्मपति र प्रहरी प्रमुखसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अर्घाखाँचीमै रहेका राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का पनि संक्रमित हुनुभएको छ ।
सन्धिखर्क नगरपालिकाबाट शनिवार स्वाव संकलन गरि परीक्षणका लागि भैरहवा प्रयोगशालामा पठाइएकोमा प्राप्त रिपोर्ट अनुसार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका निमित्त प्रमुख कपिल गौतमले जानकारी दिनुभएको छ।
संक्रमित हुनेमा राष्ट्रिय सभा सदस्य खड्का, रेडक्रसका अध्यक्ष कुशल भुसाल, रामवाण गुल्मका गुल्मपती, जिल्ला प्रहरी कार्यालयका डीएसपीसहित १३ जना छन् ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले शान्ति सुरक्षा र मुद्दासम्बन्धी बाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहित ४ जनामा कोरोना पुष्टि भएपछि जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा, मुद्दा, राहत, उद्दारसम्बन्धी बाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको अर्का सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
केही दिन अघि सन्धिखर्क नगरपालिकाको भुजुंगे र शीतगंगा नगरपालिकाको कोठिया मैदानमा पहिरो पीडितलाई राहत वितरण गरेर फर्केपछि प्रजिअ विष्णु पौडेल, सप्रजिअ विक्रम थापा सहित सुरक्षा गार्ड र गाडी चालकलाई कोरोना पोजेटिभ देखिएको हो । संक्रमितहरु होम आइसोलेसनमा छन् ।
अत्यन्त जरुरी काम बाहेक सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोइ वा स्यानिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अतिआवश्यक सेवा लिन सहायक प्रजिअ खनालले आग्रह गर्नुभएको छ।

