काठमाडौँ । दानबहादुर कार्कीले प्रहरी महानिरीक्षकमा पुनर्बहालीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ ।
२०८३ मङ्सिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सरकारको नाममा कारणदेखाउ आदेश जारी गरेको हो ।
सर्वोच्चको वेबसाइटमा कारणदेखाउ आदेश र अन्तरिम आदेश छलफलमा बोलाएको उल्लेख भए पनि लिखित आदेश आइसकेको छैन ।
त्यस्तै कुन मितिभित्र जबाफ पेस गर्न र कुन मितिमा अन्तरिम आदेशका लागि छलफलमा बोलाइएको छ भन्ने खुलेको छैन ।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारको नियुक्ति दिने निर्णय गरेको थियो । त्यस्तै मनोजकुमार केसीलाई आइजिपी बनाउने निर्णयसमेत गरेको थियो ।
उक्त निर्णय विरुद्ध कार्कीले आफूलाई पुनर्बहाली हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थिए । त्यसमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश पौडेलले आदेश जारी गरेका हुन् ।