काठमाडौँ । नेपाली चलचित्रलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र पारिएको छ ।
आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा आयोजना हुने महोत्सवमा विश्वका विभिन्न देशबाट करिब सय जना चलचित्रकर्मी, सञ्चारकर्मी तथा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुने आयोजकले जनाएको छ ।
नेपाल फिल्म एन्ड मिडिया एकेडेमीको आयोजनामा हुन लागेको महोत्सवको पहिलो संस्करणमै विश्वभरबाट पाँच सयभन्दा बढी फिचर फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्री प्राप्त भएका छन् । पहिलो संस्करणमै यति ठुलो सङ्ख्यामा अन्तर्राष्ट्रिय चलचित्र प्राप्त हुनुले महोत्सवप्रति विश्व चलचित्र क्षेत्रको चासो र आकर्षण बढ्दै गएको आयोजकको विश्वास छ ।
‘हिमालदेखि सागरसम्मका कथाको उत्सव’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा प्राप्त चलचित्रमध्ये करिब सयओटाा उत्कृष्ट चलचित्र छनोट गरी चार दिनसम्म काठमाडौँमा प्रदर्शन गरिनेछ ।
चलचित्र छनोटका लागि निर्देशक सुवर्ण थापाको नेतृत्वमा चलचित्र छनोट समितिको गठन गरिएको र छनोट भएकामध्ये उत्कृष्ट चलचित्रलाई निर्देशक अशोक शर्मा नेतृत्वका नेपाली तथा विदेशी जुरीहरूले नगद पुरस्कारसहित विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, माउन्टेन फिल्म, वातावरणसम्बन्धी फिल्म, मानवशास्त्रीय फिल्म, मानवअधिकारसम्बन्धी फिल्म, महिला विषयवस्तुमा आधारित फिल्म तथा आदिवासी जनजातिका कथा र संस्कृतिमा आधारित चलचित्रलाई समेटिनेछ । त्यसैगरी एनिमेसन, विद्यार्थी चलचित्र र कृत्रिम बौद्धिकतामा आधारित चलचित्रलाई समेत विशेष प्राथमिकता दिइने बताइएको छ ।
महोत्सव आयोजक समितिका सदस्य फूलमान बलका अनुसार चार दिनसम्म चलचित्र प्रदर्शनसँगै विशेष सम्मान, अन्तरक्रिया, चलचित्र कार्यशाला, प्यानल छलफल तथा अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम सञ्चालन गरिनेछ ।
हलिउड, बलिउड तथा चिनियाँ चलचित्र क्षेत्रका चर्चित चलचित्रकर्मी महोत्सवमा अतिथिको रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।
महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, नेपाली प्रतिभा र सिर्जनालाई विश्वमाझ चिनाउने तथा विदेशी चलचित्र निर्माता र निर्देशकलाई नेपालमा चलचित्र निर्माणका सम्भावना र गन्तव्यबारे जानकारी गराउने लक्ष्य लिएको छ । यसबाट नेपालमा चलचित्र पर्यटन, अन्तर्राष्ट्रिय सहकार्य तथा चलचित्र निर्माणमा विदेशी लगानीको सम्भावना विस्तार हुने अपेक्षा गरिएको छ ।
नेपालको प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, सांस्कृतिक विविधता र मौलिक कथालाई अन्तरराष्ट्रिय चलचित्र जगत्मा प्रवद्र्धन गर्नु महोत्सवको अर्को महत्त्वपूर्ण उद्देश्य हो । युनेस्को क्रिएटिभ सिटी अफ फिल्मको अवधारणासँग जोड्दै काठमाडौँलाई चलचित्र सिर्जना, सहकार्य र सांस्कृतिक आदानप्रदानको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य महोत्सवले राखेको छ ।