पत्थरी (मोरङ) । भोजपुरको कुलुङमा जन्मिएर मोरङको पथरीशनिश्चरेमा हुर्किनुभएको तथा हाल अमेरिकामा बस्दै आउनुभएका साहित्यकार भोजकुमार राईको तेस्रो कृति ‘यात्रा संस्मरण’ को लोकार्पण सम्पन्न भएको छ ।
पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्बापो, आयोजक अध्यक्ष अमिर राई र कृतिकार स्वयम्लगायतले २०८३ कात्तिक २८ गते आयोजित औपचारिक कार्यक्रममाझ उक्त कृतिलाई सार्वजनिक गर्नुभएको हो ।
प्रमुख अतिथि नगरप्रमुख तुम्बापोले आफ्नो पालिकाको स्रष्टाले कृति प्रकाशित गर्नु र त्यसमाथि हाल अमेरिका नलेखी पथरीशनिश्चरे मात्र लेख्नुले आफू र आफ्नो पालिकाको गौरव बढेको चर्चा गर्दै पथरीशनिश्चरेमा कलासाहित्यको राष्ट्रिय स्तरको भव्य कार्यक्रम गर्ने/गराउन इच्छा व्यक्त गर्नुभयो ।
समीक्षक ईरानराईले कृतिको सबल र सुधार पक्षको चर्चा गर्दै कृतिले राष्ट्रियता, मौलिकता, सांस्कृतिकता र वर्गीयताबारे महत्त्वपूर्ण योगदान दिएको चर्चा गर्नुभयो ।
भूवनसिंह राईले १०/१२ वर्षका भोजकुमार राईलगायत पहाडबाट भागेर मधेस झर्दै गरेका बच्चालाई स्वदेशमै ठग्नु र बाटो बनाउने ठेकेदारलाई बेच्नु तर अमेरिकामा पहिलोपटक पुग्दा एक पाकिस्तानीले सहयोग गर्नुले मानिसमा मानवीय सद्गुण चाहिने सन्देश दिनुभएको बताउनुभयो ।
अर्का समीक्षक सुमन राईले बुद्ध नेपालमा जन्मनुभएको हो भनेर सन्देश दिनु र गर्नु थोरै शीर्षकमा धेरै कुरा अटाउनु यो कृतिको सबल पक्ष बताउनुभयो ।
आफू भाषासाहित्यको विद्यार्थी नभए तापनि देशप्रति, समाजप्रति केही न केही गरौँ भनेर पुस्तक लेखनमा लागेको कृतिकार भोजकुमार राईले बताउनुभयो ।
संविधानसभा सदस्य चण्डीप्रसाद राईले विद्यार्थी कालदेखि नै सिर्जनशील, लगनशील, चेतनशील तथा अब्वल भएको स्मरण गर्दै विदेश बसेर पनि स्वदेशको माया गरी कृति प्रकाशन गर्नु सरानजीय भएको बताउनुभयो ।
प्रगतिशील लेखक सङ्घका पूर्व केन्द्रीय सदस्य हेमनाथ अधिकारीले नियात्रा नभनेर यात्रासंस्मरण नै भन्नु र सरल तरिकाले कृतिलाई पस्कनु लेखकको उच्च सिप भएको बताउनुभयो ।
प्रलेस कोशी प्रदेशका अध्यक्ष विन्दु दाहाल मूकदर्शक, विद्रोही कान्छा, फिपराज बेघा, रोहित पराई, यज्ञ परिश्रमी, कोपिला रिमाल, कमल तिम्सिना, रबिन भट्टराई, कृष्णप्रसाद अधिकारी, देवीप्रसाद घिमिरे, राजेन्द्र विवश, लक्ष्मी ढुङ्गेल, सूर्य रिमालले रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा पथरीशनिश्चरेका पहिलो नगरप्रमुख दिलिप राई (किशोर), राजनीतिकर्मी युवराज बास्कोटा, वडा नं. १ वडाध्यक्ष भीम राई तथा वडा नं. ७ का वडाध्यक्ष उद्धव बस्नेत, बेलबारीका नाट्यकर्मी कृष्ण गुरुङ, आयोजक सल्लाहकार गणेश बाछाना, लक्ष्मी फुयाल, जीवन बराल, शान्तिराम तिम्सिना अतिथि हुनुहुन्थ्यो ।
कृतिकार राईले २०४५ सालमा उपन्यास ‘अधुरो सपना’ र २०५५ सालमा दोस्रो कृति उपन्यास ‘प्रतिज्ञा’ प्रकाशित गरिसक्नुभएको छ ।
कला साहित्य प्रवद्र्धन समिति, पथरीशनिश्चरे, मोरङले आयोजना गरेको सो कार्यक्रममा आयोजक अध्यक्ष धनराज राई (अमीर) ले अध्यक्षता तथा सल्लाहकार भूपेन्द्र तिम्सिनाले सञ्चालन गर्नुभएको थियो ।
