काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ ।
हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि जितेको हो ।
छ टोलीको सहभागिता रहेको सो प्रतियोगितामा नेपालले खेलेका छमध्ये चार खेलमा जित हासिल गर्यो, बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए ।
नेपालले सिरिजको पहिलो खेलमै थाइल्यान्डलाई सात विकेटले हराउँदै सुखद सुरुआत गरेको थियो । त्यसपछि चीनसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि नतिजाविहीन बनेको थियो ।
तेस्रो खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले चौथो खेलमा पुन: थाइल्यान्डमाथि ५२ रनको जित हासिल गरेको थियो ।
पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले हराउँदै उपाधि यात्रालाई थप बलियो बनाएको नेपालले अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेटको क्षतिमा ८८ रन बनाएको थियो । त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल पुन: सञ्चालन हुन सकेन ।
प्रतियोगितामा नेपाल, आयोजक चीन, हङकङ र थाइल्यान्ड गरी चार टोली सहभागी थिए ।





