विराटनगर । आगामी स्थानीय तहको निर्वाचनको सन्दर्भमा आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टीसामु सकस उत्पन्न भएको छ ।
रास्वपामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी क्यान्डिडेट क्लबमा दर्ता हुन आह्वान गरेपछि इच्छुक नेताकार्यकर्ताले आफूखुसी उम्मेदवारी घोषणा गर्न थालेका हुन् ।
क्लबमा आवेदन दिएकै भरमा आकाङ्क्षीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्न थालेपछि रास्वपा कोशी प्रदेशले अत्यन्त जरुरी सूचना जारी गर्दै यस्ता गतिविधि नगर्न कडा निर्देशन दिएको हो ।
रास्वपा कोशी प्रदेशका महामन्त्री निरज कटुवालले यसरी आफूखुसी उम्मेदवारी घोषणा गरे पार्टीको साधारण सदस्यता नै खारेज हुन सक्ने चेतावनी दिए ।
‘क्यान्डिडेट क्लबमा निवेदन दिनु उम्मेदवारी घोषणा होइन’ उनले भनेका छन्– ‘पार्टीको निर्देशन विपरीत उम्मेदवारी घोषणा गरेमा उम्मेदवारी खारेजी, छनोट प्रक्रियाबाट निष्काशन, जिम्मेवारीबाट मुक्ति र पार्टीको साधारण सदस्यता नै समाप्त गर्नेसम्मको कारबाही हुनेछ ।’
सूचनामा पार्टीको विधिभन्दा माथि रहने छुट कसैलाई नभएको स्पष्ट पारिएको छ । विधिको शासन, आन्तरिक लोकतन्त्र र संस्थागत मर्यादालाई पूर्ण रूपमा आत्मसात गर्न सम्पूर्ण सदस्य तथा आकाङ्क्षीलाई कडा निर्देशन दिइएको छ ।
महामन्त्री कटुवालद्वारा जारी सूचनामा क्यान्डिडेट क्लबमा आवेदन दिनु नै उम्मेदवारीको अन्तिम सुनिश्चितता नभएकाले आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने वा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रचारप्रसार गर्ने कार्यलाई पूर्ण रूपमा विधि विपरीत ठहर्याइएको छ । यस्ता भ्रामक सामग्री प्रकाशित वा सेयर गर्न नपाइने र गरिसकिएको भए तत्काल हटाउन रास्वपाले भनेको छ ।






