तेहरान । इरानी सेनाले अमेरिका र इजरायलसँग युद्ध सुरु हुँदाको तुलनामा आफू अहिले अझ बलियो र बढी प्रेरित भएको जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमले शनिबार सैन्य प्रवक्तालाई उद्धृत गर्दै यस्तो जानकारी दिएका हुन् ।
सरकारी समाचार संस्था इर्नाका अनुसार सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले प्रत्यक्ष सैन्य मुठभेडबाट अनुभव हासिल गरेपछि इरानी सशस्त्र बल अहिले पहिलेभन्दा बढी सतर्क र शक्तिशाली बनेको बताए ।
उनले भने– ‘इस्लामिक गणतन्त्रका सशस्त्र बल अहिले युद्ध सुरु हुँदाको अवस्थाभन्दा अझ बलिया भएका छन् । उनीहरूमा उच्च प्रेरणा, प्रतिबद्धता र आत्मविश्वास छ ।’
फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि भड्किएको युद्ध महिनौँदेखि गतिरोधको अवस्थामा छ ।
तेहरानले विश्वको कुल तेल खपतको करिब पाँच भागको एक भाग ढुवानी हुने स्ट्रेट अफ होर्मुजबाट हुने आवागमन सीमित पार्ने प्रयास गर्दै आएको छ ।
अक्रामिनियाका अनुसार उक्त रणनीतिक जलमार्गमा इरानी सशस्त्र बलको नियन्त्रण कायम छ । अमेरिकाले तेहरानका माग स्वीकार नगरेसम्म जलमार्ग बन्द रहने उनले बताए ।
उनले सर्वोच्च नेताको आदेशअनुसार इरानी सशस्त्र बलको जबाफ तत्काल र प्रभावकारी हुने तथा त्यसको कुनै भौगोलिक सीमा नहुने स्पष्ट पारे । (रासस/एएफपी)





