नयाँदिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।
सरकारी अधिकारीका अनुसार प्रदर्शनकारीले प्रहरीचौकी, सरकारी कार्यालय र जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनी गरेका हुन् ।
मुख्यमन्त्री पेमा खाण्डुका अनुसार सरकारी जलविद्युत् कम्पनी एनएचपिसीले निर्माण गर्ने प्रस्ताव गरेको ११ हजार दुई सय मेगावाट क्षमताको सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट विरुद्धको प्रदर्शनका क्रममा शुक्रबार राति हिंसा भड्किएको थियो ।
खाण्डुले शनिबार पत्रकारसँग भिडले ठुलो मात्रामा सम्पत्ति नष्ट गरेको बताए । प्रदर्शनकारीले प्रहरीचौकी र एनएचपिसीको कार्यालयमा तोडफोड गर्नुका साथै निर्वाचित जनप्रतिनिधिका घरमा लुटपाट गरेको उनले जानकारी दिए ।
प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर करिब ४० जना प्रहरी घाइते भएका छन् । भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
मुख्यमन्त्री खाण्डुले परियोजनाको विरोध गरिरहेका स्थानीयलाई हिंसाको बाटो त्यागेर सरकारसँग वार्ता गर्न आग्रह गरे ।
भारतले तिब्बतमा चीनले निर्माण गर्न लागेको विशाल जलविद्युत् परियोजनाको सम्भावित प्रभावलाई ध्यानमा राख्दै आफ्नो बाँध परियोजना आवश्यक रहेको बताउँदै आएको छ । करिब एक सय ६७ अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको चिनियाँ परियोजना विश्वकै सबैभन्दा ठुलो जलविद्युत् आयोजना बन्न सक्ने बताइएको छ ।
चिनियाँ बाँधका कारण ब्रह्मपुत्र नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव प्रभावित हुन सक्ने भारतको चिन्ता छ । प्रस्तावित भारतीय बाँधमा विशाल जलाशय निर्माण गरी नदीमा पानीको बहाव कायम राख्न सकिने नयाँदिल्लीको भनाइ छ तर बेइजिङले आफ्नो परियोजनाले तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक असर नपार्ने दाबी गरेको छ ।
भारतको प्रस्तावित बाँध परियोजनाको स्थानीय समुदायले पनि विरोध गर्दै आएका छन् । परियोजना निर्माण भए आफूहरूले घर र जमिन गुमाउनुपर्ने उनीहरूको चिन्ता छ ।
यस विवादले भारत र चीनबिच हिमालय क्षेत्रमा कायम सीमा तनावलाई थप उजागर गरेको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा दाबी गर्दै आएको छ भने भारतले उक्त राज्य आफ्नो अभिन्न भूभाग भएको बताउँदै आएको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शुक्रबार सीमा क्षेत्रमा तनाव व्यवस्थापन गर्न दुवै देशका अधिकारी नियमित सम्पर्कमा रहेको बताए ।
उहाँका अनुसार सीमाक्षेत्रमा चिनियाँ सेनाले नियमित गस्तीको स्थापित ढाँचाभन्दा फरक गतिविधि गर्दा बेलाबेलामा तनाव उत्पन्न हुने गरेको छ । दुवै पक्षले कूटनीतिक तथा सैन्य संयन्त्रमार्फत बाँकी विवाद समाधान गर्न र गलत बुझाइबाट उत्पन्न हुन सक्ने तनाव रोक्न प्रयास गरिरहेको उनले बताए । (रासस/एएफपी)





