लन्डन । बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले बेलायत र युरोपेली सङ्घ (इयू) बिच स्वतन्त्र आवतजावत पुन:स्थापना गर्ने सम्भावनाबारे तथ्य र प्रमाणमा आधारित खुला छलफल गर्न आह्वान गरेका छन् ।
इयूसँगको सम्बन्ध थप सुदृढ बनाउने विकल्पबारे उनको सरकारले विचार गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो ।
द सन्डे टाइम्ससँगको अन्तर्वार्तामा बर्नह्यामले यस विषयमा तथ्यपरक र प्रमाणमा आधारित बहस आवश्यक रहेको बताए ।
उनले ब्रेक्जिटअघि स्वतन्त्र आवतजावतका कारण बेलायतले केही महत्त्वपूर्ण चुनौती सामना गर्नुपरेको स्वीकार गरे तर बेलायतले इयू छाडेयता आप्रवासनको स्वरूप परिवर्तन भएको उल्लेख गर्दै विगत र वर्तमानका अवस्थाबिचको भिन्नताबारे इमानदार छलफल हुनुपर्नेमा जोड दिए ।
बर्नह्यामले ब्रेक्जिटपछि बेलायतले इयूका केही आप्रवासनसम्बन्धी सूचना आदानप्रदान प्रणालीमा पहुँच गुमाएको विषय पनि उठाए । यसमा शरण आवेदन व्यवस्थापनमा सहयोग गर्ने इयूको बायोमेट्रिक डाटाबेस युरोड्याक पनि समावेश छ यद्यपि प्रधानमन्त्रीले बेलायतले युरो मुद्रा अपनाउने वा आन्तरिक सीमा जाँच हटाइएको सेन्जेन क्षेत्रमा सामेल हुने प्रस्ताव आफूले नगरेको स्पष्ट पारे ।
बेलायतले सन् २०२० मा इयूबाट औपचारिक रूपमा अलग भएपछि दुई पक्षबिच व्यापार, आप्रवासन र सुरक्षा सहकार्यलगायत विषयमा सम्बन्ध पुन:परिभाषित गर्ने प्रयास जारी राखेको छ । (रासस/सिन्ह्वा)





