काठमाडौँ । प्रत्येक वर्ष बडादसैँपछिको पूर्णिमामा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गर्ने गरेको विशाल सभा तथा सांस्कृतिक कार्यक्रम यस वर्ष २०८३ कात्तिक ९ गते सोमबार सम्पन्न हुने भएको छ ।
राजमो अध्यक्ष चित्रबहादुर केसीको सम्बोधन तथा रक्तिम सांस्कृतिक अभियान केन्द्रीय टोलीको प्रस्तुतिसँगै सो कार्यक्रम सम्पन्न हुन थालेको हो ।
राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले दिनुभएको जानकारीअनुसार उक्त कार्यक्रमलाई अध्यक्ष केसीसँगै राजमो लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्री, अखिल (छैठौँ) का अध्यक्ष सुभाष जिसीले पनि सम्बोधन गर्नुहुनेछ ।
एवम् प्रकारले राजमो केन्द्रीय सदस्य सागर केसी, केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका मेयर झबिलाल थापा, राजमो नेता शेरबहादुर बिसी, नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकालसँगै राजमोसम्बद्ध जनवर्गीय सङ्गठनका नेताकार्यकर्ताको उपस्थिति रहनेछ ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति दिनका लागि रक्तिमका महासचिव हेमराज आश्रमको नेतृत्वमा केन्द्रीय टोलीको तयारी चलिरहेको पनि अध्यक्ष केसीले जानकारी गराउनुभयो ।
रक्तिमको प्रस्तुतिका लागि रक्तिमका केन्द्रीय सचिव सहबिन अर्गेजा, रक्तिमकी नेतृ रिता पुनलगायतको टोली अर्घाखाँची पुगिसकेको पनि बताइएको छ ।
कार्यक्रम सोमबार दिउँसो १२ बजेतिर सुरु गर्ने योजना रहेको आयोजकले जानकारी दिएको छ ।
राजनीतिक आन्दोलनको रूपमा सुरु भएको थियो सभा
मसाल वा राजमोले अर्घाको डाँडामा करिब २०३७ सालको सेरोफेरोबाट जनसभा गर्न थालेको जिल्ला अध्यक्ष केसीले युगदर्शनलाई बताउनुभयो ।
केसीका अनुसार रक्सी विरोधी आन्दोलनसँगै निरङ्कुश पञ्चायती व्यवस्था विरोधी आन्दोलनको रूपमा त्यहाँ जनसभा गर्ने प्रचलन सुरु भएको थियो ।
‘सम्भवत: २०३७ सालतिर सहिद टङ्क भुसालको नेतृत्वमा अर्घामा सभा सुरु भएकोजस्तो लाग्छ’ उहाँले भन्नुभयो– ‘एकातिर रक्सी विरोधी अभियान र अर्कोतर्फ निरङ्कुश पञ्चायती व्यवस्था विरोधी आन्दोलनको रूपमा जनसभा गर्न सुरु गरिएको थियो ।’
आफू बाल सङ्गठनमा रहँदा नै सो कार्यक्रममा उपस्थित हुने गरेको स्मरण गर्दै केसीले कोभिड–१९ को महामारी र जेनजी आन्दोलनको बेलामा बाहेक प्रत्येक वर्षमा अर्घामा सभा भइरहेको उहाँले जानकारी दिनुभयो ।
‘अर्घाको डाँडा अर्घाखाँचीसँगै प्युठान र गुल्मीको पनि सिमाना पर्ने भएकाले यहाँको आन्दोलनले यी तीन जिल्लालाई नै प्रभावित पार्ने गरेको छ’ केसीले युगदर्शनसित भन्नुभयो ।
अहिलेको कार्यक्रमको पनि भव्य तयारी भइरहेको बताउँदै उहाँले सम्भव भएसम्मका साथीहरूलाई सोमबार अर्घाको डाँडामा पुग्न सबैलाई आग्रह गर्नुभयो ।





