बामाको । मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा ५० जनासम्म सर्वसाधारण मारिएका छन् । आइतबार भएका आक्रमणमा मुख्यत: दौसहाक समुदायका बासिन्दालाई लक्षित गरिएको सुरक्षा अधिकारी तथा स्थानीय स्रोतले बताएका छन् ।
मोटरसाइकलमा आएका आक्रमणकारीले टिनाबो गाउँ र तगादायत क्षेत्रका शिविरमा गोली चलाउनुका साथै घरमा आगो लगाएका थिए ।
दौसहाक समुदायको कार्यकारी ब्युरोले हत्यामा इस्लामिक स्टेट समूह संलग्न रहेको आरोप लगाएको छ । ब्युरोका अनुसार तगादायतमा ४८ जना सर्वसाधारण मारिएका छन् ।
एक सुरक्षा स्रोतका अनुसार हालै गरिएको सैन्य कारबाही र अजवादको उद्धारका लागि सशस्त्र आन्दोलन (एमएसए) ले गरेको आक्रमणको बदलास्वरूप हिंसा भएको हो । दौसहाक समुदायबाटै उदाएको एमएसए मालीको सत्तारूढ सरकारसँग सम्बन्धित छ ।
एक स्थानीय अधिकारीले महिला र वृद्धसहित ५० भन्दा बढीको मृत्यु भएको बताए । आक्रमणबाट विस्थापित भएका मानिस मेनाका पुगेका छन् । दौसहाक समुदायको कार्यकारी ब्युरोले घटनालाई नरसंहार भन्दै निन्दा गरेको छ र विस्थापितका लागि तत्काल मानवीय सहायता उपलब्ध गराउन अपिल गरेको छ । (रासस/एएफपी)





