तौलिहवा । कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुरस्थित श्री शिवराज कृषिसहकारी संस्थाको एघारौँ साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष केरसिंह अदैको अध्यक्षतामा २०८३ असोज २२ गते बिहीबार खरेन्द्रपुरमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सभाको प्रमुख अतिथि शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा हुनुहुन्थ्यो । उहाँले गमलामा पानी हालेर साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले शिक्षा र स्वास्थ्यमा शिवराज नगरपालिकाले धेरै सहुलियत दिएको बताउनुभयो ।
विशिष्ट अतिथि शिवराज नगरपालिका–३ का वडाअध्यक्ष टेकलाल सापकोटाले संस्थाको प्रगतिको चर्चा गर्दै यस संस्थाले गरिब र मध्यम वर्गका किसानलाई बचत गर्ने बानी बसालेको, बिउबिजन, मलखादको व्यवस्थापन, रेमिट्यान्सलगायतका सेवाका साथै सामजिक काम गरेको बताउनुभयो ।
साधारणसभामा संस्थाका अध्यक्ष अदैले आव २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको सेयर पुँजी सात लाख ४४ हजार रुपियाँ, बचत ७२ लाख ५१ हजार आठ सय ८३ रुपैया रहेको, संस्थामा तीन लाख १२ हजार एक सय ९५ रुपियाँ बराबरको बिउबिजन कारोबार भएको, १४ लाख ८२ हजार नौ सय ४० बराबरको मलखाद कारोबार भएको र ६० लाख ६९ हजार दुई सय रुपियाँ बराबरको ऋण कारोबार गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै आगामी वर्षका लागि छ लाख रुपियाँ बराबरको बिउबिजन कारोबार, १५ लाख रुपियाँ बराबरको मलखाद कारोबार, ८० लाख रुपियाँ बराबरको पशुपालन कृषिऋण कारोबार गर्ने उद्देश्य राखिएको बताइएको छ ।
संस्थाले यस वर्ष सहकारीको परिमार्जित नियमानुसार नियम बनाउने, लागु गर्ने, सहकारी सदस्यको कार्ड बनाउने, मलखाद कार्ड किसानलाई दिने, महिला सेयर सदस्यलाई उद्यम तालिम गराउने, रसुवाबाढीपीडितलाई १० हजार दुई सय ५० रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नेलगायतका निर्णय साधारणसभाले गरेको छ ।
सभामा वार्षिक आयव्यय संस्थाका कोषाध्यक्ष रामबहादुर चमारले प्रस्तुत गर्नु भएको थियो ।
साधारणसभाको सञ्चालन टिना अदैले र स्वागत मन्तव्य संस्थाकी सचिव टिकमाया भण्डारीले गर्नुभएको थियो ।
