भीमदत्तनगर । राष्ट्रिय जनमोर्चा कञ्चनपुरका नेता जयबहादुर मल्लको निधन भएको छ।
२०८३ असोज १९ गते राति भारतको बरेलीस्थित राममूर्ति अस्पतालमा उहाँको निधन भएको हो ।पारिवारिक स्रोतका
अनुसार मल्लको हृदयघातका कारण निधन भएको हो ।
यसअघि पनि उहाँलाई एकपटक हृदयघात भइसकेको बताइएको छ । पछिल्लो समय अन्य कुनै स्वास्थ्य समस्या नरहे पनि उहाँमा मुटुसम्बन्धी समस्या रहेको परिवारको भनाइ छ।
मल्ल कञ्चनपुरको बेदकोट नगरपालिका–१० नयाँगाउँमा बस्दै आउनुभएको थियो।
उहाँ भारतको प्रवासी नेपाली आन्दोलनमा समेत लामो समयसम्म सक्रिय रहिसक्नुभएको छ । भारतको चेन्नई, मुम्बईलगायत विभिन्न स्थानमा रहँदै उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कोषाध्यक्षका रूपमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो।
पछिल्लो समय कञ्चनपुर फर्किएर राजनीतिमा सक्रिय मल्ल अहिले राजमो कञ्चनपुरका सल्लाहकार हुनुहुन्थ्यो । यसअघि उहाँ राजमो कञ्चनपुरको जिल्ला अध्यक्ष रहिसक्नुभएको तथा पछिल्लो समयमा राजमो सुदूरपश्चिम प्रदेश समितिको सल्लाहकारका रूपमा पनि कार्यरत रहेको राजमो कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो ।
मल्लको परिवारमा श्रीमती र दुई छोराहरू रहेका छन्।
उहाँको आजै असोज २० गते कञ्चनपुरकै भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीकिनार भुजेलाघाटमा दाहसंस्कार गरिने भएको छ ।दाहसंस्कारमा राजमो केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टलगायत राजमोका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहने राजमो कञ्चनपुरले जनाएको छ।