काठमाडौं, ४ अक्टोबर । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सानातिना विषयमा अल्झिनुभन्दा नीति, नियम र अनुशासनलाई पालना गर्दै संगठनलाई एकताबद्ध र सुदृढ बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठकलाई सम्बोधन गर्दै पौडेलले संगठनमा आबद्ध सबै एकमना र एकजुट भएर अघि बढ्न सके मात्र चुनौतीहरूको सामना गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
उहाँले एकता नै संगठनको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै एकताबद्ध संगठनले विभिन्न प्रकारका चुनौती तथा अवरोधलाई सामना गर्न सक्ने बताउनुभयो। आन्दोलन र संघर्षका क्रममा संगठनात्मक एकता, अनुशासन र स्पष्ट नीतिको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।
पौडेलले संगठनभित्र सानातिना विषयमा विवाद वा मतभेदमा अल्झिनुभन्दा निर्धारित नीति, नियम र अनुशासनलाई आत्मसात् गर्दै सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो।
उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक भव्य र शानदार रूपमा सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो सम्बोधन टुङ्ग्याउनुभएको थियो।
