हैदरावाद, अक्टोबर ४ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा हैदरावादमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कम्युनिस्ट कार्यकर्ताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र जनताप्रति समर्पित हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रशिक्षणका क्रममा सिंहले मानिसको ज्ञान, चेतना र क्षमताको विकास उसको व्यक्तिगत प्रयासबाट मात्र नभई समाजको विकास र सामाजिक परिवेशबाट हुने बताउनुभयो । मानिस प्रारम्भमा बोल्न र विचार गर्नसमेत सक्षम नभए पनि समाजमा बस्दै उत्पादनका कार्यमा सहभागी हुँदै जाँदा उसको भाषा, विचार र चेतनाको विकास भएको उहाँको भनाइ थियो ।
नेपालका पहाडी तथा दुर्गम क्षेत्रबाट भारत आएका नेपालीका नयाँ पुस्ताले यहाँका विकसित शैक्षिक तथा सामाजिक वातावरणबाट शिक्षा प्राप्त गरी पुरानो पुस्ताको तुलनामा आफ्नो क्षमता र चेतनामा उल्लेखनीय विकास गरेको उदाहरण प्रस्तुत गर्दै सिंहले व्यक्तिको विकासमा समाजको निर्णायक भूमिका हुने बताउनुभयो ।
उहाँले विकसित समाजमा हुर्कने बालबालिकाको ज्ञान, चेतना र क्षमता पनि तुलनात्मक रूपमा विकसित हुने उल्लेख गर्दै बेलायत, फ्रान्स, अमेरिका र रुसजस्ता विकसित मुलुकको उदाहरण दिनुभयो । “व्यक्तिको सफलता उसको व्यक्तिगत क्षमताको मात्र परिणाम हो” भन्ने सोच गलत भएको उहाँले स्पष्ट पार्नुभयो ।
सिंहले व्यक्तिगत सफलता र उपलब्धिको पछाडि समाजको योगदानलाई बिर्सिँदा मानिस व्यक्तिवादी बन्ने र अन्ततः समाजलाई नै हानि पुर्याउने बताउनुभयो । शिक्षित तथा उच्च पदमा पुगेका कतिपय व्यक्तिले आफ्नो क्षमता र पद समाजकै योगदानबाट प्राप्त भएको तथ्य बिर्सेर भ्रष्टाचार, अन्याय, शोषण र लुटपाटमा संलग्न हुने गरेको उहाँले उल्लेख गर्नुभयो।
इतिहासमा साम्राज्यवादी, सामन्तवादी तथा पुँजीवादी शक्तिहरूले समाजमाथि शोषण र लुटपाट गरेको चर्चा गर्दै उहाँले व्यक्तिगत स्वार्थका कारण समाजवादी आन्दोलनभित्र समेत गम्भीर समस्या उत्पन्न हुने गरेको बताउनुभयो । सोभियत संघको विघटनदेखि नेपालका विभिन्न राजनीतिक आन्दोलनमा देखिएका विचलनसम्मलाई उहाँले व्यक्तिगत स्वार्थसँग जोडेर व्याख्या गर्नुभयो ।
व्यक्तिगत स्वार्थले कार्यकर्तालाई पार्टीको नीति, बैठक, अनुशासन र आन्दोलनबाट विमुख गराउने उल्लेख गर्दै सिंहले परिवार, व्यापार–व्यवसाय तथा सामाजिक जीवनमा देखिने विवाद, कालोबजारी, तस्करी र नक्कली औषधिको कारोबारजस्ता विकृतिको मूल कारण पनि स्वार्थवादी प्रवृत्ति भएको बताउनुभयो ।
मानिसको विचार र चेतनाले उसको व्यवहार निर्धारण गर्ने बताउँदै सिंहले बाल्यकालदेखि नै समाज, धर्म, सामन्तवादी संस्कार र पुँजीवादी व्यवस्थाबाट मानिसको मस्तिष्कमा विभिन्न गलत विचारहरू प्रवेश गर्ने भएकाले त्यसलाई निरन्तर अध्ययन र वैचारिक अभ्यासबाट हटाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले मस्तिष्कमा जमेको गलत विचारलाई कपडाको धुलो हटाएजस्तै सफा गर्नुपर्ने बताउँदै दर्शन, सही विचार, चेतना र मार्क्सवादी सिद्धान्तको अध्ययन तथा व्यवहारमा कार्यान्वयन कम्युनिस्ट कार्यकर्ताका लागि आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
कम्युनिस्ट बन्न व्यक्तिगत लाभ वा पैसाको लोभ नभई सही विचार, दृष्टिकोण र दार्शनिक चेतनाले प्रेरित हुनुपर्ने उल्लेख गर्दै सिंहले विचार र चेतना जति शुद्ध र उच्च हुँदै जान्छ, कार्यकर्ता त्यति नै निष्ठावान्, इमानदार र समाजप्रति समर्पित बन्ने बताउनुभयो । सिंहले कार्यकर्ताहरूलाई निरन्तर अध्ययन, आत्मसमीक्षा र वैचारिक शुद्धीकरणमार्फत आन्दोलनप्रति प्रतिबद्ध रहनसमेत आग्रह गर्नुभयो ।
