भालुबाङ, असोज १ । शितगंगा नगरपालिका–८, सातमारा, अर्घाखाँचीमा त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि., तुलसीपुर दाङद्वारा निर्मित विश्वकर्मा बाबाको मन्दिर एक भव्य समारोहबीच आज समुद्घाटन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं शितगंगा नगरपालिका–८ का वडाध्यक्ष रुकेश आले मगरले मन्दिरको उद्घाटन गर्नुभएको हो।
उद्घाटन मन्तव्य व्यक्त गर्दै वडाध्यक्ष आले मगरले हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको विश्वकर्मा बाबाको मन्दिर निर्माण गरेर त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि., तुलसीपुरले शितगंगाको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा एउटा इँटा थप्ने काम गरेको बताउनुभयो। उहाँले मन्दिरको संरक्षण, सरसफाइलगायतका विषयमा भक्तजन तथा स्थानीयवासीको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।
कार्यक्रमको अध्यक्षताको आसनबाट बोल्दै त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि.का अध्यक्ष सुरेश हमालले आफ्नो कार्यकालमा यस मन्दिरसहित १३ वटा मन्दिर निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो।
उहाँले यातायात क्षेत्रमा धार्मिक आस्थाका माध्यमबाट पनि दुर्घटना न्यूनीकरणमा ठूलो टेवा पुग्ने बताउँदै यस्ता पुण्य कार्य गर्न पाउँदा आफू तथा सिंगो यातायात सेवा प्रा.लि. परिवार गौरवान्वित भएको बताउनुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण भालुबाङका नायब उपरीक्षक ईश्वर डीसी, इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गोपाल न्यौपाने, पत्रकार ओमप्रकाश गुप्ता, जलुके सहकारीका अध्यक्ष विष्णु विक, पत्रकार दिपसागर भण्डारी, यातायात व्यवसायी राजेन्द्र थापा, रिपोर्टर्स क्लब तुलसीपुर दाङका अध्यक्ष शरद रेग्मी, प्रबन्ध निर्देशक पुष्कर धिताललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा ऋषि रावतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन नारायण न्यौपानेले गर्नुभएको थियो।

