डोटी, १ असोज । डोटीमा स्थानीय मौलिक संस्कृति र परम्परासँग जोडिएको ‘बुढी पोल्ने’ पर्व आज विभिन्न स्थानमा मनाइँदैछ । सुदूरपश्चिमका पहाडी जिल्लाका केही समुदायमा समेत प्रचलित यो पर्व स्थानीय सामाजिक तथा सांस्कृतिक अभ्यासका रूपमा पुस्तौँदेखि मनाइँदै आएको छ ।
स्थानीय जनविश्वासअनुसार यो पर्व भगवान् श्रीकृष्ण र पौराणिक कथामा वर्णित पुतनासँग सम्बन्धित छ । पुतनाको अन्त्यपछि सत्यको विजयको स्मरणमा यो परम्परा सुरु भएको मान्यता स्थानीय समुदायमा रहेको छ । यद्यपि पर्वसँग जोडिएका कथा, विश्वास र मनाउने विधिमा ठाउँअनुसार विविधता पाइन्छ ।
भाद्र सङ्क्रान्तिदेखि सङ्कलन गरिएका काठ, हाँगा, झ्याङ तथा बाबियोलगायत सामग्री प्रयोग गरी ‘बुढी’ को प्रतीक बनाउने गरिन्छ । असोज १ गते साँझ उक्त प्रतीकलाई सामूहिक रूपमा जलाउने र त्यसपछि काँक्रो खाने तथा लुतो फाल्ने परम्परा केही समुदायमा रहेको छ ।
ठूलाकेदार धामका मुख्य पुजारी सिद्धराज बिराडीका अनुसार स्थानीय परम्परामा पुतनाको प्रतीक तयार गरी सिँगारिएको सामग्रीलाई बिहान गोठबाट निकालेर दिनभर घाममा सुकाइन्छ । साँझ त्यसलाई दोबाटोमा लगेर सामूहिक रूपमा जलाउने चलन रहेको उनले बताए ।
यस पर्वसँग जोडिएका कतिपय मान्यता पशुचौपायाको स्वास्थ्य तथा घरपरिवारको सुख–समृद्धिसँग पनि सम्बन्धित छन्। यस्ता मान्यताहरूलाई स्थानीय सांस्कृतिक विश्वासका रूपमा ग्रहण गर्दै समुदायले पर्वलाई सामाजिक भेटघाट, सामूहिक सहभागिता र सांस्कृतिक निरन्तरताको अवसरका रूपमा समेत लिने गरेका छन् ।
आधुनिक जीवनशैली, बसाइँसराइ र सामाजिक परिवर्तनसँगै परम्परागत संस्कृतिका अभ्यासमा परिवर्तन आइरहेको छ । यस्तो अवस्थामा स्थानीय समुदायको सहभागिता, दस्तावेजीकरण र नयाँ पुस्ताको सक्रिय संलग्नतामार्फत सांस्कृतिक परम्पराको संरक्षण र पुस्तान्तरण गर्नुपर्नेमा सरोकारवालाले xभागिता आवश्यक रहेको बताए । उनका अनुसार परम्परालाई समयअनुकूल रूपमा बुझ्दै यसको सांस्कृतिक पक्षलाई नयाँ पुस्तासम्म पुर्याउन समुदाय, स्थानीय तह र सांस्कृतिक अभियन्ताबीच सहकार्य आवश्यक छ ।

