• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

दाङबाङ : पहिचान, भूगोल र सम्भावना


  •   सोमबार, भदौ २९, २०८३ मा प्रकाशित
  • गणेश आचार्य ##

    Advertisement

    प्युठान जिल्लाको दक्षिणी भेगमा अवस्थित साबिक दाङबाङ गाबिस र हालको ऐरावती गाउँपालिका वडा नम्बर १ केवल एउटा साधारण प्रशासनिक भूगोल वा नक्साको रेखा मात्र होइन, यो त महाभारत पहाडी शृङ्खलाको दक्षिण–पश्चिमी काखमा कोरिएको एउटा जीवन्त इतिहास, विविध मानव सभ्यताको सङ्गम र प्रकृति एवम् संस्कृतिको ऐतिहासिक भूमि हो ।

    दक्षिणतिर दाङको विशाल उपत्यका र भित्री मधेसको सुगन्ध बोकेर उभिएको यो भूभाग उत्तर र पश्चिमतिर प्युठानका हरियाली पहाड तथा पूर्व र दक्षिणतर्फ अर्घाखाँचीसित झिम्रुक नदीले सीमा छुट्याएको छ । यहाँका भिराला पाखा, समथर चौर, पुराना कोटडाँडा र कलकल बग्ने खोलानालाले आफ्नै गर्भमा शताब्दीऔँ पुराना कथा र व्यथा साँचिरहेका छन् । यसै गाविसका पूर्व अध्यक्ष रमेश थापालाई श्रद्धाञ्जली दिन पुग्दा मनमा उठेका कुरालाइ लिपिबद्ध गर्ने कोसिस गरेको छु । तथ्यमा मेल खान सकेन भने सुरुमै क्षमाप्रार्थी छु ।

    यस क्षेत्रको नामकरण कसरी दाङबाङ रहन गयो भन्ने विषय पछाडि दुईटा अत्यन्तै बलिया ऐतिहासिक, भाषिक र सामाजिक आधार रहेका छन् । मगरढुट र खाम भाषामा ‘बाङ’ शब्दको स्पष्ट अर्थ खुल्ला चौर, समथर पाटन वा बसोबासयोग्य टार भन्ने हुन्छ । प्युठान र रोल्पाका उच्च पहाडी क्षेत्रबाट दाङ उपत्यकातर्फ हेर्दा वा दाङको खोरियाबाट उकालो चढ्दा डाँडाको शिरमा भेटिने पहिलो समतल र सुन्दर पाटन यही भूगोल थियो । दाङ उपत्यकासँग प्रत्यक्ष जोडिएको वा दाङतिर फर्केको पाटन भएकाले मगर भाषाको ‘दाङ’ र ‘बाङ’ मिलेर यस क्षेत्रको नाम दाङबाङ रहन गएको हो भन्ने एकाथरिको तर्क छ । अर्कोतिर प्राचीन कालमा भित्री मधेस (दाङ) र मध्यपहाडी क्षेत्र (अर्घाखाँची, प्युठान, रोल्पा, गुल्मी) बिच नुन, तोरी, अन्न र कपडाको व्यापारिक आदानप्रदान गर्दा यो क्षेत्र प्रमुख विश्रामस्थल थियो । ‘दाङ ओहोरदोहोर गर्दा बास बस्ने बाङ’ भन्दाभन्दै स्थानीय बोलीचालीमा यो ठाउँ दाङबाङका रूपमा स्थापित भयो ।

    दाङबाङको मानव बस्तीको इतिहास हेर्दा यो विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिको ऐतिहासिक सङ्गमस्थलका रूपमा विकसित भएको पाइन्छ । यस क्षेत्रका प्रथम भूमिपुत्रका रूपमा मगर समुदायलाई लिइन्छ । उत्तरी प्युठान र रोल्पाका पहाडी भञ्ज्याङबाट नयाँ खोरिया फाँड्ने, पशुपालन (भेडाबाख्रा र गाईभैँसी) गर्ने र खानी खन्ने क्रममा मगर सर्वप्रथम दाङबाङका डाँडामा आइपुगेका थिए । उनीहरूले जङ्गल सफा गरी पहिलोपटक यहाँ स्थायी कृषि र पशुपालनको जग बसाले । त्यसपछि चौधौँदेखि अठारौँ शताब्दीको मध्यकालीन चौबिसी राज्यकाल र नेपाल एकीकरणको अभियानका क्रममा पश्चिमका जुम्ला, डोटी, दैलेख, सल्यान तथा छिमेकी अर्घाखाँची र गुल्मी क्षेत्रबाट खसआर्य (बाहुन र क्षेत्री) समुदायका पुर्खाहरू यहाँ प्रवेश गरे । खेतीयोग्य जमिनको खोजी, सुरक्षित बसोबास र प्रशासनिक उत्तरदायित्व सम्हाल्ने क्रममा उनीहरू यहाँ भित्रिएका थिए । उनीहरूसँगै समाजका आधारभूत आवश्यकता; जस्तै : कृषि औजार निर्माण, लुगासिलाइ र सांस्कृतिक बाजागाजा व्यवस्थापनका लागि शिल्पी तथा दलित समुदायका पुर्खा पनि सहयोगीका रूपमा यस क्षेत्रमा भित्रिए । यसरी विभिन्न कालखण्डमा छुट्टाछुट्टै दिशाबाट आएका समुदायले एकापसमा भाइचारा र सामाजिक सद्भाव कायम गर्दै दाङबाङको बहुसांस्कृतिक समाजको जग हालेका थिए ।

    सामाजिक संरचनाको विकासक्रममा यहाँ बसोबास गर्ने प्रत्येक समुदायले आफ्ना मौलिक परम्परा, रीतिरिवाज र सांस्कृतिक पहिचानलाई जोगाउँदै ल्याएका छन् । खसआर्य र मगर समुदायबिचको सांस्कृतिक आदानप्रदानले यहाँको समाजलाई झन् मजबुत बनाएको छ । गाउँमा हुने कुलो खन्ने, बाटो बनाउने, रोपाइँ गर्ने र घर छाउनेजस्ता सामूहिक काममा परिमो र श्रमदानको परम्परा प्राचीन कालदेखि नै चल्दै आएको छ । सुखदु:खमा एकार्कालाई सहयोग गर्ने यो अद्भूत सामाजिक एकता नै दाङबाङको मुख्य सामथ्र्य हो । विभिन्न गोत्र र वंशका मानिस यहाँ आइबसे पनि उनीहरूका बिचमा विकसित भएको आत्मीयताले गर्दा दाङबाङ एउटा साझा चौतारीका रूपमा स्थापित हुन पुग्यो ।

    धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले यो भूभाग अत्यन्तै समृद्ध छ । ऐरावती गाउँपालिकाकै नामकरण जसको नामबाट भयो, त्यो अति पवित्र ऐरावती धाम (माण्डवी र झिमरुक नदीको सङ्गमस्थल) यसै क्षेत्रको सामीप्यमा रहेको छ । पौराणिक मान्यताअनुसार देवराज इन्द्रको बाहन ऐरावत हात्तीले यसै पवित्र दोभानमा जलपान गरेको र तपस्या गरेको धार्मिक किंवदन्ती छ । माघेसङ्क्रान्तिका अवसरमा यहाँ लाग्ने भव्य मेलाले समग्र प्युठान, दाङ र अर्घाखाँचीका श्रद्धालुलाई एउटै सूत्रमा बाँध्ने काम गर्छ । धार्मिक विश्वासअनुसार यस सङ्गममा स्नान गर्नाले पाप पखालिने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहँदै आएको छ ।

    दाङबाङको सबैभन्दा महत्त्वपूर्ण र ऐतिहासिक ठाउँ कुटिलेक पनि हो । त्यो अग्लो भूभागमा इनार रहेको छ । त्यो आफै रहस्यको केन्द्रमा रहेको छ । केही वर्ष अगाडिसम्म त्यहाँ बनेका कुटी वा जोगी तथा राजारजौटाका वासस्थान बनेका भग्नावशेष पनि थिए । अहिले ती माटो वा केही ढुङ्गाको थुम्कोको रूपमा सीमित छन । त्यो ठाउँको बारेमा विभिन्न जनश्रुति र जनविश्वास रहेका छन् । त्यो मध्यस्वर्गद्वारी महाप्रभुभन्दा पनि पहिला सिद्धजोगीहरू बसोबास गरेको र स्वर्गद्वारी महाप्रभु अग्ला लेक खोज्दै आउँदा सिद्धजोगी बसेको ठाउँमा ध्यान बस्ने र त्यो समतल भूभागको तलपट्टि गाइग्वालासित डुल्न गरेको भन्ने गरिन्छ । त्यहीँबाट ज्ञान लिएर सिद्धजोगीको सल्लाहमा आफ्नो जन्मस्थलको नजिक स्वर्गद्वारीमा महायज्ञ गरेको भन्ने जनविश्वास पनि रहेको छ तर यो कुरा अहिले पनि ओझेलमा परेको छ ।

    यसबाहेक दाङबाङका पुराना कोट मध्यकालीन सुरक्षा संरचनाका प्रतीक हुन् । चौबिसी राजाका पालामा यहाँ बनाइएका कोटमा बडादशैँमा बलिसहित विशेष पूजाअर्चना गर्ने परम्परा आजसम्म पनि उत्तिकै निष्ठाका साथ कायम छ । बडादशैँको एकादशी र द्वादशीका दिन हातमा खुकुरी, तरबार र लाठी नचाएर खेलिने परम्परागत सराय नाच यहाँको ऐतिहासिक सांस्कृतिक पहिचान हो । यो नाच केवल मनोरञ्जन मात्र नभई मध्यकालीन युद्धकला, वीरता र एकताको जीवन्त प्रतीक हो । स्थानीय मगर र किसान समुदायले प्रकृति पूजाका रूपमा गर्दै आएको भूमेपूजा र सिद्धबाबाको आराधनाले यहाँको भूमिप्रतिको अगाध श्रद्धा र वातावरण संरक्षणको प्राचीन सोचलाई उजागर गर्छ ।

    दाङबाङमा विद्यमान विविध सांस्कृतिक झाँकीमध्ये सोरठी, मारुनी र घाँटुनाचको पनि आफ्नै ऐतिहासिक एवम् भावनात्मक महत्त्व छ । विशेषगरी तिहार तथा मङ्सिरको समयमा मगर समुदायका अगुवाले पुरानो कथामा आधारित सोरठी गाउने र मारुनी नचाउने परम्पराले प्राचीन लोकसाहित्यलाई जोगाएर राखेको छ ।

    शिक्षाको विकासक्रमलाई नियाँल्दा दाङबाङले एउटा लामो र सङ्घर्षपूर्ण यात्रा तय गरेको छ । २००० सालभन्दा पहिले यहाँ कुनै पनि औपचारिक विद्यालयको अस्तित्व थिएन । स्थानीय पण्डित वा जानेबुझेका अघुवाका घरका आँगन, पाटीपौवा वा थानमा बालबालिकालाई अक्षरारम्भ गराउने, चण्डीरुद्री घोकाउने र साधारण नामावलीहिसाब सिकाउने गर्दथे । त्यस समयमा अक्षर चिन्नु र साधारण हिसाबकिताब गर्न जान्नु नै ठुलो बौद्धिकता मानिन्थ्यो ।

    २००७ सालको प्रजातान्त्रिक परिवर्तनपछि मात्र यहाँ औपचारिक शिक्षाको चेतना फैलिन थाल्यो । स्थानीय शिक्षाप्रेमी, समाजसेवी र अग्रजको अथक प्रयास एवम् जनश्रमदानबाट काठ र माटोका साना छाप्रा बनाएर प्राथमिक शिक्षाको सुरुआत गरियो । आफ्ना बालबालिकाले अक्षर चिन्नुपर्छ र समाजको चेतनास्तर उकासिनुपर्छ भन्ने हुटहुटीका साथ स्थानीयवासीले आफैँ काठ काटेर, ढुङ्गा बोकेर र खरको छाना हालेर पहिलो विद्यालय भवन उभ्याएका थिए । पछि तिनै प्राथमिक शिक्षालय स्तरोन्नति हुँदै दाङबाङ माध्यमिक विद्यालयका रूपमा रूपान्तरित भयो । यस विद्यालयले समग्र दाङबाङ र आसपासका क्षेत्रमा शैक्षिक क्रान्ति ल्याउन केन्द्रीय भूमिका निर्वाह गर्‍यो । आज यस वडाका घरघरमा शिक्षित युवा छन् र यहाँबाट पढेर निस्किएका प्रतिभाहरू राष्ट्रिय निजामती सेवा, शिक्षण, प्राविधिक क्षेत्र र वैदेशिक रोजगारीका माध्यमबाट विश्वका विभिन्न कुनामा आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् ।

    आर्थिक र सामाजिक जीवनको आधुनिक पाटोलाई हेर्दा दाङबाङ परम्परागत निर्वाहमुखी कृषिबाट विस्तारै व्यावसायीकरण र आधुनिकतातर्फ उन्मुख भइरहेको छ । यहाँको भौगोलिक बनावट र हावापानी कृषि तथा पशुपालनका लागि निकै अनुकूल छ । मकै, तोरी, कोदो, अदुवा, बेसार र अमिलो जातका फलफूल खेतीका लागि यहाँको माटो अति उत्तम मानिन्छ । विगतमा केवल आफ्नै उपभोगका लागि गरिने खेतीपाती अहिले विस्तारै बजारमुखी बन्न थालेको छ । स्थानीय किसानले अदुवा र बेसारको व्यावसायिक उत्पादन गरी बाह्य बजारमा पठाउन थालेका छन् ।

    पछिल्लो दुई दशकमा वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सले यहाँको सामाजिक–आर्थिक स्तरमा ठुलो परिवर्तन ल्याएको छ । युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक, मलेसिया तथा भारतका विभिन्न सहरमा गएपछि गाउँमा नगद प्रवाह बढेको छ । पुराना फुसका छाना भएका कच्ची घरको ठाउँमा आधुनिक पक्की भवन निर्माण भइरहेका छन् । बालबालिकाको शिक्षा र स्वास्थ्यमा हुने खर्चको दायरा फराकिलो भएको छ । भालुवाङ–बिजुवार रणनीतिक सडक सञ्जाल र ग्रामीण पहुँचमार्गले दाङबाङलाई सडक यातायातसँग जोडेपछि व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि भएको छ । गाउँमै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति हुन थालेको छ भने स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सजिलो भएको छ ।

    भौगोलिक दृष्टिले दाङबाङ उच्च पहाडी क्षेत्र र भित्री मधेसको सङ्गममा रहेकाले यहाँको वातावरण जैविक विविधताले भरिपूर्ण छ । यहाँका जङ्गलमा विभिन्न जातका जडीबुटी, काठ र वन्यजन्तु पाइन्छन् । स्थानीय वन उपभोक्ता समूहको सक्रियतामा सामुदायिक वनको संरक्षण र व्यवस्थापन हुँदै आएको छ । यसले गर्दा वातावरण सन्तुलन कायम राख्न र स्थानीयवासीलाई दाउरा, घास तथा काठको पूर्ति गर्न ठुलो सहयोग पुगेको छ ।

    माण्डवी र झिमरुक नदीको पौराणिक आयामलाई हेर्दा झिमरुक नदीलाई धर्मवती र माण्डवी नदीलाई माण्डवी ऋषिको नामसँग जोडेर हेर्ने गरिन्छ । यी दुई पवित्र नदीको ऐरावतीमा हुने सङ्गमस्थल केवल एउटा नदी दोभान मात्र नभई प्राचीन ऋषिमुनिको तपस्याभूमि भनि विश्वास गरिन्छ । यस क्षेत्रका स्थानीय बुढापाकाका अनुसार पुराना दिनमा यस दोभाननजिकै साधना गर्ने साधुसन्त भेटिन्थे । माघेसङ्क्रान्तिको दिन यस सङ्गममा स्नान गरी धर्मकर्म गर्नाले पारिवारिक समृद्धि र सुखशान्ति मिल्ने विश्वासले गर्दा टाढाटाढाका जिल्लाबाट समेत यहाँ हजारौँ दर्शनार्थी आउने गर्दछन् ।

    भावी सम्भावनाका दृष्टिले ऐरावती वडा नम्बर १ दाङबाङ प्युठान जिल्लाकै एउटा सम्भावनायुक्त क्षेत्र हो । महाभारत शृङ्खलाका डाँडाबाट दक्षिणतिर दाङ उपत्यका र उत्तरतिर हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिने भएकाले यहाँ पर्यटकीय भ्यू प्वाइन्ट निर्माण गर्न सकिन्छ । स्थानीय खानपान, मगर संस्कृति र ऐतिहासिक सराय नाचलाई केन्द्रमा राखेर होमस्टे सञ्चालन गर्ने हो भने यसले स्थानीय रोजगारी सिर्जनामा ठुलो योगदान पुर्‍याउन सक्छ । ऐरावती धामको धार्मिक महत्त्वलाई प्रचारप्रसार गरी धार्मिक पर्यटकीय चक्र निर्माण गर्न सकिन्छ । कृषिक्षेत्रमा अदुवा, बेसार, कफी, केरा, कागती र बाख्रापालनलाई आधुनिक र व्यावसायिक रूप दिने हो भने ऐरावती–१ दाङबाङ प्युठान जिल्लाकै एउटा नमुना, समृद्ध र आत्मनिर्भर आर्थिक केन्द्र बन्ने पूर्ण क्षमता बोकेको भूभाग हो ।

    दाङबाङको समग्र इतिहास, यहाँका वासिन्दाको योगदान र अथक परिश्रम, सांस्कृतिक विरासत र भावी सम्भावनालाई एकत्रित गरेर हेर्दा यो ठाउँ प्युठान जिल्लाको इतिहासमा एउटा महत्त्वपूर्ण अध्याय हो । यहाँको माटोमा सभ्यताको सुवास छ; यहाँको संस्कृतिमा हाम्रा पुर्खाको मौलिकता छ र यहाँको समाजमा अनौठो विविधताबिचको एकता छ । तसर्थ दाङबाङको ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै आधुनिक विकासको मार्गमा लम्किनु आजको आवश्यकता र चुनौती दुवै हो ।

    सोमबार, भदौ २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.