गणेश आचार्य ##
प्युठान जिल्लाको दक्षिणी भेगमा अवस्थित साबिक दाङबाङ गाबिस र हालको ऐरावती गाउँपालिका वडा नम्बर १ केवल एउटा साधारण प्रशासनिक भूगोल वा नक्साको रेखा मात्र होइन, यो त महाभारत पहाडी शृङ्खलाको दक्षिण–पश्चिमी काखमा कोरिएको एउटा जीवन्त इतिहास, विविध मानव सभ्यताको सङ्गम र प्रकृति एवम् संस्कृतिको ऐतिहासिक भूमि हो ।
दक्षिणतिर दाङको विशाल उपत्यका र भित्री मधेसको सुगन्ध बोकेर उभिएको यो भूभाग उत्तर र पश्चिमतिर प्युठानका हरियाली पहाड तथा पूर्व र दक्षिणतर्फ अर्घाखाँचीसित झिम्रुक नदीले सीमा छुट्याएको छ । यहाँका भिराला पाखा, समथर चौर, पुराना कोटडाँडा र कलकल बग्ने खोलानालाले आफ्नै गर्भमा शताब्दीऔँ पुराना कथा र व्यथा साँचिरहेका छन् । यसै गाविसका पूर्व अध्यक्ष रमेश थापालाई श्रद्धाञ्जली दिन पुग्दा मनमा उठेका कुरालाइ लिपिबद्ध गर्ने कोसिस गरेको छु । तथ्यमा मेल खान सकेन भने सुरुमै क्षमाप्रार्थी छु ।
यस क्षेत्रको नामकरण कसरी दाङबाङ रहन गयो भन्ने विषय पछाडि दुईटा अत्यन्तै बलिया ऐतिहासिक, भाषिक र सामाजिक आधार रहेका छन् । मगरढुट र खाम भाषामा ‘बाङ’ शब्दको स्पष्ट अर्थ खुल्ला चौर, समथर पाटन वा बसोबासयोग्य टार भन्ने हुन्छ । प्युठान र रोल्पाका उच्च पहाडी क्षेत्रबाट दाङ उपत्यकातर्फ हेर्दा वा दाङको खोरियाबाट उकालो चढ्दा डाँडाको शिरमा भेटिने पहिलो समतल र सुन्दर पाटन यही भूगोल थियो । दाङ उपत्यकासँग प्रत्यक्ष जोडिएको वा दाङतिर फर्केको पाटन भएकाले मगर भाषाको ‘दाङ’ र ‘बाङ’ मिलेर यस क्षेत्रको नाम दाङबाङ रहन गएको हो भन्ने एकाथरिको तर्क छ । अर्कोतिर प्राचीन कालमा भित्री मधेस (दाङ) र मध्यपहाडी क्षेत्र (अर्घाखाँची, प्युठान, रोल्पा, गुल्मी) बिच नुन, तोरी, अन्न र कपडाको व्यापारिक आदानप्रदान गर्दा यो क्षेत्र प्रमुख विश्रामस्थल थियो । ‘दाङ ओहोरदोहोर गर्दा बास बस्ने बाङ’ भन्दाभन्दै स्थानीय बोलीचालीमा यो ठाउँ दाङबाङका रूपमा स्थापित भयो ।
दाङबाङको मानव बस्तीको इतिहास हेर्दा यो विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिको ऐतिहासिक सङ्गमस्थलका रूपमा विकसित भएको पाइन्छ । यस क्षेत्रका प्रथम भूमिपुत्रका रूपमा मगर समुदायलाई लिइन्छ । उत्तरी प्युठान र रोल्पाका पहाडी भञ्ज्याङबाट नयाँ खोरिया फाँड्ने, पशुपालन (भेडाबाख्रा र गाईभैँसी) गर्ने र खानी खन्ने क्रममा मगर सर्वप्रथम दाङबाङका डाँडामा आइपुगेका थिए । उनीहरूले जङ्गल सफा गरी पहिलोपटक यहाँ स्थायी कृषि र पशुपालनको जग बसाले । त्यसपछि चौधौँदेखि अठारौँ शताब्दीको मध्यकालीन चौबिसी राज्यकाल र नेपाल एकीकरणको अभियानका क्रममा पश्चिमका जुम्ला, डोटी, दैलेख, सल्यान तथा छिमेकी अर्घाखाँची र गुल्मी क्षेत्रबाट खसआर्य (बाहुन र क्षेत्री) समुदायका पुर्खाहरू यहाँ प्रवेश गरे । खेतीयोग्य जमिनको खोजी, सुरक्षित बसोबास र प्रशासनिक उत्तरदायित्व सम्हाल्ने क्रममा उनीहरू यहाँ भित्रिएका थिए । उनीहरूसँगै समाजका आधारभूत आवश्यकता; जस्तै : कृषि औजार निर्माण, लुगासिलाइ र सांस्कृतिक बाजागाजा व्यवस्थापनका लागि शिल्पी तथा दलित समुदायका पुर्खा पनि सहयोगीका रूपमा यस क्षेत्रमा भित्रिए । यसरी विभिन्न कालखण्डमा छुट्टाछुट्टै दिशाबाट आएका समुदायले एकापसमा भाइचारा र सामाजिक सद्भाव कायम गर्दै दाङबाङको बहुसांस्कृतिक समाजको जग हालेका थिए ।
सामाजिक संरचनाको विकासक्रममा यहाँ बसोबास गर्ने प्रत्येक समुदायले आफ्ना मौलिक परम्परा, रीतिरिवाज र सांस्कृतिक पहिचानलाई जोगाउँदै ल्याएका छन् । खसआर्य र मगर समुदायबिचको सांस्कृतिक आदानप्रदानले यहाँको समाजलाई झन् मजबुत बनाएको छ । गाउँमा हुने कुलो खन्ने, बाटो बनाउने, रोपाइँ गर्ने र घर छाउनेजस्ता सामूहिक काममा परिमो र श्रमदानको परम्परा प्राचीन कालदेखि नै चल्दै आएको छ । सुखदु:खमा एकार्कालाई सहयोग गर्ने यो अद्भूत सामाजिक एकता नै दाङबाङको मुख्य सामथ्र्य हो । विभिन्न गोत्र र वंशका मानिस यहाँ आइबसे पनि उनीहरूका बिचमा विकसित भएको आत्मीयताले गर्दा दाङबाङ एउटा साझा चौतारीका रूपमा स्थापित हुन पुग्यो ।
धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले यो भूभाग अत्यन्तै समृद्ध छ । ऐरावती गाउँपालिकाकै नामकरण जसको नामबाट भयो, त्यो अति पवित्र ऐरावती धाम (माण्डवी र झिमरुक नदीको सङ्गमस्थल) यसै क्षेत्रको सामीप्यमा रहेको छ । पौराणिक मान्यताअनुसार देवराज इन्द्रको बाहन ऐरावत हात्तीले यसै पवित्र दोभानमा जलपान गरेको र तपस्या गरेको धार्मिक किंवदन्ती छ । माघेसङ्क्रान्तिका अवसरमा यहाँ लाग्ने भव्य मेलाले समग्र प्युठान, दाङ र अर्घाखाँचीका श्रद्धालुलाई एउटै सूत्रमा बाँध्ने काम गर्छ । धार्मिक विश्वासअनुसार यस सङ्गममा स्नान गर्नाले पाप पखालिने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहँदै आएको छ ।
दाङबाङको सबैभन्दा महत्त्वपूर्ण र ऐतिहासिक ठाउँ कुटिलेक पनि हो । त्यो अग्लो भूभागमा इनार रहेको छ । त्यो आफै रहस्यको केन्द्रमा रहेको छ । केही वर्ष अगाडिसम्म त्यहाँ बनेका कुटी वा जोगी तथा राजारजौटाका वासस्थान बनेका भग्नावशेष पनि थिए । अहिले ती माटो वा केही ढुङ्गाको थुम्कोको रूपमा सीमित छन । त्यो ठाउँको बारेमा विभिन्न जनश्रुति र जनविश्वास रहेका छन् । त्यो मध्यस्वर्गद्वारी महाप्रभुभन्दा पनि पहिला सिद्धजोगीहरू बसोबास गरेको र स्वर्गद्वारी महाप्रभु अग्ला लेक खोज्दै आउँदा सिद्धजोगी बसेको ठाउँमा ध्यान बस्ने र त्यो समतल भूभागको तलपट्टि गाइग्वालासित डुल्न गरेको भन्ने गरिन्छ । त्यहीँबाट ज्ञान लिएर सिद्धजोगीको सल्लाहमा आफ्नो जन्मस्थलको नजिक स्वर्गद्वारीमा महायज्ञ गरेको भन्ने जनविश्वास पनि रहेको छ तर यो कुरा अहिले पनि ओझेलमा परेको छ ।
यसबाहेक दाङबाङका पुराना कोट मध्यकालीन सुरक्षा संरचनाका प्रतीक हुन् । चौबिसी राजाका पालामा यहाँ बनाइएका कोटमा बडादशैँमा बलिसहित विशेष पूजाअर्चना गर्ने परम्परा आजसम्म पनि उत्तिकै निष्ठाका साथ कायम छ । बडादशैँको एकादशी र द्वादशीका दिन हातमा खुकुरी, तरबार र लाठी नचाएर खेलिने परम्परागत सराय नाच यहाँको ऐतिहासिक सांस्कृतिक पहिचान हो । यो नाच केवल मनोरञ्जन मात्र नभई मध्यकालीन युद्धकला, वीरता र एकताको जीवन्त प्रतीक हो । स्थानीय मगर र किसान समुदायले प्रकृति पूजाका रूपमा गर्दै आएको भूमेपूजा र सिद्धबाबाको आराधनाले यहाँको भूमिप्रतिको अगाध श्रद्धा र वातावरण संरक्षणको प्राचीन सोचलाई उजागर गर्छ ।
दाङबाङमा विद्यमान विविध सांस्कृतिक झाँकीमध्ये सोरठी, मारुनी र घाँटुनाचको पनि आफ्नै ऐतिहासिक एवम् भावनात्मक महत्त्व छ । विशेषगरी तिहार तथा मङ्सिरको समयमा मगर समुदायका अगुवाले पुरानो कथामा आधारित सोरठी गाउने र मारुनी नचाउने परम्पराले प्राचीन लोकसाहित्यलाई जोगाएर राखेको छ ।
शिक्षाको विकासक्रमलाई नियाँल्दा दाङबाङले एउटा लामो र सङ्घर्षपूर्ण यात्रा तय गरेको छ । २००० सालभन्दा पहिले यहाँ कुनै पनि औपचारिक विद्यालयको अस्तित्व थिएन । स्थानीय पण्डित वा जानेबुझेका अघुवाका घरका आँगन, पाटीपौवा वा थानमा बालबालिकालाई अक्षरारम्भ गराउने, चण्डीरुद्री घोकाउने र साधारण नामावलीहिसाब सिकाउने गर्दथे । त्यस समयमा अक्षर चिन्नु र साधारण हिसाबकिताब गर्न जान्नु नै ठुलो बौद्धिकता मानिन्थ्यो ।
२००७ सालको प्रजातान्त्रिक परिवर्तनपछि मात्र यहाँ औपचारिक शिक्षाको चेतना फैलिन थाल्यो । स्थानीय शिक्षाप्रेमी, समाजसेवी र अग्रजको अथक प्रयास एवम् जनश्रमदानबाट काठ र माटोका साना छाप्रा बनाएर प्राथमिक शिक्षाको सुरुआत गरियो । आफ्ना बालबालिकाले अक्षर चिन्नुपर्छ र समाजको चेतनास्तर उकासिनुपर्छ भन्ने हुटहुटीका साथ स्थानीयवासीले आफैँ काठ काटेर, ढुङ्गा बोकेर र खरको छाना हालेर पहिलो विद्यालय भवन उभ्याएका थिए । पछि तिनै प्राथमिक शिक्षालय स्तरोन्नति हुँदै दाङबाङ माध्यमिक विद्यालयका रूपमा रूपान्तरित भयो । यस विद्यालयले समग्र दाङबाङ र आसपासका क्षेत्रमा शैक्षिक क्रान्ति ल्याउन केन्द्रीय भूमिका निर्वाह गर्यो । आज यस वडाका घरघरमा शिक्षित युवा छन् र यहाँबाट पढेर निस्किएका प्रतिभाहरू राष्ट्रिय निजामती सेवा, शिक्षण, प्राविधिक क्षेत्र र वैदेशिक रोजगारीका माध्यमबाट विश्वका विभिन्न कुनामा आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् ।
आर्थिक र सामाजिक जीवनको आधुनिक पाटोलाई हेर्दा दाङबाङ परम्परागत निर्वाहमुखी कृषिबाट विस्तारै व्यावसायीकरण र आधुनिकतातर्फ उन्मुख भइरहेको छ । यहाँको भौगोलिक बनावट र हावापानी कृषि तथा पशुपालनका लागि निकै अनुकूल छ । मकै, तोरी, कोदो, अदुवा, बेसार र अमिलो जातका फलफूल खेतीका लागि यहाँको माटो अति उत्तम मानिन्छ । विगतमा केवल आफ्नै उपभोगका लागि गरिने खेतीपाती अहिले विस्तारै बजारमुखी बन्न थालेको छ । स्थानीय किसानले अदुवा र बेसारको व्यावसायिक उत्पादन गरी बाह्य बजारमा पठाउन थालेका छन् ।
पछिल्लो दुई दशकमा वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सले यहाँको सामाजिक–आर्थिक स्तरमा ठुलो परिवर्तन ल्याएको छ । युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक, मलेसिया तथा भारतका विभिन्न सहरमा गएपछि गाउँमा नगद प्रवाह बढेको छ । पुराना फुसका छाना भएका कच्ची घरको ठाउँमा आधुनिक पक्की भवन निर्माण भइरहेका छन् । बालबालिकाको शिक्षा र स्वास्थ्यमा हुने खर्चको दायरा फराकिलो भएको छ । भालुवाङ–बिजुवार रणनीतिक सडक सञ्जाल र ग्रामीण पहुँचमार्गले दाङबाङलाई सडक यातायातसँग जोडेपछि व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि भएको छ । गाउँमै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति हुन थालेको छ भने स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सजिलो भएको छ ।
भौगोलिक दृष्टिले दाङबाङ उच्च पहाडी क्षेत्र र भित्री मधेसको सङ्गममा रहेकाले यहाँको वातावरण जैविक विविधताले भरिपूर्ण छ । यहाँका जङ्गलमा विभिन्न जातका जडीबुटी, काठ र वन्यजन्तु पाइन्छन् । स्थानीय वन उपभोक्ता समूहको सक्रियतामा सामुदायिक वनको संरक्षण र व्यवस्थापन हुँदै आएको छ । यसले गर्दा वातावरण सन्तुलन कायम राख्न र स्थानीयवासीलाई दाउरा, घास तथा काठको पूर्ति गर्न ठुलो सहयोग पुगेको छ ।
माण्डवी र झिमरुक नदीको पौराणिक आयामलाई हेर्दा झिमरुक नदीलाई धर्मवती र माण्डवी नदीलाई माण्डवी ऋषिको नामसँग जोडेर हेर्ने गरिन्छ । यी दुई पवित्र नदीको ऐरावतीमा हुने सङ्गमस्थल केवल एउटा नदी दोभान मात्र नभई प्राचीन ऋषिमुनिको तपस्याभूमि भनि विश्वास गरिन्छ । यस क्षेत्रका स्थानीय बुढापाकाका अनुसार पुराना दिनमा यस दोभाननजिकै साधना गर्ने साधुसन्त भेटिन्थे । माघेसङ्क्रान्तिको दिन यस सङ्गममा स्नान गरी धर्मकर्म गर्नाले पारिवारिक समृद्धि र सुखशान्ति मिल्ने विश्वासले गर्दा टाढाटाढाका जिल्लाबाट समेत यहाँ हजारौँ दर्शनार्थी आउने गर्दछन् ।
भावी सम्भावनाका दृष्टिले ऐरावती वडा नम्बर १ दाङबाङ प्युठान जिल्लाकै एउटा सम्भावनायुक्त क्षेत्र हो । महाभारत शृङ्खलाका डाँडाबाट दक्षिणतिर दाङ उपत्यका र उत्तरतिर हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिने भएकाले यहाँ पर्यटकीय भ्यू प्वाइन्ट निर्माण गर्न सकिन्छ । स्थानीय खानपान, मगर संस्कृति र ऐतिहासिक सराय नाचलाई केन्द्रमा राखेर होमस्टे सञ्चालन गर्ने हो भने यसले स्थानीय रोजगारी सिर्जनामा ठुलो योगदान पुर्याउन सक्छ । ऐरावती धामको धार्मिक महत्त्वलाई प्रचारप्रसार गरी धार्मिक पर्यटकीय चक्र निर्माण गर्न सकिन्छ । कृषिक्षेत्रमा अदुवा, बेसार, कफी, केरा, कागती र बाख्रापालनलाई आधुनिक र व्यावसायिक रूप दिने हो भने ऐरावती–१ दाङबाङ प्युठान जिल्लाकै एउटा नमुना, समृद्ध र आत्मनिर्भर आर्थिक केन्द्र बन्ने पूर्ण क्षमता बोकेको भूभाग हो ।
दाङबाङको समग्र इतिहास, यहाँका वासिन्दाको योगदान र अथक परिश्रम, सांस्कृतिक विरासत र भावी सम्भावनालाई एकत्रित गरेर हेर्दा यो ठाउँ प्युठान जिल्लाको इतिहासमा एउटा महत्त्वपूर्ण अध्याय हो । यहाँको माटोमा सभ्यताको सुवास छ; यहाँको संस्कृतिमा हाम्रा पुर्खाको मौलिकता छ र यहाँको समाजमा अनौठो विविधताबिचको एकता छ । तसर्थ दाङबाङको ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै आधुनिक विकासको मार्गमा लम्किनु आजको आवश्यकता र चुनौती दुवै हो ।

