दुर्गानाथ खरेल ##
आदिम जङ्गली युगमा मान्छे समूहमा बस्दथे । निश्चित इलाकामा घुमेर सिकार खेल्ने र कन्दमूल जम्मा गरेर खाने गर्दथे । बिस्तारै पशुपालन र कृषिकर्म सुरु भयो । समूहको सङ्ख्या बढ्दै गयो । परिवार सङ्ख्या पनि धेरै हुँदै गए । जमिन बाँडेर खेती गर्ने र पशुपालन पनि छुट्टाछुट्टै गर्ने चलन सुरु भयो । त्यसो गर्दा चोरी गर्ने, ठगी गर्ने, अनियमितता निम्त्याउने र अन्यायपूर्ण काम गर्ने विकृतिहरू पनि बढ्दै गए । नियम विपरीत काम गर्नेहरूलाई सजाय दिएर भए पनि समाजलाई नियमन गर्नुपर्ने भयो । त्यसका लागि सबैको सहमतिमा एउटा बलियो मान्छे छनोट गरेर ती कामको जिम्मा दिने काम सुरु भयो । त्यो मान्छेलाई आवश्यक पर्ने खर्च सबैले उठाएर दिन थाले । त्यो मान्छेबाट समाजको रक्षा गर्ने र समाजलाई नियमन गर्ने काम सुरु भयो । जनसङ्ख्या बढ्दै जाँदा उसका जिम्मेवारी पनि बढ्दै गए । उसले आफ्नो आम्दानीबाट कर्मचारी र सिपाही नियुक्त गरेर काम गराउन थाल्यो । उसलाई अरू धेरै अधिकार पनि दिन थालियो । समय बित्दै जाँदा राज्यसत्ता र राजाको उदय भयो ।
बृद्धकालीन राजतन्त्रको समयमा मगध, कोशल, वंश र अवन्ती चारोटा राजतन्त्रात्मक प्रमुख राज्य थिए । गङ्गा नदीको दक्षिणतर्फ अवस्थित मगध राज्य बुद्धकालमा शक्तिशाली राज्य भइसकेको थियो । त्यो राज्य आर्थिक र सामरिक हिसाबले पनि बलियो थियो । बुद्धकालपछि काशी, कोशल, बज्जी, मल्ल आदि राज्य मगध विलय भएका थिए । मगध राज्यमा ८० हजार गाउँ र त्यति नै मुखिया थिए (पौडेल, ……, पृ. ६) ।
बुद्धकालमा मगधको राजधानी राजगृह थियो । बुद्धकालपछि सामरिक हिसाबले पाटलीपुत्र अथवा पटनामा सारिएको थियो । प्राचीन समयमा मन्धाता र महागोविन्द आदि राजाको घर भएकाले राजगृह नाम रहन गएको भन्ने पाइन्छ । राजधानी रहेको राजगृहको सुरक्षाका लागि त्यसको चारैतिर पर्खालले घेरिएको थियो । त्यसमा आउनजानका लागि ठुलो ३२ ओटा ढोका र साना ६४ ओटा झ्याल राखिएका थिए ।
गौतम बुद्धले गृह त्याग गर्दा र बुद्धत्व प्राप्त गर्दा मगध राज्यका राजा बिम्बिसार थिए । उनी बुद्धका उपासक थिए । उनले ५२ वर्षसम्म मगध राज्यमा शासन गरे । मगध राज्यमा पाँच पुस्तासम्म पितृघात भएको थियो । मगधको जकुलमा बिम्बिसारलाई उनका पुत्र अजातशत्रुले हत्या गरेर पहिलो पुस्ताको राज्यसत्ता आफ्नो हातमा लिएका थिए । त्यस्तै अजातशत्रुलाई उदयभद्रले दोस्रो पुस्तामा, उदयभद्रलाई महामुण्डिकले तेस्रो पुस्तामा, महामुण्डिकलाई अनिरुद्रले चौथो पुस्तामा र अन्त्यमा अनिरुद्रलाई नागदासले पाँचौँ पुस्तामा पितृघात गरेर पाँच पुस्तासम्म सत्ता हत्याउने काम भएको थियो । त्यसपछि जनताले विद्रोह गरेर नागदासलाई बध गरेपछि त्यो राजपरम्पराको अन्त्य भएको थियो ।
बुद्ध कालमा अर्को सम्पन्न र शक्तिशाली राज्य कोशल थियो । कोशल राज्यको ८० हजार गाउँमा ५७ लाख परिवारको बसोबास थियो (पौडेल, २०८०, पृ. १२) । मगध र बज्जी राज्य त्यस बेला कोशल राज्यको मुख्य प्रतिद्वन्द्वी थिए । त्यस बेला कोशलको राजधानी श्रावस्ती थियो । त्यसका सात करोड आवादीमध्ये पाँच करोड मान्छे बुद्धको उपदेशद्वारा दिक्षित आर्यश्रावक थिए (पौडेल, २०८०, पृ. १२) । श्रावस्ती अहिलेको राप्ती नदीकिनारको मध्यमण्डलमा थियो । त्यसका छ तत्कालीन महानगरमध्ये एक श्रावस्ती थियो । श्रावस्तीबाहेक अरू महानगर चम्पा (अङ्ग), राजगृह (मगध), साकेत (कोशल), कोसम्बी (वंश) र वाराणसी (काशी) थिए ।
प्रसेनजितका छोरा ब्रह्मदत्त भिक्षु भएका थिए । वृद्ध ७२ वर्षको हुँदा मगधराज बिम्बिसारको देहान्त भएको थियो । बुद्धकालका राजा प्रसेनजित महाकोशलका छोरा थिए । प्रसेनजितकी बहिनी सुमना पनि भिक्षुणी थिइन् । श्रावस्ती र साकेत कोशलका दुइटा ठुला नगर थिए । बुद्धको जीवन र कार्यसँग श्रावस्ती सबैभन्दा बढी जोडिएको थियो । बुद्धले जेतवनमा १९ वर्ष र पूर्वाराममा ६ वर्ष गरेर २५ वर्षसम्मका वर्षावास श्रावस्तीमा बिताएका थिए । बुद्धकालीन छओटा महानगरमा ती दुवै ठाउँ पर्दथे । श्रावस्ती समृद्ध र व्यापारिक महत्त्वको सहर थियो । उपभोगका सबै आवश्यक वस्तु र सुविधा पाइने हुनाले त्यसको नाम सब्ब अत्थि (सबथोक) बाट श्रावस्ती भएको हो ।
बोधि राजकुमार सानैदेखि बुद्ध धर्म र सङ्घप्रति श्रद्धावान् थिए । उनले निर्माण गरेको कोकनद नामको भवन थियो । त्यो भवन उद्घाटन गर्न बुद्धलाई र भिक्षुलाई निम्ता गरेका थिए । बुद्धको विशेष सत्कारका लागि त्यो महलको सिँढीमा कपडा ओछ्याएका बुद्धलाई कपडामा टेकेर सिँढी चढ्न धेरैपटक सविनय अनुरोध गरेका थिए तर कपडा हटाएपछि मात्र बुद्ध महलभित्र प्रवेश गरेका थिए । त्यसको कारण भविष्यमा गृहस्थहरूले लौकिक स्वार्थमा भिक्षुलाई यस्तै तामझाम गर्न सक्ने र भिक्षुले पनि सत्कारमा आसक्ति राख्न सक्ने हुनाले धर्मको क्षय हुन सक्ने देखेर बुद्धले त्यसो गरेका थिए ।
बुद्धकालीन छ महानगरमध्ये एक मानिने कोसम्बी नगर वंशराज्यको राजधानी थियो । कौसम्बीमा बुद्ध धेरैपटक निवास गरेका घोषिताराम र बदरिकाराम नामका दुई बिहार करिब ३ किलोमिटरको दुरीमा थिए । बुद्धकालमा अवन्तिका राजा चण्डप्रद्योत थिए । उनकी छोरी वासवदत्ताको बिहे वंश राज्यका अधिपति उदयनसँग भएको थियो ।
चण्डप्रधोतको राज्यमा न्यायव्यवस्था पनि निष्पक्ष थिएन । मगधनरेश बिम्बिसारसँग प्रधोतको राम्रो मित्रता थियो । श्रावस्ती, राजगृह र कौसम्बी बृद्ध धर्मका केन्द्र थिए । अवन्तिमा बुद्ध धर्मको प्रचार वृद्ध कालमा धिमा गतिमा भएको थियो । अवन्तिका राजपुरोहित पुत्र महाकात्यान पुरोहित पद त्यागेर बुद्ध धर्मद्वारा दीक्षित भएका थिए । बुद्धको परिनिर्वाणपछि अस्तुधातु माग्ने सातोटा गणतन्त्रात्मक राज्यका वासिन्दा कपिलवस्तुका शाक्य, रामग्रामका कोलीय, पिप्फलिवनका मौर्य, कुशी नाराका मल्ल, अल्लकप्पका बुली र वैशालीका लिच्छवि थिए (पौडेल, २०८०, पृ. २२) ।
शाक्यका राज्य वर्तमान नेपालको कपिलवस्तु र रुपन्देही तथा सीमावर्ती भारतको सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका उत्तरी भागसम्म फैलिएको थियो । त्यसको पश्चिम र दक्षिणमा कोशल राज्य थियो । पूर्वमा रोहिणी नदीको साँधले कोलीय जनपदसँग छुट्याएको थियो । शाक्य राज्यको राजधानी कपिलवस्तु नगर थियो । त्यसको भग्नावशेष तौलिहवाबाट ३ किमि पश्चिम दिशामा अहिले पनि देख्न सकिन्छ ।
शाक्य गणतन्त्र त्यस बेला कोशल राज्यको प्रभावक्षेत्र थियो । शाक्यका मुखिया शुद्धोधन थिए । उनले विवाह देवदह नगरका अन्जना शाक्यकी छोरी मायादेवीसँग भएको थियो । मायादेवी गर्भिणी अवस्थामा माइत जान लाग्दा बाटोमा पर्ने लुम्बिनी वनमा बुद्धलाई जन्माएकी थिइन् । लुम्बिनी शाक्य राजाअन्तर्गतको कपिलवस्तु र देवदहको बिचमा पर्दथ्यो ।
लुम्बिनीलाई बुद्धको जीवनको प्रमुख घटनासँग पहिलो स्थान प्राप्त छ । बोधगया ज्ञानप्राप्ति, सारनाथ धर्मचक्र प्रवर्तन र कुशीनगर देहवसान बाँकी तीन स्थान हुन् । कोलीय राज्यको र शाक्य राज्यको सीमा रोहिणी नदी थियो ।
बुद्धको जीवनकालमा शुद्धोधन, भद्दीय र महानाम तीन जना शाक्य गणतन्त्रका मुखिया थिए । बुद्धकालमा कुरुराज्यमा राजतन्त्र थियो । त्यो राज्य अहिले भारतको दिल्ला हरियाणाको सोनिपत, पानीपत, कुरुक्षेत्र जिल्ला सहितको पूर्वी भाग र उत्तर प्रदेशको मेरठ, मुरादावाद आदि पश्चिमी भागमा फैलिएको थियो (पौडेल, २०८०, पृ. ३४) । बुद्धले महासतिपठान, हानिदान आदि गम्भीर र महत्त्वपूर्ण उपदेश यसै क्षेत्रमा दिएका थिए ।
बुद्धकालीन राज्यव्यवस्थामा राजा धार्मिक भए कर्मचारी र जनता सबै धार्मिक हुने र त्यस्तो भए धनधान्यले पूर्ण हुने मान्यता थियो । राजा र पुरोहितको पद धेरैजसो वंशजको आधारमा बनाउने गरिन्थ्यो । कहिँकतै वंशजभन्दा बाहिरका व्यक्ति पनि हुन सक्दथे । मन्त्रीलाई अमात्य भनिन्थ्यो । तिनीहरू राजधानीमा नै रहन्थे । राजधानीभन्दा टाढाका क्षेत्रमा ती क्षेत्रको प्रशासनिक काम गर्ने क्षेत्रीय प्रशासक नियुक्त गरिन्थ्यो । ठुला गाउँ र सहरमा स्थानीय प्रशासक ग्रामभोजक नियुक्त गरिन्थ्यो । सभा गरेर छलफल गर्दै प्रशासन सञ्चालन गरिन्थ्यो । छलफलमा मतविभाजन भए मतदान गरेर बहुमतको निर्णय लागु गरिन्थ्यो ।
चोर या अपराधीलाई पक्रेर पुर्पक्षका लागि न्यायाधीशसमक्ष पेस गरिन्थ्यो । न्यायधीशलाई जनताले अधार्मिक न्यायाधीश र धार्मिक न्यायधीशको संज्ञा दिन्थे । कानुनको प्रमुख आधार धर्म र प्रचलित परम्परा थियो । बुद्धले अपराधी प्रवर्जित गराउन नपाउने नियम बनाएका थिए । अपराधीलाई कठोर शारीरिक दण्डको व्यवस्था थियो ।
बुद्धले समाजमा व्याप्त आर्थिक असमानतालाई नै सम्पूर्ण पापको जरो मान्दथे । राजाले आफू खुसी भएर भाइभारदारलाई दिएको बिर्तालाई ब्रह्मदेय भनिन्थ्यो । त्यो सधैँका लागि हुन्थ्यो । त्यसलाई श्रेष्ठदान भनिन्थ्यो । राजभोग्य बिर्ता पाउनेले उक्त इलाकाको न्याय र दण्ड सम्पादन गर्न पाउँथ्यो । साथै नदी, घाट, बाटो आदिको कर उठाएर भाग गर्ने अधिकारसम्म हुन्थ्यो ।
बुद्धकालमा उत्पादन, व्यापार र सेवाको उपभोग तीनोटै क्षेत्रमा कर लगाइन्थ्यो । अशोक कालमा करिब आठदेखि १२ प्रतिशत कर लगाउने गरिन्थ्यो । यो बुद्धकालभन्दा करिब २२५ वर्षपछाडिको समय हो । बुद्धकालमा उत्पादन र व्यापारिक कर पाँच प्रतिशतको आसपास भएको अनुमान छ (पौडेल, २०८०, पृ. ६३) ।
सिद्धार्थ गौतमले २९ वर्षको हुँदा घर छाडेका र त्यसको छ वर्षपछि बुद्धत्व प्राप्त गरेका थिए । शरीरलाई कष्ट दिएर गरिने तपस्याबाट उनले मुक्ति हुने कुरामा विश्वास गरेनन् । त्यसपछि स्थूल आहार ग्रहण गर्न थाले (पौडेल, २०८०, पृ. ७२) । दु:खको कारण निर्मूल भएपछि दु:ख स्वत: निर्मूल हुन्छ भन्ने बुद्धको पहिलो उपदेश थियो । त्यसपछि बुद्ध र उनका शिष्यद्वारा उपदेशको पालना हुँदै गयो ।
बुद्ध ८० वर्षसम बाँचे । बुद्धको भनाइ सारयुक्त थियो । उनको भनाइमा स्रोतालाई बाध्न सक्ने शक्ति थियो (पौडेल, २०८०, पृ ७७) । बुद्धको आवाज सुन्नेलाई आश्वस्त पार्ने खालको, विश्वासयोग्य, स्पष्ट, मधुर, सजिलै सुनिने, नफाटेको, लयबद्ध भएको, साधन गम्भीर र सङ्गीतमय थियो । आफूले बताएको मार्गअनुसार धर्मको आचरण गर्नाले नै आफ्नो वास्तविक पूजा हुन्छ भन्ने बुद्धको भनाइ थियो (ऐ.ऐ. पृ. ७८) ।
बुद्धत्व प्राप्तिको २० वर्षसम्म बुद्धका कुनै निश्चित निजी सहायक थिएनन् । त्यसपछि भिक्ष्ॉ आनन्दले लगातार २५ वर्ष मैतीपूर्ण मन, वचन र कर्मले बुद्धको छायाजस्तै भएर बुद्धको सेवा गरे । बुद्धलाई निजी सहायका कारणले कुनै प्रकारको असुविधा कहिल्यै महसुस भएन ।
बुद्धका चार आर्य सत्य यी हुन्–
(१) दु:खको अस्तित्व मानव जीवनमा घामझैँ छर्लङ्ग छ । जन्मनु, बुढो हुनु, रोगी हुनु, मर्नु, इच्छित वस्तु प्राप्त नहुनु, मन नपरेकोसँग वियोग हुनु, मन नपरेका व्यक्ति, वस्तु र स्थिति आइलाग्नु—यी सबै दु:ख हुन् । यी दु:ख सबैले अनिवार्य रूमा अनुभव गर्नु नै पर्छ ।
(२) दु:खको उत्पत्ति कार्यकारणको सिद्धान्तअनुसार हुन्छ । विनाकरण कुनै पनि उत्पत्ति हुन्न । त्यसैले दु:ख आइलाग्नुको पनि कारण छ । तृष्णा अथवा आशक्ति नै दु:खको कारण हो ।
(३) दु:खबाट मुक्ति पाउन सकिन्छ । दु:खको कारणस्वरूप रहेको तृष्णालाई समूल नष्ट पारेपछि दु:खबाट मुक्त हुन सकिन्छ ।
(४) दु:ख क्षयका उपाय छन् । दु:ख मुक्तिको उपायस्वरूप यो आष्टाङ्गिक मार्गलाई व्यवहारमा उतारेर दु:खबाट मुक्त भएको अनुभव आफैले यसै जीवनमा गर्न सकिन्छ । त्यो मार्ग हो–
(क) सम्यक् दृष्टि कायम गर्नु । जुन जस्तो छ, त्यस्तै त्यसको गुण, धर्म, स्वभावअनुसारको अनुभवले जान्नु सम्यक दृष्टि हो ।
(ख) सम्यक सङ्कल्प गर्नु । हाम्रो चिन्तनमनन सही र सकारात्मक हुनुपर्छ । खराब दूषित विचारबाट मुक्त हुन जरुरी हुन्छ । राग, द्वेष र मोहरहित चिन्तनमनन हुन पनि आवश्यक छ । यी सबैलाई एकमुष्ट रूपमा सम्यक् सङ्कल्प भनिन्छ ।
(ग) सम्यक् वचन हुनुपर्ने । झुटो नबोल्ने, तितो भाषा बोलेर कसैको मन नदुखाउने, निन्दा नगर्ने, अर्काको कुरा नलगाउने गाली नगर्ने, मधुर बोलीसहित सत्यवादी बन्ने, दुई पक्षलाई जोडले बोली बोल्ने, प्रेममैत्री बन्धुभाव बढाउने बोली बोल्ने त्यही सम्यक वचन हो ।
(घ) सम्यक् कर्म गर्नुपर्ने, शरीर वचन र मनले दुष्कर्मबाट सधैँ टाढा रहेमा मात्र सम्यक् कर्म हुन्छ ।
(ङ) सम्यक् आजीविका हुनुपर्ने । हाम्रो जीविकाको बाटो सही हुनुपर्छ । आजीविकाको साधनमा अरू कुनै व्यक्तिलाई हानि, धोका, चोरी, लुट, ठगी आदि असम्यक् आजीविका नगर्नु नै सम्यक आजीविका हो ।
(च) सम्यक् व्यायामको प्रयत्न गर्नुपर्ने । मनको व्यायाम गरेर विकार र कमजोरी हटाउने । मनका खराबी वा दुर्गुण निकाल्ने प्रयास गर्ने । असल र सद्गुणी कुरा मनमा बसाल्ने । आफ्नो चित्तलाई सद्गुणतिर अग्रसर गराउने, मानसिक प्यासलाई सम्यक् व्यायाम भनिन्छ ।
(छ) सम्यक् स्मृति गर्नु । शरीर र चित्तमा स्वभावगत हिसाबले हुने क्रियाप्रतिक्रियाप्रति सचेत रहेर जागरुकता र सजगतासहित वास्तविकता र सत्यतालाई समता भावले हेर्नु, बुझ्नु सम्यक् स्मृति हो ।
(ज) सम्यक् समाधि गर्नुपर्छ । राग, द्वेष, मोह पैदा नगरेर मन, चित्तको एकाग्रता नै सम्यक समाधि हो । सम्यक्को अर्थ सही र साँचो हो । यसले मनलाई वशमा राख्न र निर्मल राख्नमा विशेष जोड दिन्छ । यो पूर्णतया शुद्ध र परिपूर्ण छ । केही अरू जोड्न आवश्यक छैन । केही यसबाट हटाउनुपर्ने पनि छैन ।
असल कर्म गर्नेहरूले मृत्युपछि मात्र होइन, यसै जुनीमा सुख या स्वर्गको अनुभव गर्छन् भन्ने वृद्धको भनाइ थियो । नराम्रो काम गर्ने तर त्यसलाई ढाकछोप गर्न अनेकथरी कर्मकाण्ड गर्नेहरू केही गरे पनि न यो जुनीमा सुखी हुन्छन्, न अर्को जुनीमा नै हुन्छन् । स्वकर्मबाहेक मान्छे सुखी र दुखी हुने अर्को आधार छैन । खराब काम गर्ने र असल काम गर्ने निर्णय आफैसँग छ । कारण नष्ट भयो भने त्यसबाट उत्पन्न हुने काम आफै स्वत: नष्ट हुन्छ । धर्म, नियम, नित्य–अनियत्यता र कार्यकारणको शृङ्खलाको पूर्ण ज्ञान हासिल गरेर गौतम बुद्धले जनताले बुझ्ने हिसाबले प्रवचन गर्ने काम गर्दथे । रोगी, बुढ्यौली र मृत्यु आदि तीन कुरा मानव जीवनका अनिच्छित र अवश्यम्भावी परिणाम हुन् ।
व्यक्ति सर्वोपरी हो र आफ्नो मालिक हो । बन्धन र मोक्षको सृजना आफूबाटै हुन्छ । अरूले मुक्त गर्न सक्दैन । व्यक्तिको विवेक सर्वोच्च र स्वतन्त्र हो । आफ्नो सिद्धान्त पनि कसैलाई जबर्जस्ती लाद्नुहुँदैन । बुद्ध धर्मको आचरण गर्दा अधर्मको त्याग हुन्थ्यो र धर्मप्रतिको आशक्ति पनि रहँदैनथ्यो ।
बुद्धलाई शिष्यमण्डलीको भिड मात्र बढाउने उद्देश्य थिएन, परिवास भन्ने चार महिनाको परीक्षणकाल राखेर मात्रै भिक्षु बनाइन्थ्यो । साधु सन्यासीहरू बुद्धप्रति आकर्षित भई चार वर्ष पनि परिवासमा बस्न तयार हुन्थे । सङ्घको शुद्धता र अनुशासनप्रति बुद्ध सचेत थिए । समाजमा बद्नाम हुने क्रियाकलाप बढ्न थालेपछि नियमन गर्न आचारसंहिता बनाएका थिए । भिक्षु भेषमा रहेका दुर्जनलाई बुद्धले कसिङ्गरझैँ बढारेर मिल्काउन सल्लाह दिन्थे ।
बुद्धले सङ्घ सर्वोपरि मान्दथे । सामूहिकतामा जोड दिन्थे । काम, भोगको इच्छाले सताउने भिक्षु सङ्घका व्यक्तिहरू गृहस्थीमा फर्कने पनि गर्दथे । भिक्षु हुन चाहनेले आफ्ना अभिभावकसँग अनुमति लिनुपर्ने नियम थियो । भिक्षुको जीवनमा महिलासँगको सहवास वर्जित थियो । सामान्यतया भिक्षुभिक्षुणी भिक्षाटनबाट नै जीवननिर्वाह गर्दथे । भिक्षुले गृहस्थबाट जे जस्तो भिक्षा प्राप्त हुन्छ, त्यसैले निर्वाह गर्नुपर्दथ्यो । अतिरिक्त भोजन प्राप्त भए पनि स्वीकार गर्नुहुँदैनथ्यो । उचित समयमा भिक्षाटनमा जानुपर्ने नियम बुद्धद्वारा बनाइएको थियो । जीवननिर्वाहका लागि मात्र होसपूर्वक भोजन गर्दथे ।
सन्दर्भ ग्रन्थ
पौडेल, उमाकान्त (२०८०). बुद्धकालीन समाज (पाली त्रिपिटकको साक्ष्यमा). काठमाडौँ : फाइन प्रिन्ट ।