महेश रिजाल, भालुबाङ ।
दाङ राप्ती गाउँपालिका–१ भालुबाङमा भएको सडक दुर्घटनामा मृतक सम्झना केसीको शव आज २०८३ भदौ ५ गते शुक्रबार इलाका प्रहरी कार्यालय भालुबाङमा यातायात व्यवसायी र आफन्तका परिवारका बिचको सहमतिमा शवको पोस्टमार्टमपश्चात् बुझ्ने सहमति भएको छ ।
हिजो दिउसो अन्दाजी १:३० बजेको समयमा कृष्णनगरबाट दाङ भालुबाङ हुँदै प्युठानतर्पm जादै गरेको लु.प्र.०–२–००१ ज.०१०८ नम्बरको इभी गाडीले ठक्कर दिँदा रा–४ प.५८३६ नम्बर स्कुटरको पछाडि सवार राप्ती गाउँपालिका–१ भालुबाङ निवासी ३३ वर्षीय सम्झना केसीको उपचारका क्रममा निधन भएको थियो ।
दुर्घटनामा स्कुटर चालक शीतगङ्गा नगरपालिका वडा नं. ८ लाहापे अर्घाखाँची बस्ने २२ वर्षीय अभिषेक कुमाल गम्भीर घाइते भएका थिए ।
उक्त सडक दुर्घटना भालुबाङस्थित पेट्रोल पम्पबाट तेल भरेर स्कुटर चालक कुमाल र सोही स्कुटरमा पछाडि सवार निजकी फुपू सम्झना केसी पश्चिमततर्फ लाग्ने क्रममा पश्चिमबाट उत्तरतर्पm गइरहेको उक्त इभी गाडीले ठक्कर दिएको थियो । दुवै घाइतेलाई स्थानीय र प्रहरीको टोलीले घटनास्थलबाट उद्धार गरी नजिकै रहेको भालुबाङ अस्पताल पुर्याएका थिए ।
उपचारका क्रममा सम्झना केसीको निधन भएको घोषणा अस्पतालका चिकित्सकले गरेका थिए भने घाइते कुमाललाई प्राथमिक उपचारपछि थप उपचारका लागि हिजो नै बुटवल अस्पताल पठाइएको थियो ।
इप्रका भालुबाङको रोहबरमा पीडित पक्षका आफन्त र यातायात भलाइ कोषका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको रोहबरमा भएको सहमतिमा क्रियाखर्च वापत् अग्रिम ५० हजार नगद र अन्तिममा पाँच लाख रुपियाँ आश्रितका परिवारलाई दिने सहमतिमा शवलाई पोस्टमार्टम गरी बुझिलिने र आफ्नो सांस्कृतिक परम्पराअनुसार दाहसंस्कार गर्ने सहमति भएको हो ।
इप्रकाका प्रहरी निरीक्षक गोपाल न्यौपानेका अनुसार ठक्कर दिने उक्त गाडी र चालकलाई प्रहरीले हिजै नियन्त्रणमा लिई म्याद थपका लागि जिल्लामा लगेको थियो ।
घाइते कुमालको उपचारसहित सम्पूर्ण खर्चसमेत यातायात भलाइ कोषले नै बेर्होने सहमति भएको पनि बताइएको छ ।