कमलबहादुर बरैमगर, राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी
0 राष्ट्रिय जनमोर्चाको बाइसौँ केन्द्रीय पार्टीस्कुलमा सहभागी हुन दैलेखबाट आउनुभएका राजमो दैलेखका अध्यक्ष कमलबहादुर बरईमगरलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।
– नमस्कार, धन्यवाद ।
0 आरामै हुनुहुन्छ ?
– हजुर, आरामै ।
0 यति टाढा कर्णाली प्रदेशबाट प्रशिक्षणमा भाग लिन आउनुभयो, के महत्त्व देखेर आउनुभयो ?
– यो महत्त्वभन्दा पनि राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीक्लास चलाइएको छ । अहिले देशको विषयमा एउटा गम्भीर समस्या उत्पन्न भएको छ राजनीतिक हिसाबले । देशको राजनीतिक अवस्था दर्दनाक छ ।
जनता बेरोजगारीको अवस्थामा छन् । राष्ट्रिय राजनीतिमा र देशमा जनताको हितमा काम गर्ने एउटा राज्यसत्ता स्थापना नभएको कारणले गर्दा गरिबी र बेरोजगारीको अवस्था सिर्जना भएको छ । त्यसले गर्दा देशमा युवाहरू रहन सक्ने अवस्था छैन । बेरोजगारीका कारणले हाम्रो देश नेपाल त बुढाबुढी र बालबच्चा बस्ने निरीह विश्रामस्थल जस्तै, वृद्धाश्रमजस्तो भएको छ । त्यो अवस्थालाई हामीले के कसरी सुधार्न सक्छौँ ?
हामी माक्र्सवादी–लेनिनवादी दृष्टिकोण राख्ने पार्टी भएको नाताले, पार्टीभित्र आबद्ध भएर देश र जनताप्रति बफादार हुनुपर्छ र मानव भएर जन्मिसकेपछि उनीहरूको हितमा काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ आएका हौँ । पार्टीको नीति र पद्धतिअनुरूप नै हामीले केही सिक्नुपर्छ र जनतालाई सचेत गराउनुपर्छ भन्ने मान्यताका साथ बाइसौँ पार्टीक्लासमा सहभागी हुन पार्टीले बोलाएकाले आएका हौँ ।
0 के के सिक्नुभयो प्रशिक्षणमा आएर ?
– पार्टीक्लासमा आउँदा हामीले देशको राजनीतिक अवस्थाको विषयमा सिक्यौँ । हाम्रो देशको राजनीतिमा जुन प्रतिक्रियावादी राज्यसत्ता छ, त्यस प्रतिक्रियावादी राज्यसत्ताले जनताको हितमा एउटै पनि जनपक्षीय काम गर्न सकेको छैन । त्यस विषयमा मैले दर्शन र माक्र्सवादी दृष्टिकोण अनि अध्यात्मवादी दृष्टिकोणको विरुद्धमा अध्ययन गरेँ ।
अहिले समाजमा अध्यात्मवादी दृष्टिकोण र चिन्तन हाबी भएको छ । पुँजीवादी राज्यव्यवस्थाअनुरूप पुँजीवादको विकास भइनसकेको अवस्था छ हाम्रो देशमा । चिन्तन पुँजीवादी तर व्यावहारिकतामा हामी निम्न पुँजीपति वर्गमा रहेको र देशको पुँजीको विकास नभइसकेको विषयमा अध्ययन, क्लास भइराखेका छन् । जनतालाई सुसज्जित बनाएर आफ्नो पक्ष र वर्गको हितमा काम गर्नुभन्दा पुँजीवादी वर्गको पक्षमा दलाली गरेर खाने प्रवृत्ति छ । यसकारणले हामी पीडित भएका छौँ, दबिएका छौँ । यस विषयमा सचेत हुनुपर्छ भन्ने मानसिकता जनतामा उठ्नै सकेको छैन । त्यस विषयमा सचेत गराउनुपर्छ भन्ने मानसिकताका क्लास हामीले लिइराखेका छौँ ।
0 अहिलेसम्मको प्रशिक्षणमा धेरै विषय दिइयो होला । त्यसमध्ये तपाईंलाई सबैभन्दा बढी छर्लङ्ग भएको विषय के पाउनुभयो ?
– ती विषयमध्ये हाम्रो पार्टीको नीति भनेको नै समाजवाद हुँदै साम्यवादमा पुग्ने हो । नेपाल कम्युनिस्ट पार्टी (मसाल) को लक्ष्य समाजवादमा पुग्नको निमित्त नयाँ जनवादी क्रान्ति गर्नुपर्छ र आमूल परिवर्तन गर्नुपर्छ भन्ने रहेको छ । त्यस विषयमा म स्पष्ट भएको छु । आमूल परिवर्तन गर्न सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्ति गर्नुपर्छ । यसमा किसान, मजदुर, शिक्षक, बुद्धिजीवी, निम्नपुँजीपति र राष्ट्रिय पुँजीपतिलाई समेटेर अगाडि बढ्नुपर्छ भन्ने विषयमा बढी प्रस्ट भएको छु ।
0 तपाईंहरूको प्रशिक्षणमा प्रशिक्षक पार्टी भित्रबाट हुनुहुन्छ कि बाहिरबाट ?
– पार्टीले चलाएको पार्टीस्कुलमा प्रशिक्षक पार्टीभित्रकै हाम्रा साथीहरू हुनुहुन्छ, बाहिरबाट खासै हुनुहुन्न ।
0 पार्टीभित्रकै साथीहरूले प्रशिक्षण दिँदा तपाईंहरूलाई बोरिङ हुँदैन ? किनभने उही नेताले भाषण गर्ने, उही नेताले प्रशिक्षण दिने, त्यो कुराले बोर लाग्ने अवस्था भएको छैन ?
– नाइँ, त्यस्तो छैन, किनभने हामीले कुरा बुझिसकेका छौँ र हाम्रो स्तर पनि त्यहीअनुरूप भएको हुँदा हामीलाई त केही सिक्नुछ । सिक्ने र पढ्ने कुरा त जीवनभर नै नसकिने रहेछ । कुनै कुरामा अस्पष्ट भएको ठाउँमा उहाँहरूले क्लासमार्फत स्पष्ट पार्ने मौका दिनुहुन्छ । हामी त्यस विषयमा स्पष्ट छौँ र स्पष्ट हुनका लागि नै आएका हौँ । त्यसैले बोरिङ हुने कुनै अवस्था छैन ।
0 अहिले व्यावहारिक क्लास पनि भएको छ भन्ने जानकारी पाएका छौँ । कस्तो हो यो व्यावहारिक क्लास ?
– व्यावहारिक क्लास भनेको कस्तो हुँदो रहेछ भन्दा हामी जनताको प्रतिनिधि हुनुपर्ने र व्यवस्थाअनुरूप चुनावलाई उपयोग गर्ने प्रक्रियामा भएको हुनाले जनताबिच जानुपर्ने हुन्छ । जनतासँग कसरी सम्बन्ध स्थापित गर्न सक्छौँ ? जनताको अवस्था, स्थिति के छ र हाम्रो पार्टीको नीति, धारणा र विचारलाई जनतासामु कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल हुन्छ ।
जनताका बिचको समस्यालाई बुझेर उहाँहरूलाई कसरी सहयोग गर्न सक्छौँ र हाम्रो पक्षमा कसरी प्रभाव पार्न सक्छौँ भन्ने विषयमा कुराकानी हुन्छ । हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएकाले विभिन्न धार्मिक–सांस्कृतिक परम्परा छन् । ती धार्मिक–सांस्कृतिक परम्पराले पारेका नकारात्मक असरबारे पनि स्पष्ट पार्ने मौका मिल्छ । यसबाट नेता र जनताबिचको सम्बन्ध स्पष्ट हुने भएकाले यसलाई व्यावहारिक क्लास भनिएको रहेछ भन्ने मैले बुझेँ ।
0 व्यावहारिक क्लासमा तपाईंहरूले आफ्ना कुरा राख्न पाउनुभयो ?
– हजुर, हामीले जिज्ञासा राख्यौँ । जनतासँग जाँदा आफ्ना नीति, सिद्धान्त र विचार लिएर कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भयो । जनताका वर्तमान अवस्थाका जल्दाबल्दा र आधारभूत समस्या समाधान गर्ने उपाय तथा विभिन्न घटना–परिघटना घटेका बेला कसरी सहयोग र सपोर्ट गर्न सक्छौँ भन्ने विषयमा हामी स्पष्ट भयौँ ।
0 तपाईं दैलेखबाट आउनुभयो । दैलेख अथवा कर्णाली प्रदेश नेपालको मानव विकास सूचकाङ्कमा सबैभन्दा पछाडि परेको क्षेत्र हो । त्यहाँका जनताको चेतनास्तर र यहाँको प्रशिक्षणको लेभललाई तुलना गर्दा के पाउनुहुन्छ ?
– हाम्रा प्रशिक्षकले दिएको शिक्षा जनताका आधारभूत आवश्यकतासँग जोडिएको छ । त्यसैले प्रशिक्षण र व्यावहारिक जीवनमा कुनै भिन्नता छैन, यो एकदमै मिल्दो छ । त्यो शिक्षालाई व्यवहारमा कसरी उतार्ने र जनताका समस्या कसरी समाधान गर्ने भन्ने कुरामा आधारित भएकाले कुनै समस्या छैन, सहज नै छ ।
0 यहाँ सिकेका कुराका आधारमा दैलेखमा गएर त्यहाँका जनतालाई सचेत गराउन सम्भव छ ?
– छ, सर । आफूले बुझेका कुरा, नीति, सिद्धान्त र दर्शनका विषय लिएर जाने हो । हामी भौतिकवादी भएकाले माक्र्सवादी–लेनिनवादी सिद्धान्त तथा दर्शनलाई लिएर त्यहाँको अध्यात्मवादी चिन्तनलाई परास्त गर्न वैचारिक र व्यावहारिक कुरा समेट्दै जान्छौँ ।
अध्यात्मवादी दर्शनले मान्छे मरेपछि स्वर्ग जाने र दुखपीडाको सामना गर्ने कुरा सिकाउँछ भने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी सिद्धान्तले स्वर्ग यहीँ छ, त्यो मान्छेले नै निर्माण गर्ने हो भन्छ । आफ्नो मिहिनेत र श्रमभित्र नै सुख निहित हुन्छ । जनताको कमजोर मनोविज्ञान र चेतनास्तरको फाइदा उठाएर शोषण गर्ने माध्यम बनाइएका भ्रमलाई हामीले स्पष्ट पार्नुपर्छ ।
0 भनेपछि यो प्रशिक्षणमा दर्शन, संस्कृति र संस्कारका विषयमा पनि छलफल चलाउनुभएको छ ?
– हजुर ।
0 दैलेखमा राष्ट्रिय जनमोर्चाको सक्रियता कस्तो छ ? किनभने त्यो असाध्यै दुर्गम ठाउँ छ, त्यहाँ तपाईंहरू कसरी सक्रिय हुनुभएको छ ?
– दैलेखको सवालमा भन्नुपर्दा राष्ट्रिय जनमोर्चाको स्थिति पहिला ठिकै थियो । अहिले निम्नपुँजीवादी चिन्तनका कारण मानिसमा राम्रो खाने, मिठो लगाउने र विलासी जीवन बिताउने चाहना हुनु स्वाभाविक नै हो तर हाम्रो देशको राज्यव्यवस्थाका कारण उद्योगधन्दा सञ्चालन हुन नसक्दा जनता बेरोजगार भएका छन् । हाम्रो देश कृषिप्रधान भनिए तापनि कृषिप्रणाली परम्परागत छ र किसानले मल, बिउ तथा सिँचाइको उचित व्यवस्था पाउन सकेका छैनन् । यी विषयमा जनतालाई सचेत गराउन हामीले पहलकदमी लिनुपर्नेछ ।
0 फर्केपछि दैलेखमा सङ्गठन र सङ्घर्षलाई अगाडि बढाउन व्यक्तिगत रूपमा केही योजना बनाउनुभएको छ ?
– व्यक्तिगत योजना त हुन्छ नै, त्यसबाहेक पार्टीले पनि जिम्मेवारी दिन्छ । नेतृत्वपङ्क्तिमा आइसकेपछि जनतामाझ जाँदा पार्टीले कार्यक्षेत्र र कार्यक्रम तोकेर पठाउँछ । तोकिएको क्षेत्रमा रहेर सङ्गठन विस्तार गर्ने, सिकेका कुरा जनतासमक्ष प्रस्तुत गर्ने र निरन्तर काम गर्ने प्रयास गर्नेछौँ ।
0 अन्तमा युगदर्शन मिडियामार्फत जनतालाई आह्वान गर्नुपर्ने केही कुरा छन् ?
– युगदर्शन मिडियाले जनताका बिचमा पार्टीको नीति, सिद्धान्त र विचार राख्ने मौका दिएकोमा हार्दिक धन्यवाद दिन चाहन्छौँ, साथै जनताका माझ पुगेर उहाँहरूका कमीकमजोरीप्रति सचेतना जगाउने, सिकेका कुरा सिकाउने र अस्पष्ट कुरालाई स्पष्ट पार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।