काठमाडौँ । अखिल नेपाल महिला सङ्घले महासचिव सकुन्तला रानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अध्यक्ष मीना पुनको हस्ताक्षरमा २०८३ साउन ३० गते शोकमन्तव्य सार्वजनिक गर्दै महिला सङ्घले समवेदना तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।
वक्तव्यमा महिला मुक्ति आन्दोलन र कम्युनिस्ट आन्दोलनमा महŒवपूर्ण योगदान पुर्याउनुभएकी रानाको निधनबाट ठुलो क्षति पुगेको बताइएको छ ।
यस्तो छ, शोकमन्तव्य :
“हाम्रो सङ्गठन अखिल नेपाल महिला सङ्घकी महासचिव सकुन्तला रानाको २०८३ साउन २९ गते भारतस्थित एम्स अस्पतालमा उपचारका क्रममा दुखद निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौँ ।
उहाँले महिला मुक्ति, सामाजिक न्याय तथा लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँको निधनप्रति गहिरो दु:ख तथा श्रद्धाञ्जली व्यक्त गर्दछौँ, साथै यस दुखद घडीमा शोकसन्तप्त परिवारजन, आफन्तप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
२०२७ सालमा अर्घाखाँची जिल्लाको असुरकोटमा जन्मिनुभएकी राना नेपालको महिला मुक्ति आन्दोलनको एक योद्धा हुनुहुन्थ्यो । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा समेत मृत्युपर्यन्त योगदान पुर्याउनुभएको छ । उहाँको निधनले हाम्रो सङगठन र समग्र कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको छ ।”