काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मर्मतसम्भार, प्रणाली सुदृढीकरण तथा रुखका हाँगाबिँगा कटानका लागि आज शनिबार काठमाडौं उपत्यकासहित बागलुङ र दाङका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध गर्ने जनाएको छ।
काठमाडौंको रत्नपार्क वितरण केन्द्रअन्तर्गत भीमसेनथान फिडर बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बन्द हुनेछ। यसबाट टेकू, ह्युमत, जैसीदेवल, काष्ठमण्डप, वडा नं. २१ लगायत आसपासका क्षेत्रमा विद्युत् प्रभावित हुनेछ।
त्यस्तै, डिल्लीबजार फिडर अन्तर्गत कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेजलगायत क्षेत्रमा दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
दाङमा हापुरे–तुलसीपुर ३३ केभी लाइनको मर्मतका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म दङ्गीशरण गाउँपालिका, तुलसीपुर उपमहानगरपालिकाका सबै वडा तथा शान्तिनगर गाउँपालिकाका वडा नं. ३ र ४ प्रभावित हुनेछन्।
बागलुङमा बुर्तिबाङ र हटिया फिडरअन्तर्गत धसधसादेखि हरिचौर सबस्टेशनसम्म तथा गल्कोट नगरपालिकाका विभिन्न क्षेत्रमा रुखका हाँगाबिँगा कटानका लागि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ।
प्राधिकरणले काम निर्धारित समयभन्दा अगावै सम्पन्न भए विद्युत् सेवा पनि सोहीअनुसार चाँडै सञ्चालनमा ल्याइने जनाएको छ।

