म्याग्दी, २७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालय यतिबेला एउटा असाधारण यथार्थको साक्षी बनेको छ। जहाँ विद्यालय सञ्चालनका लागि शिक्षक–कर्मचारी जति छन्, विद्यार्थीको सङ्ख्या पनि त्यत्ति नै छ—तीन जना।
कक्षा ३ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल बालकक्षामा एक जना र कक्षा ३ मा दुई जना गरी जम्मा तीन विद्यार्थी अध्ययनरत छन्। कक्षा १ र २ भने विद्यार्थी अभावका कारण खाली छन्।
विसं २०४० मा स्थापना भएको विद्यालयमा बालकक्षामा जेसिका खड्का तथा कक्षा ३ मा नेलसन रोका र श्रीसा खड्का अध्ययनरत छन्। उनीहरूकै उपस्थितिले विद्यालयको शैक्षिक गतिविधि जीवित राखेको छ।
अचम्मको कुरा, विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीको सङ्ख्या पनि तीन नै छ। प्रधानाध्यापक शान्ति राम्जाली, बालशिक्षा सहजकर्ता शिखा बोहोरा क्षेत्री र सहयोगी सुर्जना रोका विद्यालयको जिम्मेवारी सम्हालिरहनुभएको छ।
प्रधानाध्यापक राम्जालीका अनुसार बढ्दो बसाइँसराइ र घट्दो जन्मदरले विद्यालयको अस्तित्वमै चुनौती खडा गरेको छ। “विसं २०७२ सम्म विद्यालयमा १५ देखि २० जना विद्यार्थी हुन्थे,” उहाँले भन्नुभयो, “तर पछिल्ला वर्षमा गाउँबाट परिवारहरू बसाइँसराइ गरेर अन्यत्र जान थाले र नयाँ बच्चा जन्मने दर पनि घट्दै गयो। त्यसको प्रत्यक्ष असर विद्यालयमा परेको छ।”
विद्यालयको सेवा क्षेत्रमा पर्ने भालेबासमा १५ र कोप्चेपानीमा १० घरपरिवार मात्र बसोबास गर्छन्। यसअघि कोप्चेपानीमा रहेको विद्यालय भवन २०७५ सालमा कालीगण्डकी नदीको बाढीले बगाएपछि विद्यालयलाई भालेबासमा स्थानान्तरण गरिएको थियो।
हाल विद्यालयमा सुविधासम्पन्न भवन, शौचालय र बालमैत्री कक्षाकोठा भए पनि विद्यार्थी अभावका कारण परिसर सुनसान देखिन्छ। विद्यार्थी सङ्ख्या न्यून भएपछि गत वर्ष गाउँपालिकाले एक शिक्षकको दरबन्दीसमेत कटौती गरेको थियो।
स्थानीयवासी तुलाराम बुढाका अनुसार गाउँ रित्तिँदै जानु नै विद्यालयमा विद्यार्थी घट्नुको मुख्य कारण हो। “छिमेकी गाउँ गाडपार र काभ्रेसम्म पुग्न बालबालिकाले करिब एक घण्टा पैदल हिँड्नुपर्छ,” उहाँले भन्नुभयो, “त्यसैले थोरै विद्यार्थी भए पनि उनीहरूको शिक्षाको अधिकार सुनिश्चित गर्न विद्यालय सञ्चालन गर्नैपर्छ।”
अन्नपूर्ण गाउँपालिकाका अन्य ठाडा, किन्दु, स्वाँत, घराप र चित्रे आधारभूत विद्यालयमा पनि यस्तै समस्या देखिएको छ। गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार भौगोलिक विकटता, छरिएका बस्ती र बसाइँसराइका कारण विद्यार्थी सङ्ख्या घट्दै गएपछि कक्षा समायोजन र दरबन्दी व्यवस्थापनको नीति अपनाइएको छ।
ग्रामीण भेगमा जनसङ्ख्या घट्दै जाँदा विद्यालयहरू अस्तित्व जोगाउने सङ्घर्षमा छन्। धवलागिरि आधारभूत विद्यालय त्यसको एउटा मार्मिक उदाहरण बनेको छ, जहाँ तीन विद्यार्थीका कारण विद्यालय अझै जीवित छ।