वासिङ्टन । इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु र पक्राउको संख्या बढ्दै गएको समाचारहरू आइरहेको छ ।
मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीका अनुसार डिसेम्बर २८ देखि सुरु भएको विरोध प्रदर्शनमा हालसम्म करिब १६ हजार ७ सय मानिस पक्राउ परेका छन् भने दुई हजार ५ सयभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । ती तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको बताइएको छ ।
यसैबीच, इरानी सरकारी सञ्चारमाध्यममा प्रसारित केही स्वीकारोक्तिप्रति मानव अधिकार संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । ती स्वीकारोक्ति दबाबमा गराइएको हुन सक्ने आशंका व्यक्त गरिएको छ ।
मानव अधिकार समूहका अनुसार इरानका सबै ३१ प्रान्तमा हालसम्म ६ सयभन्दा बढी विरोध प्रदर्शन भएका छन् । आर्थिक समस्याबाट सुरु भएको यो आन्दोलन पछिल्ला दिनहरूमा शासनप्रणालीप्रतिको व्यापक असन्तोषको रूपमा विकसित भएको विश्लेषण गरिएको छ ।
विरोध प्रदर्शनमा मृतकको सङ्ख्या दुई हजार ५७१ पुगेको छ । सरकारले प्रदर्शन नियन्त्रण गर्न सञ्चार माध्यमहरू बन्द गरेपछि स्थानीय नागरिकहरूले बाहिरका साथीभाइसँग मङ्गलवारदेखि पहिलो पटक फोनमार्फत सम्पर्क गरेका छन् ।
इरानी राज्य टेलिभिजनले पहिलोपटक मृतकहरूको पुष्टि गर्दै ‘धेरै शहीदहरू’ भएको जनाएको छ । विरोध प्रदर्शन सुरुमा आर्थिक सङ्कटका कारण भएको थियो, तर पछि सर्वोच्च नेता अली खामेनीमाथि असन्तोषको रूपमा रूपान्तरण भएको थियो । प्रदर्शनमा खामेनीको मृत्युको माग गर्ने नारा देखिएका छन् ।
मानवअधिकार समूहका अनुसार मृतकमध्ये दुई हजार ४०३ जना प्रदर्शनकारी, १४७ जना सरकारी सम्बन्धित, १२ जना बालबालिका र ९ जना अन्य सामान्य नागरिक थिए । १८ हजार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।
तेहरानमा भारी सुरक्षा बलको उपस्थिति, सरकारी भवनमा आगो, भत्किएका एटीएम र सडकमा थोरै मानिस देखिएको छ । स्थानीयले भने, “मानिसहरू निराश छन्, तर प्रदर्शन जारी राख्ने इच्छा राखिरहेका छन् ।”
सुरक्षा अधिकारीहरूले स्टारलिंक सेटेलाइट इन्टरनेट खोजी गरिरहेका छन् । हाल स्टारलिङ्कले इरानमा निशुल्क सेवा उपलब्ध गराएको छ ।
इरानमा आर्थिक र राजनीतिक असन्तोषबीच विरोध प्रदर्शन तीव्र भइरहेको छ, र यसबाट मानवधिकार सङ्कट अझ गहिरो बन्न सक्ने देखिन्छ ।