चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा ##
(स्रोता तथा दर्शकवृन्द, युगदर्शन मिडियाको तर्फबाट गोविन्दकुमार शर्माका साथमा म प्रकाश थापामगरको नमस्कार । आज हामी तपाईंहरूको माझमा तात्कालिक राजनीतिक परिस्थितिको विषयमा नयाँ अतिथिका साथ उपस्थित भएका छौँ । आज हाम्रो अतिथि हुनुहुन्छ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा लोकप्रिय नेता चित्रबहादुर केसी । प्रस्तुत छ, उहाँसँग गरिएको सङ्क्षिप्त कुराकान ।)
० सर्वप्रथम त केसीजीलाई युगदर्शन मिडियाको तर्फबाट स्वागत गर्न चाहन्छौँ ।
:: धन्यवाद ।
० आजभोलि कता हुनुहुन्छ ?
:: म दुई महिनादेखि परिवार बिरामी भएर म घरमै छु ।
० अनि हजुरको स्वास्थ्य अवस्था ठिक छ ?
:: मेरो त स्वास्थ्य ठिकै छ, परिवारको स्वास्थ्य धेरै खराब भयो । त्यसो भएर छोड्न नसकेर म घरै बसिराखेको छु ।
० युगदर्शनको तर्फबाट अहिलेको तात्कालिक अवस्थाको विषयमा अलिकति कुराकानी गर्न खोज्यौँ । सर्वप्रथम त यो ॅजेनजी’ भन्ने एकाएक कताबाट आयो ? तपाईंहरूले यसलाई कसरी बुझ्नुभएको छ ?
:: सत्तामा, शक्तिमा बस्नेहरूलाई राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै भन्दै आएको छ प्रतिगमनको खतरा छ, सतर्क हुनुपर्छ । यहाँको जुन भौगोलिक अवस्थिति छ, शक्तिराष्ट्रको अत्यन्त धेरै चलखेल भइरहन्छ ।
भ्रष्टाचार यति बढ्यो कि जनतामा लोकतन्त्र, गणतन्त्र यी सबै केही चाहिएन बरु पुरानै शासक आए हुन्छ । यति ठुलो पैमानामा भ्रष्टाचार भयो भनेर नेपाली जनतामा व्यापक प्रचार भइराखेको थियो । त्यसो हुनाले यस खालको जनताको असन्तोष, सत्ताधारीको चरम भ्रष्टाचार—यो सबैलाई उपयोग गरेर नयाँ पिँढीले त पोहोर परारैदेखि नै विरोध गरिरहेका थिए । बालुवाटारतिरि विभिन्न खालका शक्तिहरूले, कतिपय दरबारियाले, कतिपय विदेशीद्वारा तालिमप्राप्तहरूले विरोध गरिरहेका थिए । बालुवाटार घेर्ने, ‘डू नट अगेन’ यी सारा काम भइरहेका थिए ।
प्रतिगामीबाट पनि पटकपटक नेपालको लोकतन्त्र, गणतन्त्र सिध्याउने अभ्यास भइरहेको थियो अनि शक्तिकेन्द्रलाई पनि नेपाल अत्यन्त महत्त्वपूर्ण ठाउँ थियो । मुख्य कुरा त नेपालका शासकको जुन एउटा अदूरदर्शी जुन चरित्र हो, प्रक्रिया हो, नीति हो, त्यसले गर्दाखेरि विदेशीलाई पनि चलखेल गर्न अत्यन्त सजिलो भयो । जनता पनि अत्यन्त असन्तुष्ट भएको हुनाले यो जेनजी पिँढीले जुन कुरा उठायो, देशबाट भ्रष्टाचार अन्त्य हुनुपर्छ, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने, त्यो समसामयिक थियो, स्वाभाविकै थियो । त्यसलाई जनताले स्वागत गरे । त्यसैमा ‘पानी धमिल्याएर माछा मार्ने’ जुन देशीविदेशी शक्ति हुन्, नेपाली जनताका दुस्मन, उनीहरूले नेपालका भौतिक संरचना ध्वस्त पारे ।
० केसीजी, जेनजीले उमेरको कुरा उठाएको छ । यो अलि बुढापाका उमेरका मान्छेको विरुद्ध थियो कि यो आन्दोलन भ्रष्टाचारको विरुद्ध ? के थियो ? तपाईंलाई के लाग्छ ?
:: नयाँ हुन् कि पुराना हुन्, भ्रष्टाचारीलाई त डाँडै कटाउनैपर्छ नि झ् यो जेनजीको मात्र होइन, नेपाली जनताको पनि आवाज हो । जेनजीले उठाएको भ्रष्टाचारी, राष्ट्रघाती, तिनीहरू त हमेसा राष्ट्रको लागि कलङ्क हुन्, नालायक हुन् । तिनलाई मौका दिनुहुन्न, तिनलाई नेतो कटाउनुपर्छ भन्ने त आमजनताको माग हो । तपाईंहाम्रो पनि माग हो नि झ् त्यसो हुनाले यो मौकामा विदेशी शक्तिले पनि चलखेल गर्न पाएर मुलुकलाई यो स्थितिमा पुऱ्याए ।
० यो आन्दोलनको फलस्वरूप अन्तरिम सरकार गठन भयो र संसद् विघटन भयो । यो घटनालाई कसरी लिनुभएको छ ?
:: यो त गर्नु नै थियो । संसद् विघटन गराउनका लागि, लोकतन्त्र, गणतन्त्र खतम पार्नका लागि तीन–चार महिनादेखि गणतन्त्र विरोधी, लोकतन्त्र विरोधी, राष्ट्रियता विरोधी तत्त्वले संसद् बहिष्कार गर्दै हिँडी नै राखेका थिए । तिनीहरूलाई थप दलमल के भयो भने खास गरेर ठुला पार्टीले सत्ताको चरम दुरूपयोग गरेर देश लुट्नसम्म लुटे । यति लुटे होलान् भन्ने त म आफैले पनि अन्दाज गरेको थिइनँ । त्यसको विस्फोटन भयो । नेपालमा यस्ता विस्फोटन प्रायः भइरहन्छन् । यसका पछाडिको कारण नेपाली जनताको असन्तोष हो । यो नेपाली जनताको जायज माग हो । राष्ट्र र जनतालाई रसातलमा डुबाएका कारणले मुलुक अत्यन्त डरलाग्दो भयावह स्थितिमा गएको छ । त्यसकारण संसद् विघटन गर्नु, २०७२ सालको संविधानमाथि प्रश्न उठाउनु—यो त संसद्भित्र लगातार विदेशी र प्रतिगामी तत्त्वले चार महिनादेखि रिहर्सल र षड्यन्त्र गरिरहेका थिए । त्यसमाथि थप यिनी सत्ताधारी काङ्ग्रेस, एमालेका नेताहरूले जुन ब्रह्लुट गरे, त्यसले गर्दाखेरि २०७२ सालको संविधानमाथि आक्रमण भयो र संसद् विघटन नै भयो । अहिले अस्थिर छ । यी नयाँ आएकाले के गर्ने हुन् भन्दा पनि शक्तिराष्ट्रले के गराउन खोजेका छन् नेपाललाई, त्यही स्थितिमा पुऱ्याउँछन् भन्ने लाग्छ मलाई ।
० अहिले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा जुन निर्दलीय सरकार बनेको छ, यो सरकारलाई तपाईंहरूले कसरी हेर्नुभएको छ ?
:: पुरानो सरकार विघटन भएपछि जस्तोतस्तो सरकार त बन्नैपर्थ्यो । यिनीहरू आफूले के गर्छन् र यस्तो परिस्थितिमा ? समयमा चुनाव गराउन सक्छन् कि सक्दैनन् ? यिनी घुस खाएका, भ्रष्टाचार गरेर नेपाली जनताबाट तिरस्कृत भएका र घाइतेप्रति उनीहरूको व्यवहार कस्तो हुन्छ ? अहिले यिनी सत्तामा आएकाहरू पनि चिन्दै नचिनेका वा जनताले जान्दै नजानेका मान्छे होइनन् तैपनि विगतमा धेरै बदनाम भएका मान्छे होइनन् । के गर्छन्, हेर्न बाँकी छ । यिनीहरूले गर्नेभन्दा पनि शक्तिकेन्द्रले नेपाललाई कहाँ लैजान्छन्, के गराउँछन् ? त्यो कुरा डरलाग्दो कुरा हो ।
० तपाईंहरूको पार्टीले सुशीला कार्कीको विषयमा व्यक्तिगत रूपमा हाम्रो केही भन्नु छैन भनेर वक्तव्य जारी गरेको छ नि ?
:: उनी प्रधानन्यायाधीश हुँदाखेरि घुस खाएको, भ्रष्टाचार गरेको देखिएन । त्यही अदालतका कतिपय न्यायाधीशले घुस खाएको, भ्रष्टाचार गरेको हामी थाहा पाएका छौँ । व्यक्तिगत रूपमा हामीले उनका त्यति कमीकमजोरी देखेका छैनौँ । उनी व्यक्तिले मात्रै त के गर्न सक्ने कुरा भयो र ? समग्र रूपमा शक्तिकेन्द्रले के के गराउने हुन् ? स्थिति त्यो छ । हस्तक्षेपबाट बचाउन धेरै गाह्रो छ नेपाललाई । जनता धेरै चिढिएका छन् । यस्तो भयावह स्थितिमा के गर्न सक्छन् र ? त्यो हेर्न बाँकी छ ।
० पछिल्लोपटक २०७२ सालमा ओलीले संसद् विघटन गर्दाखेरि सर्वोच्चमा रिट परेको थियो । अहिले तपाईंहरूले त्यस्तो रिट दर्ता गर्ने सम्भावना छ कि छैन ? के देख्नुभएको छ सम्भावना ?
:: रिट दर्तासम्बन्धी अहिले हाम्रो पार्टीमा कुनै निर्णय भएको छैन । अरू पार्टीले पनि के गर्छन् हेरौँ । यो सामान्य कानुनी कुरा हो । संसद्को अपराध त होइन । त्यहाँ संसदभित्र बसेका अपराधी, घुसिया हुन् । उनीहरूलाई कारबाही गर्नुपर्ने हो । संसद् त्यसको सिकार भयो । २०७९ सालमा नेपाली जनताले त्यति गरेर चुनेर पठाएका, यिनी गैरजिम्मेवार बने । यिनीहरूका चरित्रले गर्दाखेरि त्यसको मार संसद्ले भोग्नुपऱ्यो† सर्वोच्च अदालतले भोग्नुपऱ्यो अनि विभिन्न भौतिक संरचनाले भोग्नुपऱ्यो । निर्दोष मानिसले ज्यान गुमाउनुपऱ्यो । सत्तामा सक्नेले बसेर देश लुट्ने गरे । ती लुट्नेहरूले लिनुपर्छ यसको जिम्मेवारी त । त्यसको सिकार संसद् भयो । संसद् त यसभन्दा पहिले पनि २०१७ सालमा, २०५९ सालमा र २०७७ सालमा सिकार भएको थियो, यसपालि पनि सिकार भयो ।
राष्ट्रिय जनमोर्चाले बारम्बार प्रतिगमनको खतरा छ है देशमा भनेर त्यसको विरुद्ध अभियान पनि पटकपटक चलायो । हाम्रै पार्टीभित्र पनि कतिपय मान्छेलाई यो कुरा चित्त बुझ्दैनथ्यो । बहुदल आयो, सारा पार्टी खुल्ला भए र पनि राष्ट्रिय जनमोर्चा, मसालले जहिले पनि प्रतिगमनको खतरा देख्छ भनेर स्वयम् पार्टीकै मान्छले पनि नकारात्मक दृष्टिले हेरे । अहिले देखियो नि, कति खतराको घेरामा परेको रहेछ नेपाल भनेर । अझ के हुने हो भविष्यमा ? यी सत्ताधारीले एमसिसी बोकेका छन् । अमेरिकाले एसपिपीमा सामेल गराउने स्थिति छ । त्यसो हुनाले मुलुकमा झन् भयावह स्थिति आउनेवाला पो देख्छु मैले त ।
० भदौ २३–२४ गतेदेखि यता राष्ट्रपति र सेनाको भूमिकालाई तपाईंहरूले कसरी बुझ्नुभएको छ ?
:: २०१७ साल भन्नुस्, २०५९ साल भन्नुस्, जहिले पनि सेनाले सधैँ यस्तैगरिरहेका नै छन् । त्यही पनि बङ्गलादेश, पाकिस्तान, बर्मामा जस्तो गतिविधि नेपाली सेनाले देखाएको देखिन्न । त्यही पनि सत्तामा, शक्तिमा बस्नेहरूले नेपाली सेनाको प्रायः दुरूपयोग गर्छन् । अहिले पनि कतै सेनाको दुरूपयोग हुने हो कि भन्ने डर छ ।
० सेनाले आफ्नै परमाधिपति राष्ट्रपति कार्यालय जोगाउन सकेन । जङ्गी अड्डाकै नजिकै भएको सिंहदरबारलाई बचाउन सकेन । यस्तो खालको लापरवाही भयो, सेनाले राम्रो भूमिका खेल्न सकेन भन्ने कुरा छ नि । यसबारे के भन्नुहुन्छ ?
:: त्यो त अझ राम्रोसँग अनुसन्धान गर्नुपर्छ । भन्नुहोस् नारायणहिटीमा २०५८ सालमा राजपरिवारको त्यत्रो घटना भयो । २०१७ सालको घटना भयो । इतिहासका विभिन्न डरलाग्दा काण्डमा शक्तिकेन्द्रको चलखेल हुन्छ । शक्तिकेन्द्रको चलखेलले गर्दा राष्ट्रिय जीवनमा दूरर्गामी असर पर्ने, राष्ट्रको अस्तित्वमाथि प्रश्नचिह्न खडा हुनेजस्ता घटना भइरहन्छन् । त्यसमा कतै न कतै सेनाले पनि त्यसलाई रोक्न खोजेर पनि नसकेको हो कि ? उनीहरूको त्यसमा मिलेमतो, सहमति हो कि ? त्यो त अनुसन्धान गरेर मात्रै पत्ता लाग्ला । अहिल्यै भन्न सकिन्न ।
० अनि केसीजी, राष्ट्रिय जनमोर्चाले त भ्रष्टाचार गरेको थिएन, तपाईंहरू निष्कलङ्क हुनुहुन्छ । फेरि पनि तपाईंहरूका कार्यालयमा आगजनी भए । त्यस्तो किन भयो होला भन्ने लाग्छ ?
:: राष्ट्रिय जनमोर्चा मात्रै हो नेपालमा भ्रष्टाचार नगर्ने शक्ति, साम्राज्यवादी विरुद्धमा लड्ने शक्ति । साम्राज्यवादीका एजेन्टले गरेको तोडफोड हो नि त्यो कार्य । त्यो अरूलाई भन्नलाई, काङ्ग्रेस–एमालेलाई, भ्रष्टाचारीलाई मात्रै हामीले कारबाही गर्दियौँ, अरूलाई हैन भने तर व्यवहारले के देखियो भने मुख्य आँखाको कसिङ्गर त राष्ट्रिय जनमोर्चा छ नि नेपालको सन्दर्भमा । नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको पक्षमा अग्रिम पङ्क्तिमा रहेर सदनमा होस्, सडकमा, अहिलेसम्म लड्दै आएको त राष्ट्रिय जनमोर्चा हो । त्यसकारण राष्ट्रिय जनमोर्चामाथि आक्रमण विदेशीशक्तिका एजेन्टको काम हो, साधारण नेपालीले गरेको काम होइन ।
राष्ट्रिय जनमोर्चा संसद्मा आएको २०५१ सालदेखि हो । त्यसपछि संसद्मा लगातार उसले भण्डाफोर गरिराखेको छ भ्रष्टाचारीको । राष्ट्रिय जनमोर्चा सदनमा लगातार भ्रष्टाचारीका विरुद्ध लडिराखेको छ । जेनेजीलाई देखाएर उनीहरूको नामबाट सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन जलाए । यहाँ देखाउन पो जेनेजीलाई देखाए साना केटाकेटीलाई तर त्यहाँभित्र विदेशी तत्त्व, कसकसको घुसपैठ थियो, त्यस क्रममा राष्ट्रिय जनमोर्चाका पनि कार्यालय भत्काए । राष्ट्रिय जनमोर्चा विदेशी शक्तिले आँखाको कसिङ्गर नै भा’छ नि !
उनीहरूले के बुझ्नुपर्छ भने राष्ट्रिय जनमोर्चाका भवन भत्काएर, त्यहाँ आगजनी गरेर राष्ट्रिय जनमोर्चा आफ्नो नीति, आफ्नो सिद्धान्तबाट विचलित हुँदैन र देशीविदेशी सबै प्रकारको, विशेष गरेर साम्राज्यवादीको विरोधमा राष्ट्रिय जनमोर्चा दृढतापूर्वक लड्छ । त्यसकारणले कुनै भवन जलाइदिएर, व्यक्तिको हत्या गरेर राष्ट्रिय जनमोर्चा आफ्नो आन्दोलनबाट, आफ्नो सिद्धान्तबाट, आफ्नो नीतिबाट भाग्नेवाला छैन ।
० अहिले बनेको सरकारले शक्तिशाली भ्रष्टाचार छानबिन आयोग बनाउँछौँ भन्ने कुरा गरिरहेको छ । त्यस्तो आयोग बन्यो भने, त्यसले राम्रो काम गऱ्यो भने तपाईंहरूले समर्थन गर्नुहुन्छ कि के गर्नुहुन्छ ?
:: हामीलाई त्यो पत्यारै लाग्दैन । अहिलेसम्म संसदीय व्यवस्थाको सबैभन्दा ठुलो समस्या के हो भने सत्तामा बस्नेहरूले भ्रष्टाचार गर्छन्; त्यसपछि आयोग बनाउँछन्; आयोग बनाएर त्यो आयोगले रिपोर्ट दिन्छ अनि अर्कोथरी भ्रष्टाचारी सत्तामा आउँछन् र त्यो प्रतिवेदनलाई टेबलमा लगेर अथवा गुन्द्रेमुन्द्रेमा फाल्दिन्छन् । तपाईंले देख्नुभएन ? २०४६ सालमा बनेको आयोगले दिएको रिपोर्ट ? २०५९ साल, २०६२–६३ सालका अपराधी, लुटेरालाई कारबाही गर्नमा दिएको रिपोर्ट कसरी चुहाउँछन्, थन्क्याउँछन्, कसरी सिध्याउँछन् भन्ने कुरा ? त्यसो हुनाले अहिले पनि नेपाली जनतालाई बेबकुफ बनाउनका लागि एउटा जस्तोतस्तै आयोग बनाउँछन् । त्यो आयोगले एउटा रिपोर्ट दिन्छ अनि त्यो रिपोर्ट सत्तामा बस्नेहरू, जो आफैँ भ्रष्टाचारी छन्, उनीहरूले कार्यान्वयन गर्छन् भन्ने कुरा मलाई विश्वास लाग्दैन ।
हाम्रो माग भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने हो तर २००७ सालपछिको इतिहास हेर्नुहोस् त । आयोग बन्छ तर त्यो आयोगले दिएको रिपोर्ट चाहे मल्लिक आयोग भन्नुहोस्, चाहे रायमाझीको आयोग, भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई कारबाही गर्नेको चरित्र नै एउटै छ । उनीहरूले कारबाही गर्न सक्ने त प्रश्नै आउँदैन । त्यसकारण जनतालाई भ्रममा पार्न त्यस खालको आयोग बनाएर रिपोर्ट फाल्दिन्छन् । त्यही हो । मलाई कार्यान्वयन गर्छन् भन्ने विश्वास लाग्दैन ।
० अहिले जेनजी आन्दोलनको सन्दर्भमा सङ्घीयता खारेज गर्नुपर्छ भन्ने माग पनि उठेको थियो । अब के हुन्छ, यो सरकारले सङ्घीयता खारेज गर्ने त्यस्तो सम्भावना के देख्नुहुन्छ ?
:: कहाँ सक्छन् ? सङ्घीयता यिनीहरूले ल्याएकै होइन । नेपालीले ल्याएको होइन, विदेशीले बोकाएको हो । विदेशीले सङ्घीयताको भारी बोकाएका हुन् । ल भन्नुहोस् न, बागमती प्रदेशमा आठ वर्षमा ९० जना मन्त्री । त्यसकारण यदि जातीय द्वन्द्वमा नेपाललाई फसाउने हो भने, नेपाललाई टाट पार्ने हो भने सङ्घीयता नै चाहिन्छ नि । नेपाललाई नाइजेरिया बनाउनकै लागि सङ्घीयता ल्याइएको हो । ठुलो सङ्ख्यामा नेपाली जनता, अहिले त लाखौँलाख नेपाली जनता सङ्घीयता नचाहिने कुरामा छन् तर जसले सङ्घीयता बोकाए, उनीहरूले नै खारेज गर्नुपऱ्यो नि त, नत्र यिनीहरूलाई, यहाँका अहिलेका शासकलाई अथवा भोलि आउने शासकलाई, यसरी शासक बदलिए पनि गाह्रो हुन्छ किनभने नेपाल देख्दा मात्र स्वतन्त्र छ । हाम्रो झन्डा छ; हाम्रो मुद्रा चल्छ† हाम्रा ऐनकानुन छन्; हाम्रो आफ्नो अस्तित्व देखिन्छ तर कति शक्तिराष्ट्रको चपेटामा परेको छ ? भन्नुहोस् त ।
एमसिसीजस्तो घातक सम्झौता राजनीतिक पार्टीहरू संसद्बाट पास गर्न तयार हुन्छन् । अमेरिकाले सबै डोनेसन खारेज गर्छ, एमसिसी उसले नेपालमा खारेज गर्दैन । त्यसको उद्देश्य त डरलाग्दो छ नि झ् त्यसकारण सङ्घीयता, प्रदेश संरचना खारेज गर्नुपर्छ भनेर राष्ट्रिय जनमोर्चाले सुरुदेखि भन्दै आएको हो । प्रदेश संरचना राखेर नै नेपाललाई खर्चको भारी बोकाइएको छ । अर्को कुरा, तराई र भित्री मधेसलाई टुर्क्याउनकै लागि सङ्घीयता ल्याइएको हो । जातीय प्रदेश बनाएर जातिजातिको बिचमा लडाइँ गराउन सङ्घीयता ल्याइएको हो । सङ्घीयता नेपालले बोक्नै नसक्ने गरी आर्थिक रूपले टाट पल्टाउनका लागि बोकाइएको हो ।
अहिले आउने सरकारले अथवा भोलिको सरकारले नेपाली जनताको ठुलो दबाब आयो र नेपाली जनताले सङ्घर्ष गरे भने जसरी राणाशासन गयो† पञ्चायती शासन गयो† राजतन्त्र गयो† नेपाली जनताले एउटा ठुलो सङ्घर्ष गऱ्यो भने शक्तिराष्ट्रलाई पनि बाध्यता हुन्छ कि सङ्घीयता खारेज गर्नुपर्छ भन्ने । यहाँका शासकलाई महसुस हुन्छ तर यिनीहरूले सङ्घीयता खारेज गर्न सक्दैनन् । सङ्घीयता सत्तामा बस्नेलाई नै मन परेको छैन तर यिनीहरू विवश छन् । यिनीहरू बाध्य छन् सङ्घीयता बोकिरहन र नेपाली जनतालाई ऋणको दलदलमा डुबाउनका लागि । त्यसैले यिनीहरूले सङ्घीयता सजिलै बोकेका छैनन् ।
अहिले पनि राष्ट्रिय जनमोर्चाले भन्छ, नेपाली जनताले नेपाल जोगाउने हो भने प्रदेश खारेज हुनुपर्छ । त्यसको लागि नेपाली जनताले निर्णायक लडाइँ लड्नुपर्छ । जसरी हामी लडेरै राजतन्त्र गयो, हामी लडेरै पञ्चायती व्यवस्था गयो । यसरी नै नेपाली जनताले निर्णायक सङ्घर्ष गर्नुपर्छ र प्रदेश संरचना खारेज गर्नुपर्छ ।
० जेनजीले भनिरहेका छन्, स्थानीय तहको चुनाव गैरदलीय हुनुपर्छ । यस्तो मागलाई तपाईंहरूले कसरी लिनुहुन्छ ? सही हो कि गलत हो यो ?
: त्यस्तो माग त राख्न पाइन्छ तर दलहरू निष्ठावान् हुनुपऱ्यो । दलहरू राष्ट्रिय जनमोर्चाजस्तो हुनुपऱ्यो नि । घुस नखाने, भ्रष्टाचार नगर्ने, राष्ट्र नबेच्ने हुनुपऱ्यो नि झ् स्थानीय तहमा दलीय व्यवस्था भए पनि स्थानीय तहका नेता, जनप्रतिनिधि, स्वच्छ, इमानदार, भेदभाव कसैसँग नगर्ने भए फरक पर्दैन । त्यस्तो छैन । त्यसैले माथि माथि दलीय व्यवस्था हुने, स्थानीय तहमा दलीय व्यवस्था नहुने भन्ने कुरा ठिक हुन्न । मुख्य कुरा त राजनीतिक पाटीको चरित्रका कारणले नै हो । स्थानीय तह पनि भ्रष्ट भएको, प्रदेश भ्रष्ट भएको, केन्द्र पनि भ्रष्ट भएको अवस्था छ । माथिदेखि तलसम्म भ्रष्टाचारीको जालो छ नि झ् स्थानीय तहमा दलीय व्यवस्था नभए पनि भ्रष्टाचार गर्ने कुरा उन्मूलन हुन्छ भन्ने कुरा भएन । अहिले तल दलीय व्यवस्था हुनुहुन्न भन्ने पक्षमा हाम्रो पार्टीमा निर्णय भएको छैन ।
० यो राष्ट्रपतिले अब फागुन २१ गतेको चुनावको तयारीमा दलहरू लाग्नुपऱ्यो भन्दै आह्वान गर्नुभएको छ । तपाईंहरू चुनावको तयारीमा लाग्नुहुन्छ कि के गर्नुहुन्छ ?
:: लोकतन्त्र, गणतन्त्र बचाउन चुनावमा नलाग्ने त कुरै भएन, लाग्नुपर्छ । चुनाव हुन नदिने, यो २०७२ सालको संविधानलाई धुलोच्याप्टो पारेर फाल्ने र यहाँ विदेशी सेना आउने पनि रणनीति होला । नेपाललाई रणमैदान बनाउने प्रतिक्रियावादी, खास गरेर साम्राज्यवादीको जुन खालको गुरुयोजना छ; षड्यन्त्र छ; त्यसलाई चकनाचुर पार्नका लागि चुनावको विकल्पै छैन नि ! अहिले २०७२ सालको संविधानलाई नजोगाईकन, लोकतन्त्र, गणतन्त्रलाई नजोगाईकन, संसद्लाई फेरि पुनर्स्थापना गरेर नजोगाईकन त विकल्पै छैन नि झ् यही व्यवस्थाबाटै सबै हुन्छ भन्ने कुरा भएन । त्यसकारण अहिले लोकतन्त्र, गणतन्त्रको विकल्प उन्नत जातको योभन्दा अझ एउटा लोकतन्त्र हो, गणतन्त्र हो । योभन्दा उन्नत लोकतन्त्र, उन्नत गणतन्त्रको लागि हामी लड्नुपर्छ ।
अहिले जे जति नेपाली जनताको आन्दोलनद्वारा उपलब्धि प्राप्त भएको छ, यसलाई दुरूपयोग गर्नुहुँदैन । भ्रष्टाचार, बेथितीका लागि अहिले भएको संसद्को दोष होइन । गणतन्त्र, लोकतन्त्रको दोष होइन । दोष त त्यसको प्रयोग गरेर जुन लुटतन्त्र मच्चाए सत्ताधारीहरूले शक्तिमा बसेर, तिनको बदमासी हो, तिनको एक प्रकारको अपराध हो । त्यसकारण जेनजीले जुन खालको अभियान चलायो, त्यो जेनजीको नाममा देशीविदेशी प्रतिक्रियावादीले नेपाली जनताका सयौँ वर्षदेखिका संरचना ध्वस्त पारे र कैयौँ निर्दोष मान्छेको ज्यान गयो, यस खालका हत्यारा, अपराधी, षड्यन्त्रकारीको छानबिन हुनुपर्छ† खोजखन्तर हुनुपर्छ र तिनलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो ।
० अन्तमा युगदर्शनमार्फत् हामीले सोध्न छुटेका र तपाईंले भन्नुपर्ने कुरा केही छन् कि ?
:: अहिले देशमा यी सत्ताधारीको चरम भ्रष्टाचार, अनैतिक शासन, अनैतिक क्रियाकलापले गर्दा राष्ट्र अत्यन्तै डरलाग्दो मोडमा पुगेको छ । नेपालको इतिहासमा नेपाली जनताले धेरै डरलाग्दा घटना बेहोर्दै आएका छन् । त्यसकारण अहिलेका यो भदौ २३–२४ को जुन घटना हो, यो नेपालको इतिहासमा अर्को कोतपर्व हो । नेपालको इतिहासमा २०५८ सालको दरबार हत्याकाण्डजस्तै अर्को डरलाग्दो काण्ड हो । विदेशीकै जुन खालको खुलेआम यहाँ चलखेल छ, त्योमाथि निगरानी नगरे एक दिन नेपाल राष्ट्रको अस्तित्व समाप्त पार्न देशीविदेशी नेपाली जनताका दुस्मनले यो खेल खेलिरहेका छन् । त्यसमा नेपाली जनता एक ढिक्का भएर देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता, देशको अस्तित्व जोगाउने अभियानमा एक ढिक्का भएर एकजुट हुनुपर्छ । जसरी विगतमा हामी राणा फाल्दा, पञ्चायत फाल्दा, निरङ्कुश राजतन्त्र फाल्दा पार्टीका बिच मतभेद थियो, मतभेदका बाबजुद पनि हामीले लड्यौँ । अहिले २०७२ सालको संविधान जोगाउन, लोकतन्त्र, गणतन्त्र जोगाउन फेरि पनि चुनाव जित्ने शर्तमा होइन कि देश जोगाउने शर्तमा एकजुट हुनुपर्दछ । विश्व साम्राज्यवादको जुन चलखेल चलिरहेको छ नेपालमा, त्यसबाट नेपाललाई जोगाउनका लागि देशभक्त प्रजातान्त्रिक शक्तिहरू फेरि पनि एकजुट भएर नेपाल राष्ट्रको अस्तित्वमाथि जुन प्रश्नचिह्न खडा भइरहेको छ, राष्ट्र जोगाउन हामी फेरि पनि एक ढिक्का हुनुको विकल्प छैन । एक ढिक्का भएर राष्ट्र जोगाउने प्रधान काम हो भन्ने मलाई लाग्छ ।
० महत्त्वपूर्ण समय युगदर्शनलाई दिनुभयो केजीजी, तपाईंलाई धेरै धेरै धन्यवाद छ ।
:: नेपाल राष्ट्रको यस्तो सङ्कटपूर्ण बेलामा म अहिले काठमाडौँमा छैन दुई महिनादेखि । आज तपाईंले जुन एउटा अवसर दिनुभयो त्यसका लागि धन्यवाद ।
युगदर्शनले नेपाली जनता, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको पक्षमा जागरण चलाइरहेको छ । नेपाली जनतालाई चेतना दिइरहेको छ । अब आउँदा दिनमा पनि यसले जनतालाई संरक्षित गरोस् । चेतना पुऱ्याओस् । देशभन्दा माथि व्यक्ति होइन, पार्टी होइन । त्यसकारण देश बचाउने कुरामा जुन एउटा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ, आउँदो दिनमा पनि त्यो भूमिकामा युगदर्शनले लगातार अगाडि बढाओस् । यही मेरो शुभकामना छ ।
मलाई आफ्नो पार्टीको विचार राख्ने अवसर दिनुभयो, युगदर्शन र स्वयम् तपाईंहरूलाई पनि धेरै धेरै धन्यवाद छ ।