दाङ । रक्तिम सांस्कृतिक अभियानले प्रगतिशील देउसीभैलो कार्यक्रमलाई व्यवस्थित बनाउन परिचालन समितिको भेला सम्पन्न गरेको छ ।
आज कात्तिक २२ गतेदेखि भैलो खेल्ने कार्यक्रमसँगै २०८३ कात्तिक २१ गते घोराहीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा नेता सुरेश थापाले रक्तिम केन्द्रीय समितिको भैलो यसपालि दाङ जिल्लाको घोराहीमा खेलिने भएकोमा आफूलाई निकै खुसी लागेको बताउनुभयो ।
प्रगतिशील सांस्कृतिक क्षेत्रमा ख्यातिप्राप्त वा छुट्टै पहिचान स्थापित गर्न सफल रक्तिमको प्रगतिशील देउसीभैलो अभियान सफल पार्न घोराही क्षेत्रका सम्पूर्ण पार्टीपङ्क्ति, समर्थक, शुभचिन्तक र आम जनताबाट सहयोग गर्न आग्रह गर्दै उहाँले जनवादी गीतसङ्गीत र नृत्यको माध्यमबाट जनतामा सचेतना फैलाउने यो एक महत्त्वपूर्ण अवसर भएको जिकिर गर्नुभयो ।

‘अहिले हाम्रो देश साम्राज्यवादीको कब्जामा परेकाले यसबाट देशलाई मुक्त गर्न आम जनसमुदायलाई गीतसङ्गीतको माध्यमबाट सचेत बनाउने उद्देश्य पनि यो कार्यक्रमको रहेको छ’ उहाँले भन्नुभयो ।
त्यस्तै राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्लाका अध्यक्ष गणेश आचार्यले विगतमा घोराही क्षेत्रमा अनुशासित प्रकारले प्रगतिशील देउसीभैलो सम्पन्न गरेको स्मरण गर्दै अहिले त्यसरी नै रक्तिम केन्द्रीय समितिलाई सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेलामा रक्तिमका केन्द्रीय अध्यक्ष गिरिप्रसाद बुढा र अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोखरेलले पनि धारणा राख्नुभएको थियो ।
भैलो परिचालन समितिका संयोजक रामबहादुर जिएमको अध्यक्षतामा अघि बढेको उक्त भेलाले जिएमकै संयोजकत्वमा २५ सदस्य भैलो परिचालन समिति गठन गरेको छ । त्यस्तै झविन्द्र खनालको संयोजकत्वमा १५ सदस्य स्वयम्सेवक परिचालन समिति र मेघराज भट्टराईको संयोजकत्वमा नौ सदस्य मेस परिचालन समिति पनि गठन गरिएको छ ।
कार्यक्रममा परिचालन समितिका संयोजक जिएमले भैलो सञ्चालन गर्ने कार्यतालिकासहितको योजना प्रस्तुत गर्नुभएको थियो ।
सहिदको सम्झनामा एक मिनेट मौनधारण गरी अगाडि बढेको सो कार्यक्रममा स्वागत मन्तव्य राजमो दाङका सदस्य मेघराज भट्टराईले गर्नुभएको थियो भने सहजीकरण राजमो घोराहीका अध्यक्ष मनिराम खनालले ।






