सुवास शर्मा ##
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुलेपछि एकछिन रोकिएँ । केही बेर मौन उभिएँ । गहभित्र लाज र थकानको भारी थियो । म नेपाल फर्किएको थिएँ अमेरिका पुगेर । सङ्घर्षको लामो यात्रा पार गरेर । अन्ततः विफलताको चिठी बोकेर ।
मानिसहरूले मलाई चिहाए, केहीले अनौठो नजरले हेरे तर छिनभरमै आफ्ना बाटोतिर लागे । कोहीले चिनेनन् तर म आफैँलाई राम्ररी चिनिरहेको थिएँ । म त्यो व्यक्ति थिएँ, जसले अमेरिका पुगे पनि सपना पूरा गर्न सकेन । म त्यो थिएँ, जो बाँच्न अमेरिका गएको थियो तर फर्किंदा एक रित्तो बोरा र च्यातिएको सपना बोकेको थियो ।
म त्यो हजारौँ युवामध्ये एक थिएँ, जसलाई आफ्नै देशले रोजगारी दिन सकेन, जसले थुप्रैपटक अगाडि बढ्ने कोसिस गऱ्यो, कहिले मिडिया, कहिले राजनीति तर सधैँ स्रोत, अवसर र समर्थनको अभावमा पछि धकेलियो ।
‘विदेश गएपछि केही हुन्छ’ भन्ने भ्रम मलाई पनि मिठो लाग्थ्यो र अन्ततः, अमेरिका मेरो सपना होइन, मेरो अन्तिम आशा थियो । अवैधानिक बाटो थियो तर त्यो मर्न नचाहने आत्माको बाँच्ने प्रयास थियो ।
जङ्गल, नदी, सर्प, भोक, धोका, तस्करी—यो केवल यात्रा थिएन, यो एउटा दुस्साहस थियो । जब अमेरिकाको भूमि छुन सफल भएँ,
एकछिनका लागि लागेको थियो, सायद नयाँ जीवनको सुरुआत भयो तर त्यो आशा चाँडै ओइलायो ।
कागज थिएन । कानुनले चिनेन । महिनौँ हिरासतमा परेँ अनि अन्ततः एक कागज थमाइयो— ‘तिमी नेपाल फर्क । यो देश तिम्रा लागि होइन ।’
न्युयोर्कबाट फर्किंदा मेरो शरीर मात्र होइन, आत्मा नै थकित थियो । म एक्लो थिएँ । मिडियाले अनुहार देखाएर हेडलाइन बनायो : “अवैधानिक रूपमा अमेरिका पुगेका नेपाली फर्किए ।”
सामाजिक सञ्जालमा व्यङ्ग्यको बाढी आया : “डलर काढ्न गएकाहरू बोरा बोकेर फर्किए” तर कसैले बुझेन, म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ । मलाई महल र गाडी होइन, आत्मसम्मान चाहिएको थियो ।
फर्किएपछि झनै गहिरो चोट लाग्यो । साथी टाढा भए । आफन्त मौन । मानौँ, म चेतावनी हुँ, ‘यस्तै हुन्छ विदेश जाँदा ।’
कोही सोध्थे– ‘के ल्यायौ त ?’ मानौँ म किनमेल गर्न गएको थिएँ तर कसैले मेरो सङ्घर्ष, मेरो आँसु, मेरो साहस देखेन ।
म अमेरिका पैसा कमाउन गएको थिइनँ । म मेरो अस्तित्व खोज्न गएको थिएँ । मजस्ता लाखौँ युवा छन्, जसले सपना देख्छन् तर बाटो देख्दैनन्, जसको इमानदारीलाई देशले चिन्दैन, क्षमता देख्दैन ।
यहाँ सफलता हेर्न सकिँदैन । सहन सकिँदैन । ऊ माथि उठ्ला कि भन्ने डरले समाजले सघाउँदैन अनि यस्तै सोचले गर्दा म जस्तैहरू देश छोड्न बाध्य हुन्छन् ।
आज म नेपालमै छु । रित्तो हात भए पनि मनमा अझै आशा बाँकी छ । म केही सानो काम गर्न चाहन्छु । सायद खेतमा, व्यापारमा तर हरेक बिहान लाग्छ, मलाई अपराधी ठानिन्छ । के म साँच्चै दोषी हुँ ?
देश छोड्नु अपराध होइन । प्रयास गर्नु पाप होइन ।
देशमा विदेशिने युवालाई रोक्ने रणनीति छैन, न फर्किएकालाई समेट्ने नीति । हामी अझै भ्रममा बाँचेका छौँ, ‘विदेश गयो भने सफल, फर्कियो भने असफल’ तर फर्किएको प्रत्येक अनुहार एउटा कथा हो– एक प्रयासको कथा, एक सपनाको कथा । कृपया, उनीहरूलाई तुच्छ नठानौँ । उनीहरूले प्रयास गरेका थिए ।
हो, म अमेरिका गएँ । फर्किएँ । विफल भएँ तर म मरेको छैन । मेरो भित्र अझै आशाको झिल्को बलिरहेको छ । म अब आफ्नै देशमा केही गर्न चाहन्छु, कानुनी, इमानदार र पूर्ण नेपाली भएर ।
रित्तो बोरामा च्यातिएको सपना बोकेर पनि म आज उभिएको छु, लाजले भरिएको तर आत्मसम्मानले बलियो । कृपया, मलाई अपराधी नबनाऊ । म देश छोडेर गएको थिएँ तर देशको माया कहिल्यै छोडेको थिइनँ ।
अब म यहीँ छु, फेरि एकचोटि सपना बोकेर ।