जेनेभा । अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) करनीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै पक्षले ती शुल्क ११५ प्रतिशत बिन्दुले घटाउन सहमत भएका हुन् ।
यसको अर्थ अमेरिकामा आयात हुने चिनियाँ सामानमाथि ३० प्रतिशत कर लाग्ने र चीन आयात हुने अमेरिकी सामानमा १० प्रतिशत कर लगाइनेछ ।
सहमतिले विश्वव्यापी आर्थिक मन्दीको डर बढाएको व्यापारयुद्धलाई कम गर्ने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी करवृद्धिको घोषणा गरेपछि शनिबार र आइतबार भएको पहिलो वार्तापछि विश्वका दुई ठुला अर्थतन्त्रले संयुक्त वक्तव्य जारी गर्दै तीन अङ्कको करलाई दुई अङ्कमा झार्ने र वार्तालाई निरन्तरता दिने सहमति गरेका छन् ।
अमेरिकी अर्थमन्त्री बेसेन्टले चीनका उपप्रधानमन्त्री हे लिफेङ र अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि ली चेङगाङसँग सप्ताहान्तमा भएको वार्ता स्वस्थ र फलदायी भएको बताउनुभयो ।
‘दुवै पक्षले ठुलो सम्मान देखाएका छन्’ बेसेन्टले सञ्चारकर्मीसँग भन्नुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना चीनका लागि आयातमा १४५ प्रतिशत कर लगाउनुभएको थियो भने अन्य मुलुकका लागि १० प्रतिशत कर लागु भएको घोषणा गर्नुभएको थियो ।
बदलामा बेइजिङले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको छ ।
वक्तव्यमा दुवै पक्षले आर्थिक र व्यापारिक सम्बन्धका बारेमा छलफल जारी राख्ने संयन्त्र स्थापना गर्न सहमति जनाएका छन् ।
चीनले वार्तामा भएको ॅउल्लेखनीय प्रगति’ को प्रशंसा गरेको छ । (रासस/एएफपी)