काठमाडौँ । कश्मीरको पहलगाममा २६ जनाको ज्यान जाने गरी मंगललबार भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ ।
पाकिस्तानविरुद्ध भारतले प्रतिरोधात्मक कदम चाल्न थालिसकेको छ। भारतले पाकिस्तानसँगको सीमामा अवस्थित मुख्य नाका बन्द गरेको छ भने पानी बाँडफाँटको सन्धि स्थगित गरेको छ ।
यस्तै, पाकिस्तानी कूटनीतिज्ञहरूलाई निष्कासित गरेको छ । पाकिस्तानी राहदानी भएका केही मानिसहरूलाई ४८ घण्टाभित्र भारत छोड्न निर्देशन दिएको छ।
भारतमा रक्षामन्त्री राजनाथ सिंहले पहलगाम आक्रमणका दोषीहरूलाई मात्रै नभई भारतीय भूमिमा उक्त ‘घृणित कार्य’का योजनाकारहरूमाथि पनि कारबाही गर्ने उद्घोष गरेका छन्।
पाकिस्तानले कश्मीरको घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेको छ। भारतले अहिले चालेका कदमको जबाफ दिन इस्लामाबादमा अधिकारीहरूले बिहीवार छलफल गर्न लागेको पाकिस्तानका विदेशमन्त्रीले बताएका बीबीसीले जनाएको छ ।
विश्लेषकहरू अब भारतले सैन्य कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्नभन्दा पनि कहिले, कसरी र कस्तो सैन्य कारबाही गर्छ भन्ने प्रश्न महत्त्वपूर्ण भएको ठान्छन्।
‘आन्तरिक सरोकारवाला र पाकिस्तानमा भएका पात्रहरूलाई ‘भारतीये दृढताको सङ्केत देखाउने खालको कडा प्रतिक्रिया हुने सम्भावना छ। सन् २०१६ र विशेष गरी २०१९ पछि भारतले गर्ने प्रतिवाद सीमापारि पाकिस्तानी भूमिमा गरिने आक्रमण वा हवाई हमला हुने तय भइसकेको छ,’ सैन्य इतिहासकार श्रीनाथ राघवन भन्छन्।
उनले बीबीसीसँग भनेका छन्, ‘त्योभन्दा सानो जबाफ दिन अब सरकारलाई कठिन छ। पाकिस्तानले पनि यसअघिको जस्तै जबाफ फर्काउन सक्छ।’
सन् २०१६ मा उरीमा भएको घातक आक्रमणमा १९ भारतीय सैनिकको ज्यान भएको थियो। त्यसपछि भारतले ‘लाइन अफ कन्ट्रोल’ भनिने दुई देशले मान्दै आएको सीमा क्षेत्रमा ‘सर्जिकल स्ट्राइक’ गरेको थियो।
त्यस बेला भारतले आफूले पाकिस्तान प्रशासित कश्मीरमा रहेका आतङ्ककारी समूहका ‘लन्चप्याड’ लाई निसाना बनाएको दाबी गरेको थियो।
सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा अर्धसैनिक फौजका ४० जवानहरू मारिए। त्यसपछि भारतले ‘आतङ्कवादीहरूको क्याम्प रहेको’ दाबी गर्दै सन् १९७१ पछि पहिलो पटक पाकिस्तानको भित्री क्षेत्रसम्म आक्रमण गर्यो।
त्यसको जबाफ दिन पाकिस्तानले पनि हवाई आक्रमण गर्यो र भारतीय वायुसेनाका एक विमानचालकलाई केही समय आफ्नो नियन्त्रणमा लियो।
त्यस बेला दुवै पक्षले आफ्नो शक्ति प्रदर्शन गरे पनि युद्धतर्फ अघि बढेनन्। त्यसको दुई वर्षपछि सन् २०२१ मा दुई देशबीच ‘लाइन अफ कन्ट्रोल’ युद्धविराम सम्झौता भयो।
वाशिङ्टनस्थित एउटा थिङ्क ट्याङ्क विल्सन सेन्टरका दक्षिण एशिया निर्देशक माइकल कुगल्मन भारतीय नागरिकहरूमाथि लक्षित आक्रमण र धेरै मानिसको ज्यान जाने गरी भएको हमलाका कारण भारतले पाकिस्तानविरुद्ध सैन्य जबाफ दिने सम्भावना धेरै रहेको बताउँछन्।
‘यस्तो कदमको भारतलाई राजनीतिक फाइदा पनि हुन्छ किनभने बल प्रयोग गर्नुपर्ने पक्षमा भारतमा ठूलो सार्वजनिक दबाव हुन्छ,’ उनले बीबीसीसँग भने।
वैशाख ९ गते (२२ अप्रिल) मा पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जना व्यक्ति मारिएका थिए ।