मोहनविक्रम सिंह ##
कामरेड जलजला उपन्यासको प्रारम्भ कामरेड जलजलालाई पार्टीको भूमिगत कार्य गर्नका लागि रोल्पाको थबाङ पठाउने कार्यबाट सुरु हुन्छ । उपन्यासको पहिलो परिच्छेदमा नै त्यो कुरा उल्लेख गरिएको छ । त्यसपछिको करिब १० वर्षको समय नै उपन्यासको काल अवधि हो । त्यो कालमा देशमा पञ्चायती तानाशाही व्यवस्था थियो । त्यसैले उक्त उपन्यासमा पञ्चायती कालको अवस्थाबारे पनि केही चित्रण गरिएको छ । उपन्यासको तेह्रौँ परिच्छेदको शीर्षक नै “पञ्चायती राज” छ र त्यसमा त्यो बेलाको पञ्चायती व्यवस्थाको अवस्थामाथि प्रकाश हालिएको छ ।
सुनन्दा कुमाउँको पिथौरागढ जिल्लाको दारमा प्रगन्नाकी सौका जातिकी एउटी युवती हुन् । उनले नयाँदिल्लीको जवाहरलाल युनिभर्सिटीमा पिएचडी गर्दैछन् । उनको शोधको विषय “गढवाल कुमाउँ र पश्चिम नेपालको कर्णाली प्रदेशको मध्यकालीन इतिहासको तुलनात्मक अध्ययन” रहेको थियो ।
लखनऊमा सुनन्दाकी एउटी मित्र थिइन्, रोल्पा थबाङकी विद्या रोका (उपन्यासमा उनलाई कतिपय ठाउँमा विद्या थापा पनि लेखिएको छ तर उनी थापा नभएर रोकामगर हुन्) जलजला थबाङ गएको बेलामा उनको घरमा नै बस्दथिन् । पछि थबाङमा पुलिसले जलजला पार्टीको कार्यकर्ता भएको थाहा पाएर उनलाई पक्रन खोजेपछि उनी त्यहाँबाट भागेकी थिइन् र त्यो बेला विद्या पनि उनीसँगै आएकी थिइन् । जलजलाले उनलाई लखनऊमा चिया पसल गर्ने उनका बाउकहाँ छाडेकी थिइन् र उनले त्यही नै पढ्न थालेकी थिइन् तर पछि जलजलाको उनलाई कुनै समाचार प्राप्त भएको थिएन र त्यसका लागि उनी धेरै नै चिन्तित थिइन् । लखनउमा नै उनको सङ्गत सुनन्दासित भएको थियो, जसले लखनऊमा नै बसेर पढ्ने गर्दथिन् । त्यहीँ नै दुवै जनाको बिचमा घनिष्ट मित्रता कायम भएको थियो । उनी गान्धीवादी थिइन् तर विद्याको आग्रहमा नै सुनन्दा जलजलालाई खोज्न विद्यासँगै नेपालतिर आएकी थिइन् । अझ वास्तविकता त यो थियो कि जलजलालाई खोज्ने उद्देश्य राखेर नै उनले आफ्नो शोधको विषयमा पश्चिम नेपालको मध्यकालीन इतिहासको विषय पनि समावेश गरेकी थिइन् ।
जलजलालाई खोज्न नेपालको भ्रमण गर्ने सिलसिलामा नै उनी भैरहवा जेलमा परेकी थिइन् । त्यहाँ पहिले अजितले माटोको कुर्सीभित्र कम्युनिस्ट साहित्यसम्बन्धी केही पुस्तक र दस्तावेज लुकाएर राखेका थिए । त्यहाँबाट अर्को जेलमा चलान हुने बेलामा उनले ती सामग्री निकाल्न पाएका थिएनन् । पछि जेलमा बसेका महिलाले सफाइ गर्ने बेलामा ती पुस्तक फेला पारेका थिए र सुन्दाले तिनीहरूलाई पढ्ने मौका पाएकी थिइन् । तिनीहरूलाई पढेर नै उनको मार्क्सवादी–लेनिनवादी दर्शनप्रति झुकाव पैदा भएको थियो । पछि उनी मार्क्सवादी–लेनिनवादी पनि बनेकी थिइन् । पछि उनलाई भैरहवाबाट काठमाडौँको जेलमा चलान गरिएको थियो र त्यही नै उनी जेलमुक्त पनि भएकी थिइन् ।
जेलबाट छुटेपछि जलजलालाई खोज्ने क्रममा उनको एउटा पूर्व कम्युनिस्ट र पत्रकार शिवध्वज बस्नेतसित भेट भएको थियो । उनलाई भेट्न उनको घरमा जाँदा उनी घरमा थिएनन् । उनकी पत्नीले उनलाई आफ्नो पतिको पुस्तकालयमा बस्न भनेकी थिइन् । उनीसित अनुमति लिएर सुनन्दाले शिवध्वज बस्नेतको पुस्तकालयमा पुस्तक र पत्रिका पढ्न थालेकी थिइन् । खास गरेर त्यहाँ राखिएका पत्रपत्रिकाका फाइलप्रति उनको बढी ध्यान गएको थियो ।

उपन्यासमा लेखिएको छ– “२०३८ साल वैशाखदेखिका पत्रपत्रिकाका फाइल थिए । पत्रपत्रिकामा मुख्य समाचार निर्वाचनसित सम्बन्धित थिए । सरकारले वैशाखमा राष्ट्रिय निर्वाचनको चुनाव गराउने घोषणा गरेको थियो । सरकारले तेस्रो संशोधन गरेर राष्ट्रिय पञ्चायतको चुनाव बालिग मताधिकारका आधारमा गराउने घोषणा गरेको थियो तर कम्युनिस्ट र काङ्ग्रेस पक्षले सम्पूर्ण निर्दलीय व्यवस्थाको अन्तको माग गर्दै त्यो चुनावको बहिष्कार गर्ने घोषणा गरेका थिए । त्यस सिलसिलामा देशभरिमा सभा, जुलुस, मसाल जुलुसका कार्यक्रम भइरहेका थिए ।”
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको थियो– “एउटा पत्रिकामा वैशाख १९ गतेदेखि संयुक्त बहिष्कार सप्ताह मनाउने घोषणा गरेको समाचार दिइएको थियो । देशका कतिपय भागमा प्रहरीद्वारा गोली चलाएर मानिस मारिएका समाचार पनि पत्रपत्रिकामा प्रकाशित भएका थिए । ठाउँठाउँमा गिरफ्तारी भएका, गिरफ्तार गरेकालाई यातना दिएका समाचारले पत्रपत्रिका भरिएका थिए । सरकारको दमनको विरोधमा नेपालबन्द कार्यक्रमको पनि आयोजना गरिएको थियो । त्यही प्रकारको परिस्थितिमा अन्तमा चुनाव सम्पन्न भयो ।”
समाचार पढ्दापढ्दै एउटा समाचारमा गएर उनका आँखा रोकिए । त्यो समाचार थबाङको थियो । त्यो समाचार पढेर उनी धेरै नै रोमाञ्चित भएकी थिइन् किनभने त्यो समाचार विद्याको गाउँसित सम्बन्धित थियो । उनले तुरुन्तै विद्यालाई बोलाएर त्यो समाचार सुनाउन खोजिन् तर उनले शिवध्वजकी पत्नी शोभासित बसेर कुरा गरिरहेकी थिइन् । त्यसकारण उनको कुराकानीमा बाधा हाल्नु उनले उचित ठानिनन् र उनले एक्लै त्यो समाचार पढ्न थालिन् । त्यो समाचारमा लेखिएको थियो– “चुनावका दिन बहिष्कार आन्दोलनलाई दबाउन कैयौँ ठाउँमा गोली चल्यो । कैयौँ बुथ पूरै खाली भएका थिए । रोल्पाको थबाङमा पूरै बहिष्कार भएको समाचार प्रकाशित भएको थियो ।”
उनले सर्सरी प्रकारले विभिन्न पत्रपत्रिकामा समाचार शीर्षक पढ्न थालिन् । उनले भैरहवा जेलमा हुँदा नै पोखराको नमिता–सुमिताको बलात्कार र हत्याकाण्डको हल्ला सुनेकी थिइन् । पत्रपत्रिकामा अहिले पनि त्यो काण्डबारे समाचार प्रकाशित भइरहेका थिए । एउटा “साप्ताहिक जनमार्ग” ले त्यससम्बन्धी समाचार दिँदै लेखेको थियो : “नमिता र सुनिता श्री ५ महाराजधिराजका सहसचिव राजभण्डारीका छोरी थिए । उनीहरू एसएलसीको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए र अमृत साइन्स क्याम्पसमा पढ्दथे । उनीहरू आफ्नी एउटी साथी निरा पराजुलीका साथ पोखरा घुम्न गएका थिए । जेठ १८ गते उनीहरूको अपहरण भएको थियो । उनीहरूलाई बलात्कार गरी हत्या गरेर सेती नदीमा फालिएको थियो । नमिता र सुमिताको लास सेतीमा फेला परेका थिए तर पराजुलीबारे केही पत्ता लागेको थिएन ।
त्यो समाचार पढेर सुनन्दा धेरै नै मर्माहित भइन् । अरू पत्रपत्रिकाले पनि त्यससम्बन्धी समाचार दिएका थिए । उनले त्यो घटनासित सम्बन्धित विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार पढ्न थालिन् ।
साउन २० गते प्रकाशित “मातृभूमि साप्ताहिक” मा वरिष्ठ कम्युनिस्ट नेता मनमोहन अधिकारीको एउटा वक्तव्य प्रकाशित भएको थियो । त्यसमा भनिएको थियो– “पोखरा मात्र किन, आज सम्पूर्ण देशभरि हत्या, बलात्कार, गुन्डागर्दी, यस व्यवस्थाको चरित्र भइरहेको छ ।”
उपन्यासमा “मातृभूमि साप्ताहिक” को त्यही अङ्कमा भूतपूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको पनि वक्तव्य दिइएको थियो । त्यसमा भनिएको थियो– “पोखरा हत्याबारे भनौँ, यतिन्जेल पुलिसले हत्यारा को हुन् ? पत्ता लगाएका छैनन् । अपराधी दण्डित भएन भने अपराध बढ्दै जान्छ र शान्तिसुरक्षाको स्थिति भयावह भएर जानेछ ।”
अन्य पत्रपत्रिकाको अध्ययनबाट सुनन्दालाई थाहा भएको थियो कि त्यो घटनाको छानबिन गर्न देशभरिबाट माग गरिएको थियो । त्यस सिलसिलामा ५०–६० जना मानिसलाई गिरफ्तार गरेर यातना पनि दिइएको थियो । त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको थियो– “मानिसको भनाइ थियो, ती सबै निर्दोष जनता थिए । अञ्चलाधीशसहित सबै मुख्य अधिकारीलाई काठमाडौँ झिकाइएको थियो तर त्यो घटनाको वास्तविकता पत्ता लाग्न सकेको थिएन ।”
सुनन्दाको ध्यान साउन ८ गते प्रकाशित “राष्ट्रपुकार” को यो भनाइतिर गयो– “नमिता–सुनिता हत्याकाण्डका नाइकेसँग केही ठुला घरानाका नाइकेको साँठगाँठ छ रे ! उनीहरूलाई पक्राउ गर्न सकिन्न रे झ् हत्या र बलात्कार उनीहरूको पेसा हो रे !”
अन्य पत्रपत्रिकामा पनि बलात्कार वा हत्याका समाचार भरिएका थिए । ती पत्रिकामा लेखिएको थियो– “सूर्यविनायकको जङ्गलमा मुख थुनेर युवतीलाई बलात्कार गर्ने प्रयास गरिएको थियो । फर्पिङको जङ्गलमा स्कुलबाट फर्किएकी छात्रालाई बलात्कार गर्ने प्रयत्न गरिएको थियो । भैरहवामा सामूहिक बलात्कारका कैयौँ घटना घटेका थिए । काठमाडौँको झोँछेमा एउटा घरानिया युवकले ११ वर्षकी नोकर्नीलाई बलात्कार गरेको थियो ।”
त्यस सिलसिलामा उपन्यासमा अगाडि पनि लेखिएको थियो– “जनकपुर अस्पतालमा तीन दिनकी सुत्केरीलाई बलात्कार गर्ने प्रयास गरिएको थियो तर डाक्टर आएपछि त्यो अपराधी भागेको थियो ।
एउटा साप्ताहिकले लेखेको थियो– “सिद्धार्थनगरको अञ्चलापुरमा नेसनल ट्रेनिङका ड्राइभरको घरमा बास बसेकी ३१ वर्षीय शिक्षित महिलालाई असार २४ गते ९ बजे ५–७ जना मण्डलेले छुरीकट्टा देखाई ढोका बन्द गरी लछारपछार गर्दै उत्तरपट्टिको खेतमा सामूहिक बलात्कार गरेका थिए ।”
उनका आँखा भैरहवाबाट प्रकाशित हुने “दैनिक निर्णय” को एउटा फाइलमा पऱ्यो । ती पत्रिकामा बलात्कारसम्बन्धी कैयौँ समाचार प्रकाशित भएका थिए ।
साउनको “दैनिक निर्णय” को एउटा अङ्कमा “हवलदारलगायत तीन जना प्रहरीद्वारा सामूहिक बलात्कार” शीर्षकले मुख्य समाचार प्रकाशित भएको थियो । त्यसमा साउन २३ गते वडा नम्बर ५ मालरोडमा डेरा गरेर बसेका दम्पतिमाथि हवलदारसहित तीन जना प्रहरीले पतिपत्नी सुतेका बेलामा आक्रमण गरी पतिलाई पिटेर पत्नीलाई बजारमण्डीको एक झुपडीमा लगेर दुई जनाले समात्ने र एक जनाले बलात्कार गर्ने गरी पालैपालोसित सामूहिक बलात्कार गरेको समाचार छापिएको थियो । त्यही अङ्कमा नेपालगञ्जमा तीन जना मजदुर महिलामाथि सामूहिक बलात्कार गरेको समाचार प्रकाशित भएको थियो ।
भाद्र १७ गतेको “दैनिक निर्णय” को पर्वतमा “लोग्नेकै सामु स्वास्नीको बलात्कार” शीर्षकमा अर्को समाचार प्रकाशित भएको थियो । त्यसमा लेखिएअनुसार केही समयअघि दुई जना पतिपत्नी पर्वतको आफ्नो गाउँ फुर्गा सिरकाउबाट बागलुङ आफ्नो नातेदारका घरमा जाँदै थिए । त्यही बेला एउटा गुन्डाले पुल बिग्रेको छ, अहिले नजानुस् भनी बास बस्न लगायो । राती लोग्नेलाई मार्ने धम्की दिई लोग्नेकै अगाडि पत्नीमाथि बलात्कार गरिएको थियो । त्योभन्दा केही समयअघि पर्वतको होस्याङदी अर्घाउँदी गाउँमा आठ जना गुन्डाले मलायाको लाहुरेलाई लाठीले पिटी हातखुट्टा बाँधेर लोग्नेको अगाडि नै उसकी पत्नीलाई बलात्कार गरेका थिए र रु. २५ हजारको धनमाल पनि लुटेर लगेका थिए… ।
उपन्यासमा अगाडि लेखिएको थियो– “सुनन्दाको आँखाका अगाडि कैयौँ बेरसम्म नमिता–सुनिता काण्डदेखि ती सबै घटनाका दृश्य घुमिरहे ।
पहिले उनले नेपाललाई विश्वको एक मात्र हिन्दु राज्य, बुद्धको भूमि र शान्तिक्षेत्र मान्दथिन् । उनलाई के लाग्थ्यो भने भारतमा भन्दा नेपालमा शान्ति, सुव्यवस्था र न्याय छ । ती पत्रिका पढेर उनका ती सबै धारणा एकपछि अर्को गर्दै टुट्दै गए । उनले बलात्कार र हत्याका ती समाचार, स्वयम् पतिका अगाडि नै पत्नीको बलात्कार वा सामूहिक बलात्कारका घटना उनको दिमाग घुम्न थाल्यो ।”
घडीमा भर्खर ३ बजेको थियो । शिवध्वज बस्नेत आउन अझै १ घन्टा बाँकी थियो । उनले अरू पत्रिका पढ्न थालिन् । पत्रिकामा भ्रष्टाचारसम्बन्धी कैयौँ काण्डको पनि उल्लेख गरिएको थियो† जस्तै कि डाल्डाकाण्ड, गलैचाकाण्ड, चरेसकाण्ड आदि । रुसी दूतावासले गोप्य रूपले ८४ ओटा बाकस भित्राएकोबारे पनि कैयौँ पत्रिकाले टिप्पणी गरेका थिए । ती बासकमा के थियो ? यो सबैतिर उत्सुकता र चर्चाको विषय बनेको थियो ।
उपन्यासमा पत्रपत्रिकामा छापिएका भ्रष्टाचारसम्बन्धी अरू कैयौँ काण्डको पनि चर्चा गरिएको थियो† जस्तै कि शाही नेपाल वायुसेवा निगमको बोइङ काण्डबारे पनि कैयौँ समाचार प्रकाशित भएका थिए । त्यससम्बन्धी भ्रष्टाचारको छानबिन गर्न सरकारले कमिसनको पनि गठन गरेको थियो तर कसैमाथि कुनै कारबाही गरिएन ।
खाद्य संस्थाले खाने तेलमा खेसिल आयल मिलाएर बेच्यो । राष्ट्रिय व्यापार निगमले फलामे छडीमा केही व्यापारीसँग मिलेर लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको थियो । वनस्पती घ्यु र बियर आयात गर्न र चामल तिब्बत पठाउन स्वीकृति दिँदा प्रधानमन्त्रीले करोडौँ रुपैया चन्दा लिएको कुरा उठ्यो तर त्यसबारे पनि कुनै कारबाही भएको थिएन ।
सिमेन्ट आयात गर्न प्रतिटन ९० अमेरिकी डलर बढी लिएर इजाजत दिएको भन्ने कुरा पनि उठ्यो तर त्यसबारे पनि कुनै छानबिन वा कारबाही गरिएको थिएन ।
उपन्यासमा त्यस प्रकारका भ्रष्टाचारका काण्डसम्बन्धी समाचार पढेपछि सुनन्दामा कुन प्रकारको प्रतिक्रिया भएको थियो ? त्यसको चर्चा गर्दै उपन्यासमा लेखिएको थियो– “पहिले भारतमा हुँदा उनले के सोच्थिन् भने नेपालमा राजाको शासन छ । त्यहाँ प्रजातन्त्र नभए पनि भ्रष्टाचार छैन । संसदीय प्रजातन्त्रमा हजारौँ मानिसको शासन हुन्छ । शासनमा परिवर्तन भइरहन्छ । त्यसकारण उनीहरूमा भ्रष्टाचार गरेर छिट्टै धन कमाउन र धनी हुने होड चल्छ तर राजासित सम्पत्तिको कमी हुन्न र भ्रष्टाचार गर्नुपर्ने आवश्यकता हुन्न । राजाको डर र निष्पक्ष न्यायले गर्दा अरूले पनि भ्रष्टाचार गर्न पाउँदैनन् ।”
“तर अब सुनन्दालाई लाग्न थाल्यो, राजाको शासनमा पनि सबैतिर भ्रष्टाचार व्याप्त थियो । उनले ता यहाँसम्म सुनेकी थिइन्, राजघराना नै कैयौँ प्रकारले तस्करी वा भ्रष्टाचारमा संलग्न थियो । राजपरिवार कानुनभन्दा माथि थियो । उनीहरूका विरुद्ध कुनै मुद्धा चल्न सक्दैनथ्यो । त्यसैले उनीहरूले निर्भय भएर आफ्ना आपराधिक कारबाही गर्न सक्दथे ।”
उनले ता यो पनि सुनेकी थिइन्, “राजपरिवारका सदस्यको विदेशका बैङ्कमा अर्बौँ रुपैया जम्मा थियो । अरू कैयौँ मानिसले पनि राजपरिवारको आडमा निर्धक्क भएर अपराध गर्न सक्दथे ।”
उपन्यासमा अगाडि लेखिएको थियो– “सबै पार्टी र मौलिक अधिकारमाथि नियन्त्रण थियो । कसैले राजा, पञ्चायती व्यवस्था वा सामान्य पञ्चको पनि कुनै विरोध गरे उनीहरूलाई राजा र व्यवस्था विरोधी वा अराष्ट्रिय तत्त्व भनेर मुद्दा चलाइन्थ्यो वा गिरफ्तार गरिन्थ्यो ।”
उपन्यासको काल अवधि समाप्त भएको करिब चार दशकको समय बितिसकेको छ । त्यो अवधिमा नेपालको राजनीतिमा कैयौँ परिवर्तन भएका छन् । २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भयो र देशमा वैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था कायम भयो । त्यसपछि नारायणहिटी दरबार हत्याकाण्ड भयो र राजा वीरेन्द्रको सम्पूर्ण परिवारको हत्या गरियो । त्यसपछि ज्ञानेन्द्र शाह राजगद्दीमा बसे । ज्ञानेन्द्र शाहले २०५९ सालमा वैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरङ्कुश शासन कायम गरे । त्यसका विरुद्ध २०६२–६३ सालमा देशव्यापी रूपमा आन्दोलन चल्यो र राजतन्त्रको अन्त्य भएर देशमा गणतन्त्रको स्थापना भयो । देशको संविधानमा धर्मनिरपेक्षतासमेतको व्यवस्था गरियो ।
देशमा बहुदलीय व्यवस्था कायम भएको करिब डेढ दशक लामो समय बितिसकेको छ । राजावादीले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्यका लागि अभियान चलाइरहेका छन् ।
उपन्यासको काल अवधिपछिको करिब चार दशकको अवधिमा राजनीतिले प्रतिगामी दिशा लिने पनि गरेको छ तर त्यसका विरुद्ध उठ्ने जनउभारले राजनीतिलाई झन् उच्च दिशा दिने गरेको छ । त्यसैको परिणाम हो कि २०५९ सालमा वैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थालाई समाप्त गर्ने प्रतिगामी प्रयत्नको परिणामस्वरूप देशको राजनीतिले झन् उच्च र गणतन्त्रको दिशामा फड्को माऱ्यो । अब त्यसलाई समाप्त गर्ने जुन प्रतिगामी प्रयत्न भइरहेका छन्, त्यसले देशलाई अरू कुन उच्च दिशा र रूपमा लैजानेछ ? त्यो कुरा आउने दिन वा दशकमा थाहा हुँदै जानेछ ।
इतिहासको विकासको नियम यस्तै हुन्छ । त्यो सिधा रेखाबाट होइन, बक्ररेखाबाट अगाडि बढ्ने गर्छ । कैयौं प्रकारका उतारचढाव, घुम्ती र टेडामेडा बाटाबाट हुँदै अगाडि बढ्दछ तर त्यसको मूल गति निम्नस्तरबाट उच्चस्तरमा वा अग्रगमनको दिशामा नै हुन्छ । विश्वको र नेपालको पनि इतिहास त्यसरी नै अगाडि बढ्दै आएको छ र भविष्यमा पनि त्यसरी नै अगाडि बढ्नेछ भन्ने कुराको विश्वास गर्न सकिन्छ । त्यसको निष्कर्ष यो हो– अन्तमा इतिहासको मूल गति प्रतिगमन होइन, अग्रगमनको दिशामा नै हुनेछ ।
अन्तमा, अहिले राजावादीले पञ्चायतीराज पुनर्स्थापनाको निकै कुरा उठाइरहेका छन् । उनीहरूको दाबी छ, त्यसो भएमा अहिले समाजका सबै कुशासन, भ्रष्टाचार, बलात्कार र हतया अव्यवस्था वा राजनीति अस्थिरता आदि सबै समाप्त हुनेछन् तर माथि उपन्यासमा वास्तविक घटना वा तथ्यको आधारमा जुन चित्र प्रस्तुत गरिएको छ, त्यसबाट त्यो बेलाको स्थिति कस्तो थियो र त्यसको पुनर्स्थापना भएमा देशमा कुन प्रकारको स्थिति उत्पन्न हुनेछ श्र त्यो कुरा स्वतः प्रष्ट हुनेछ ।