विष्णु शर्मा ##
भोको पेट भर्नु थियो
कपासको जोहो गर्नु थियो
ऋणको खाडल पुर्नु थियो
सपना आकाशमा उड्नु थियो
चुहेको छानो छाउनु थियो
बिमारको उपचार पाउनु थियो
भत्केको पिँढी टाल्नु थियो
उज्यालो किरण बाल्नु थियो
साहुको हातबाट जग्गा लिनु थियो
बाबाआमालाई सुख दिनु थियो
भाइबहिनीलाई शिक्षा दिलाउनु थियो
मिठा सपना देखी निदाउनु थियो
सगरमाथा शिखर छुनु थियो
परिवारको प्यारो हुनु थियो
उमङ्गको ज्योति बलाउनुथियो
गाउँकै नाम चलाउनु थियो
सबैको जीवनस्तर उठाउनु थियो
मागअनुसारका सबै जुटाउनु थियो
परदेशमा पैसाको बोट थियो
गाउँमा गरिबीको चोट थियो
मनमा सपनाका चाङ थिए
बाटा लाग्दा सबैका माग थिए
परदेशका घरहरू फरक थियो
यहाँको रहनसहन अलग थियो
नयाँ नयाँ ठाउँ डराउनीजस्तो
मानिसको भिड हराउनीजस्तो
आउँदा साथै काम मिलेन
काम नभएपछि माम मिलेन
भोकमा खान मकै थिएन
सबैका समस्या एकै थिएन
खा बाबु भन्न बाबा आमा थिएनन्
सहजै बोल्न आफ्नो मातृभाषा थिएन
पैचो दिने छिमेकी थिएनन्
भएका पनि बिबेकी थिएनन्
सोचेजस्तो भएन कसैलाई परदेश
आफन्तको खुसी लिई गएन परदेश
सिङ्गो जीवन परदेशमै गयो
प्यारो जन्मभूमि बिरानो भयो