काठमाडौं । सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले राजदूत नियुक्ति गर्न भागबण्डा मिलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राजदूत नियुक्तिमा सहमति बनेको हो।
सहमति अनुसार अमेरिका, चीन, बेलायत र रुसमा एमालेले राजदूत सिफारिस गर्नेछ। स्रोतका अनुसार भारत, जापान, अस्ट्रेलिया र मलेसियामा कांग्रेसको सिफारिसमा राजदूत नियुक्त गर्ने सहमति बनेको छ।
एमाले र कांग्रेसबीच खाली रहेका अन्य देशमा पनि राजदूत सिफारिस गर्ने सहमति बनेको उच्च स्रोतले जनाएको छ। सहमति अनुसार एमालेभन्दा कांग्रेसले एक बढी देशमा राजदूत सिफारिस गर्नेछ।
दुई वटा छिमेकीमध्ये एमालेले चीन र कांग्रेसले भारतमा राजदूत सिफारिस गर्ने सहमति बनेको हो। भारत, अमेरिका र बेलायतस्थित राजदूतहरूलाई यसअघिकै सरकारले फिर्ता बोलाइसकेको छ। यद्यपि, भारतमा डा शंकर शर्माले नै काम गरिरहेका छन्।