काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा सिके राउत नेतृत्वको जनमत पार्टीका सतिश सिंहले दाबी पेश गरेका छन् ।
सप्तरी २ (क)बाट निर्वाचित ४२ वर्षीय सिंहले शुक्रबार बिहान ८ बजे मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष ५५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेस गरेका हुन्।
सिंहले शुक्रबार दिउँसो १२ बजे मुख्यमन्त्रीमा शपथ लिने तयारी छ।
मधेस प्रदेशका निर्वतमान मन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद समिर भट्टराईले ६ दलले आपसी सहमतिमा मन्त्रालयको भागबण्डासमेत टुंग्याइसकेको जानकारी दिए।
सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा ठूलो दल एमालेलेले चार मन्त्रालय पाउने भएको छ। सरकारको नेतृत्वको तयारीमा रहेको जनमतले मुख्यमन्त्री बाहेक अर्को एक मन्त्रालय मात्रै पाउने सहमति छ।
भट्टराईका अनुसा एमालेले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद, माओवादीले अर्थ र उद्योग बाणिज्य तथा पर्यटन, नेकपा एकीकृत समाजवादीले ऊर्जा, सिंचाइ तथा खानेपानी र कृषि, प्रदेश सभामा एक/एक सिट रहेका नागरिक उन्मुक्ति र नेपाल समाजवादी पार्टीले क्रमशः श्रम तथा यातायात र गृह र संचार तथा कानुन मन्त्रालय लिने सहमति ६ दलबीच भएको छ।
मुख्यमन्त्री पाएको जनमतले भने वन मन्त्रालय मात्रै पाउने सहमति ६ दलले गरेका छन्।
१०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सांसदले सिंहलाई समर्थन गरेका छन्।
मधेशका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेर पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज बिहान १० बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।