काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक शनिबार फेरि बस्ने भएको छ ।
कार्यदलका संयोजक कानुनमन्त्री पद्म गिरीले शनिबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवं कार्यदल सदस्य जीवन परियारले भोलि बस्ने खबर आएको जानकारी गराए ।
गोर्खा मिडियामा गृहमन्त्री रवि लामिछाने प्रवन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा उनी संलग्न रहेको कांग्रेसको दाबी छ ।
गोर्खा मिडियामा रकम स्थानान्तरण भएका सबै सहकारीको छानबिन हुनुपर्ने कांग्रेसको माग छ ।
सूर्यदर्शन, सुप्रीम, स्वर्णलक्ष्मी, लगायतबाट गोर्खा मिडियामा रकम गएको थियो । त्यस समय लामिछाने उक्त मिडियामा प्रबन्ध निर्देशक थिए ।
कानुन मन्त्रालयमा बिहान बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले नयाँ प्रस्ताव अघि सारेको थियो । गृहमन्त्री रवि लामिछानेको नाम कार्यादेशमा किटान नगर्ने तर उनी जोडिएका सहकारीको नाम उल्लेख गर्नुपर्ने प्रस्ताव कांग्रेसले राखेको थियो ।
कांग्रेसको उक्त प्रस्तावमा आआफ्नो दलमा छलफल गर्नका लागि सत्ता पक्षले समय मागेको थियो ।
प्रमुख प्रतिपक्ष कांग्रेस सहित विपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी, जनमोर्चा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेका छन् ।
२८ वैशाखदेखि बोलाइएको बजेट अधिवेशनको कार्यसूची संसदीय छानबिन समितिको मागले प्रभावित हुँदै आएको छ । शुक्रबार पनि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरियो ।