सरोज न्यौपाने, प्युठान ।
प्युठानबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले लकडाउन उल्लंघन गरी राजधानीबाट प्युठान आएको भन्दै उहाँलाई क्वारेन्टिनमा राख्न माग गरिएको छ । आइतबार काठमाडौंबाट प्युठान आएका सांसद खड्कालाई १४ दिन क्वारेन्टिनमा राख्न सामाजिक सञ्जालमा आवाज उठेको हो ।
जिल्ला बाहिरबाट आउने हरेकले कम्तिमा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने प्युठानको सर्वदलीय बैठकले यसअघि नै निर्णय गरेको थियो । त्यसका आधारमा अहिले पनि कतिपय व्यक्तिहरु क्वारेन्टिनमा बसिरहेका छन् ।
नेपाली कांग्रेस प्युठानका सभापति अमर भण्डारीले जिल्ला बाहिरबाट प्युठान आउने विद्यार्थी, घरबाट माइत गएकी महिलालाईसमेत घरमा राख्न नदिइ क्वारेन्टिनमा राखिएको उल्लेख गर्दै सांसदले त्यस्तो छुट पाउन नहुने बताउनुभयो ।
पदको आधारमा लकडाउन उल्लंघन गरी जिल्ला प्रवेश गर्दा कोरोनाको संक्रमण बढ्नसक्ने भन्दै सांसद खड्कालाई क्वारेन्टिनमा बस्न स्थानीयले आग्रह गरेका छन् भने उहाँले स्थानीयको आग्रह अटेरी गरेकोमा कतिपयले आक्रोशसमेत व्यक्त गरेका छन् ।

