काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच प्रतिनिधि सभाबाट धन्यवाद प्रस्ताव पारित भएको छ ।
कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरिरहँदा सभामुख देवराज घिमिरेले संसदको कार्यसूची अघि बढाएका हुन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रमको प्रति टेबल गर्न अनुमति दिए।
सभामुखले सुरक्षा प्रदानका लागि मर्यादापालकलाई निर्देशन दिएपछि रोष्ट्रममा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनको प्रति टेबुल गरे।
प्रधानमन्त्रीले टेबल गरेको प्रति निर्णयार्थ पेस गरेका थिए। सँगसँगै राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पनि उनले यही शैलीमा निर्णयार्थ पेस गर्दै सर्वसम्मतीले पारित भएको जानकारी सदनलाई गराएका छन्।
सहकारी पीडितको बचत फिर्ता नभएसम्म विश्राम लिन्नौँ : कांग्रेस
यसअघि प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद बद्रि पाण्डेले सहकारी पीडितलाई न्याय नदिलाएसम्म विश्राम नलिने बताए । उनले भने, ‘हामी हाम्रो अडानमा दृढ छौँ।’
‘देशैभरका सहकारी पीडितलाई आश्वस्त पार्न चाहन्छु, देशैभरका पीडितको बचत फिर्ताको सुनिश्चितता नभएसम्म हाम्रो लडाईंले विश्राम पाउने छैन,’ उनले भने।
साथै, उनले गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै समिति गठन तुरुन्तै हुनुपर्ने बताए।